२०८१ मंसिर २० गते बिहिवार / Dec 05 , 2024 , Thursday
२०८१ मंसिर २० गते बिहिवार

एनपीएलमा विराटनगरको पहिलो जित

ADV
मध्यान्ह
२०८१ मंसिर १९ गते १६:३७
एनपीएलमा विराटनगरको पहिलो जित

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किंग्सले पहिलो जित दर्ता गरेको छ । हाइस्कोरिङ थ्रिलरमा लुम्बिनी लायन्सलाई विराटनगरले दुई विकेटले हराएको हो । बुधबारको दोस्रो खेलमा लुम्बिनीले दिएको १ सय ९२ रनको बलियो लक्ष्य विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो ।

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ७१ रन जोडे । उनले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरेका थिए । दोस्रो विकेटका लागि बम र मार्टिन गप्टिलले ६२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गप्टिलले १७ बलमा ६ चौकाको सहयोगमा २८ रन जोडे । गप्टिल दुर्गेश गुप्ताको बलमा बोल्ड आउट भए ।

पहिलो ओभरको अन्तिम बलमा रामोन्स सिमोण्डसको बलमा विराटनगरका ओपनर इस्मात आलाम रनको खाता नखोल्दै आउट भए । बसिर अहमदले २३ बलमा चौका र छक्काको सहयोगमा ४० रन जोडे । बसिर दुर्गेश गुप्ताको बलमा बेन कटिङबाट क्याच आउट भए । बसिरलाई १५औं ओभरको अन्तिम बलमा १७ बलमा २८ रन बनाएको अवस्थामा साद विन जाफरको बलमा सन्दीप जोराले क्याच मिस गरेका थिए ।

राजेश पुलामीले १० बलमा ४ रन जोडे । राजेश साद विन जाफरको बलमा कट एन्ड बोल्ड भए । राजेश आउट भए लगत्तै क्रिजमा आएका निकोलस कीर्तनलाई दुर्गेशले पहिलो बलमा नै बोल्ड आउट गराए । प्रतिस जिशी ३ बलमा ६ रन बनाउँदै गुप्ताको बलमा बोल्ड आउट भए ।

क्रिस सोलले ४ बलमा नट आउट १४ रन बनाए । लुम्बिनीका लागि दुर्गेश गुप्ताले ३ तथा साद विन जाफर र रामोन सिमन्सले समान २ तथा विवेक यादवले १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रनको बलियो योगफल तयार गरेको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले २९ बलमा ४६ र टम मूर्सले १७ बलमा ३० रन बनाए । अर्जुन साउदले १७, आशुतोष घिरैयाले १५ र सन्दीप जोराले १२ रन बनाए । साद बिन जफरले १५ रनको योगदान गरे । विवेक यादव १९ रनमा नटआउट रहे । विराटनगरका लागि सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामी मगरले एक-एक विकेट लिए ।

ADVADV

सम्बन्धित खबर

Advertise