२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मलेसियाको विमानस्थल विदेशी कामदारले खचाखच

ADV
तिलोचन गौतम
२०८१ जेठ १९ गते १६:०२
मलेसियाको विमानस्थल विदेशी कामदारले खचाखच

क्वालालम्पुर : निर्धारित अनुमतिपत्र कोटामा आप्रवासी कामदार प्रवेश पाउने अन्तिम दिन मे ३१ अर्थात शुक्रबार मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल अति व्यस्त रह्यो । मलेसियामा रोजगारीका लागि नेपालसहित सबै स्रोत मुलुकबाट आप्रवासी कामदार पुगेको भएपनि शुक्रबार बंगलादेशी कामदार उल्लेख्य संख्यामा पुगेको यहॉका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

मलेसियाले आर्थिक वर्षको अन्त्यसम्ममा विदेशी कामदारको संख्या कूल कामदारको १५ प्रतिशतभन्दा बढी नहुने नीति लिएको बताएको छ । मलेसियाको अर्थ मन्त्रालयले राष्ट्रिय श्रमशक्तिको १५ प्रतिशतभन्दा बढी विदेशी कामदार हुन नहुने प्रक्षेपण शुक्रबार मध्यरातिको समय सीमासम्ममा पूरा हुने अपेक्षा गरिएको बताएको छ ।

गृहमन्त्री दतुक सेरी सैफुद्दीन नासुशन इस्माइलले हाल ३ करोड ४० लाख मलेसियाली जनसंख्यामध्ये १ करोड ७१ लाखलाई सक्रिय श्रमशक्तिको हिस्सा मानिएको बताएका छन् । गृहमन्त्री इस्माइलले  विदेशी कामदारको सीमामा कूल कामदारको १५ प्रतिशत पुग्ने विषयमा आफूले मानव संशाधन मन्त्री स्टिभन सिम ची केओङसँगको संयुक्त समितिको बैठकमा  समीक्षा गरेकोे बताएका छन् ।

मानव संशाधन मन्त्रीसँगको समीक्षामा विदेशी कामदारको एप्रुभल र प्रवेशमा रोक लगाउने निर्णय तत्कालका लागि कायमै रहने पक्षमा दुबै मन्त्रीको एउटै धारणा रहेको उनले बताएका  छन् । यसले तत्कालै नयाँ एप्रुभल नखुल्ने विश्लेषणलाई बल पुर्‍याएको छ । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसियामा नयाँ एप्रुभल नखुलेको अवस्थामा नेपाल त्यसको प्रत्यक्ष मारमा पर्ने आंकलन गरिएको छ ।

गृहमन्त्री इस्माइलले यसै वर्षदेखि ६० वर्षभन्दा माथिका विदेशी डुंगाका कप्तानलाई पहिलो पटक रोजगारी दिने सहमति भएको बताएका छन् । पाको उमेरका डुंगाका कप्तानसँग महत्वपूर्ण अनुभव रहेको र माछा मार्ने क्षेत्रबाट वार्षिक १६ अर्ब ५० करोड रिंगेटको योगदान हुने भएकाले यस्तो निर्णय गरिएको उनले बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise