२०८१ पुष ६ गते शनिवार / Dec 21 , 2024 , Saturday
२०८१ पुष ६ गते शनिवार

रविबारे गृहमन्त्री–प्रचण्ड जुहारी

ADV
अस्मिता बम
२०८१ मंसिर २६ गते ०६:४५
रविबारे गृहमन्त्री–प्रचण्ड जुहारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत बसाइलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रमेश लेखक आमुनेसामुने भएका छन् । 

सोमबार प्रचण्डले लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको टिप्पणी गरेका थिए । ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु’, सामाजिक संजालमा प्रचण्डले लेखेका थिए ।

मंगलबार गृहमन्त्री लेखकले प्रचण्डले अनुसन्धानलाई प्रभावित पार्न खोजेको आरोप लगाए । सुर्खेतको वीरेन्द्रनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले प्रचण्डको अभिव्यक्तिको प्रतिवाद मात्र गरेनन्, प्रहरी हिरासतमा रहेका लामिछानेमाथि जारी अनुसन्धानमा प्रभाव पार्नेगरी काम गरेको आरोपसमेत लगाए । 

‘कसैले पनि अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित पर्ने ढंगले बोलेको कुरा बेठीक हो’, गृहमन्त्री लेखकले भने । अझ प्रचण्डले बोल्नु गलत भएको उनको भनाइ छ । गृहमन्त्री लेखकले भनेका छन्, ‘अझ प्रमुख प्रतिपक्षी दलको नेताले नै यस्तो काम गर्नु झनै दुर्भाग्यपूर्ण हो ।’

उनले प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछाने आबद्ध दलका समर्थकहरूले पनि अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेका भनेर प्रतिवाद गरे । 

गृहमन्त्री लेखक र प्रचण्ड आमुनेसामुने भएको पहिलो पटक भने होइन । ३० फागुन २०८० मा प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत माग्दा लेखकले कांग्रेस र एमाले दुवैले माओवादीबाट धोका खाएको बताएका थिए । त्यसबेला उनले ‘धोका खाएकाहरू मिले भने तपाईंको हालत के होला ?’ भनेर प्रचण्डलाई प्रश्न गरेका थिए । 

२८ असार २०८१ मा समीकरण बदलिएपछि प्रचण्डले फेरि विश्वासको मत मागेका थिए । त्यसबेला प्रचण्डले विश्वासको मत पाउने अवस्था थिएन । त्यस सन्दर्भमा बोल्दै लेखकले ‘प्रतिपक्षमा बस्न योग्य प्रचण्डलाई बेकारमा प्रधानमन्त्री बनाइएछ’ भनेर कटाक्ष गरेका थिए । 

‘एउटा अलिकता गल्ती भएछ कि ठीक मानिसलाई ठीक ठाउँमा नराखेको गल्ती हो कि यस्तो जबर्जस्त प्रतिपक्षी दलको नेता हुन सक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले प्रतिपक्षलाई कमजोर गर्‍यौं ?’, लेखकले प्रचण्डप्रति व्यंग्य गरेका थिए ।

त्यसबेला उनले प्रचण्ड प्रतिपक्षमा रहँदा प्रतिपक्ष निकै मजबुत हुन्छ भन्ने विश्वास लिएको उल्लेख गर्दै लोकतन्त्र कमजोर नहुने बताएका थिए ।

प्रचण्ड प्रतिपक्षमा पुगेपछि बेलाबेला लेखकको अभिव्यक्ति सम्झिरहेका हुन्छन् ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise