सिरहा : स्कोरपियोको ठक्करबाट सिरहामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । घटनामा प्रयोग भएको गाडी र सङ्लग्न व्यक्तिको पनि पहिचान भइसकेको उनले बताए ।
नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल–भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आइतबार बिहान मृत्यु भएको थियो । ठक्कर दिएर उक्त स्कोरपियो भारततर्फ फरार भएको थियो ।