सर्लाही : सर्लाहीको बलरा नगपालिकामा पहिलो पटक जिल्लास्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना हुने भएको छ ।
युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार काठमाडौंसँगको सहकार्यमा बलरा नगरपालिकाको कार्यालयले मंसिर १८ र १९ गते जिल्लास्तरीय विज्ञान प्रदर्शनी मेला आयोजना गर्न लागिएको हो । बलरा नगरपालिका–८, स्थित जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियामा हुने विज्ञान प्रदर्शनी मेलाको तयारी अन्तिम चरणमा पुगेको बलरा नगरपालिकाका मेयर रामाशंकर प्रसाद कुशवाहाले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।
विद्यार्थीको रचनात्मकता, वैज्ञानिक सोच र नवीनतम आविष्कारहरूको विकास र विस्तार गर्ने उद्देश्यले दुुई दिने आधारभूत तथा माध्यमिक तहको जिल्लास्तरीय विज्ञान प्रदर्शनी मेलाको आयोजना गर्न लागिएको हो । प्रदर्शनीमा विज्ञान तथा आविष्कारका स्टल राख्नका लागि शिक्षा विकास तथा समन्वय ईकाइ सर्लाहीले जिल्लाभरबाट विद्यालय छनोट गरिसकेको छ ।
प्रदर्शनीमा स्टल राख्नका लागि ३४ वटा विद्यालय छनोटमा परेका शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका ईकाइ प्रमुख (उपसचिव) तारापति खरेलले बताए ।
प्रदर्शनीको मंगलवार गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उद्घाटन गर्ने छिन् ।