२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान

ADV
मध्यान्ह
२०८१ असार ६ गते २१:४०
श्री एयरलाइन्सको काठमाडौं–भरतपुर परीक्षण उडान

चितवन : श्री एयरलाइन्सले बिहीबार काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० जहाजको परीक्षण उडान गरिएको हो । एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले उनीहरुलाई स्वागत गरेका थिए । 

अध्यक्ष मित्तलले ८० जना यात्रु बोक्न सक्ने क्षमताको जहाज सहज अवतरण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएसँगै नियमित उडान गर्न सकिने बताए । उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने उनले जानकारी दिए । अहिले बुद्ध एयरले मात्र दैनिक भरतपुरबाट काठमाडौं र पोखरा उडान गर्दै आएको छ । एकतर्फी भाडा चार हजार सात सयभन्दा माथि छ । 

यो विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटरमात्र लामो छ । धावनमार्ग कम भएकाले क्षमताभन्दा केही कम यात्रु उडाउन सकिने उनले जानकारी दिए । भरतपुरबाट काठमाडौं उडान भर्दा ५५ जना र काठमाडौंबाट आउँदा ७० जनासम्म उडान गर्न सकिने अनुमान उनको छ । जहाजको सहज अवतरणपछि गृहमन्त्री लामिछानेले यसले यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने बतााए । उनले आफू अन्त्यमा आएर जोडिएको भन्दै सुरुआतदेखि निरन्तर लागिरहनुभएका महानगरपालिका प्रमुख दाहाललगायत सबैलाई धन्यवाद दिए । 

पर्यटनमन्त्री तामाङले महानगरपालिकाको प्रमुखको निरन्तर सात वर्षको मेहनत, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको चाहनाका कारणले चितवनवासीले सोचेको भन्दा छिटो विमानस्थल स्तरोन्नति र विस्तारको काम हुन लागेको बताए । उनले काम नरोकिने जनाउँदै यथाशक्य छिटो विमानस्थल विस्तारको काम सम्पन्न हुने बताए । महानगर प्रमुख दाहालले आफू पहिलोपटक प्रमुख भएपछि पहिलो कार्यपालिकाको बैठकबाट यो विषयलाई निर्णय गरेर निरन्तर लागेको जनाउँदै सबैलाई धन्यवाद दिइन् । उनले विमानस्थल विस्तारसँगै कम भाडादरमा यात्रुले हवाईयात्रा गर्न पाउने भन्दै श्रीएयर यहाँ आएर यात्रुलाई सहज हुने बताइन् । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले यथाशक्य छिटो श्रीएयरलाई भरतपुर उडानका लागि अनुमति दिइने बताए । आउँदो जनवरी सम्ममा विमानस्थल विस्तारको काम थाल्ने जनाउँदै उनले यससँगै चौबीसै घण्टा जहाज चलाउन सकिने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise