२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

धानको उत्पादन घट्दा मधेशका किसान चिन्तित

Nada
लालबाबु बानिया
२०८२ मंसिर ६ गते २१:३३
Shares
धानको उत्पादन घट्दा मधेशका किसान चिन्तित

पर्सा : मधेश प्रदेशका किसानहरू थप पीडामा परेका छन् ।  नेपाल कृषि प्रधान देश भएपनि सरकारले किसानका दुःख–कष्टप्रति जिम्मेवारी नलिएको किसानहरूको गुनासो छ । नेपाल सरकार, प्रदेश र स्थानीय सरकार आफैं कमाउने र खानेमा व्यस्त रहेको पीडित किसानहरूले बताएका छन् । 

ncell

पर्साको धोबिनी गाउँपालिका–४, लंगडीका किसान रुपनारायण ठाकुर भन्छन्, ‘मेरो २ बिघामा धान खेती गरेको छु । लगानी करिब १ लाख ४० हजार रुपैयाँ लागेको थियो । तर अन्तिममा आएको पानी र हावाहुरीले सबै धान बाली खेतमै ढालिदिए, सबै कुँदिएर नष्ट भयो । घरमा रुवाबासी लागेको छ ।’

ठाकुरका अनुसार उनीसँग आफ्नै खेत छैन । अरूकै खेत लिजमा लिएर खेती गरेका थिए । २ बिघामा करिब ८० क्विन्टल धान उत्पादन हुने आशा थियो, तर यसपालि सबै आशा चकनाचुर भएको छ । 

उनी भन्छन्, ‘अरूको खेत लिजमा लिएर कठा पाँच मन धान दिनु पर्ने थियो, तर धान नउप्जेपछि साहुलाई धान दिन पनि सकेन, उल्टै ऋण नै भयो ।’

समयमै सिँचाइ नभएकाले थुप्रै खर्च बढेको ठाकुर बताउँछन् । महंगो मूल्य तिरेर दमकलबाट पानी हाल्नुपरेको, आकाशे पानी नपर्दा मलखाद तथा कीराको औषधि हाल्नुपरेको, फेरि १ सय ५० जना मजदुर लगाएर खरपात हटाउनुपरेको उनले बताए । अन्तिममा आएको हावाहुरी र वर्षाले खेतभरी धान ढालिदिँदा बाली पूर्ण रुपमा नष्ट भएको उनले बताए ।

यस्तै समस्या धेरै किसानले भोगेका छन् । छिपहरमाई गाउँपालिका–५, भिस्वाका किसान मनोज पटेल भन्छन्, ‘धान रोप्ने बेलामा पानी नपरेर खडेरी भयो। दमकलबाट महँगो मूल्य तिरेर दुई–तीन पटक पटवन गर्‍यौं । त्यसपछि धानमा विभिन्न रोग लाग्यो । अनि अन्तिममा पानी, हावाहुरी र खोला–नाला बगेर आएको बाढीले थप क्षति गर्‍यो ।’ पटेलका अनुसार यसपालि उनको खेतमा ४० प्रतिशत उत्पादन घटेको छ ।

बारा जिल्लाको बहडिलवाका किसान सुमन जैसवालले पनि सोही पीडा दोहोर्‍याउँदै भने, ‘तीन बिघा खेतमा धान लगाएको थिएँ, तर समस्या पछिपछि आउने क्रम रोकिएन । यसपालि खेतीमा लागेको खर्च नै ननिस्कने भयो ।’

नेपाल सरकार र मधेश प्रदेश सरकारले सुखा क्षेत्र घोषणा गरेको तथा क्षतिपूर्तिको लागि ठूलो–ठूलो भाषण गरेको किसानहरू स्मरण गर्छन् । तर व्यवहारमा केही पनि नपाएको किसानहरूको आरोप छ । बारा, बलिरामपुरका शिवशंकर कालवार भन्छन्, ‘सरकारले घोषणा मात्र गर्‍यो, अहिलेसम्म किसानलाई केही दिएको छैन ।’

समयमै वर्षा नहुनु, हावाहुरी, कीरा–रोग, सिँचाइको अभाव, बाढी–पहिरो, महँगो पटवन खर्च, लिजमा खेत लिएर बाली नउब्जँदा ऋणको चाप लगायतका समस्याले गम्भीर संकटमा किसानहरू बताउँछन् । 

सम्बन्धित खबर