२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

कथा : नर्सिङ होम

ADV
२०८१ असार ८ गते ०६:३५
कथा : नर्सिङ होम

–ओम बस्नेत

एउटा हातमा मिनरल पानीको बोतल अर्को हातमा छाता छ । तर, छाता चाहिँ ‘टु इन वान’ भुईँ टेक्ने र पानी छेक्ने हिसाबको । एयर भीउ होटलको अघि छड्के ब्याग भिरेर आउँदै गरेको दल बहादुरलाई देख्छन् निमा लामाले । 

“अरे नमस्कार डी.बी. दाजु कताबाट आउनु भएको यहाँ ?” भनेर सोधे डीबीलाई निमाले ।

“नमस्कार निमा भाई । भाई त झन् जवान पो देखिन्छ त हौ । के खान्छौ हौ आम्मामामा..” भन्दै हात मिलाउँछन् ।

म त डाक्टरकोमा आको थिएँ । नर्सिङ होमले थुप्रो टेस्टहरू गर्नु भन्यो र गरेर आको नी । भाउजु पनि छ । उ त्यहाँ डायग्नोसिस सेन्टरबाट रिपोर्ट ल्याउन्जेल चिया स्या खाऊँ भनेर नी भाई ।”

निरन्तर बोल्दै, “अनि भाई चै कताबाट नी ?” निमालाई सोधे ।

“म पनि उही त हो दार्जिलिङको जाडोमा बस्न सारो पर्दो रहेछ र पर मेथिबारीमा सानो घर बनाएर बसेको छु । युरोको समस्या भएर म पनि नर्सिङ होम नै आको नी दाजु ।”

केही चिसो पिउने सल्लाह मिल्यो र एयर भीउ रेस्टुरेन्टतिर पसे दुई भाइ । मुख बार्ने कुराको छलफलपछि आफ्नो आफ्नो हिसाबको ड्रिंक्स मगाए ।

“हौ आमा चै रिपोर्ट लिएर सिधै छेउको कालो सिसा भएको होटलमा आउनु है ।” डीबीले धर्मपत्नीलाई फोन गरे ।

दुवैजनाले सिक्किम सरकारलाई सेवा दिएर अवकाश प्राप्त गरेका हुन् । निमा १९७९ तिरै सिक्किम पसेका थिए दम्पत्ति नै । दार्जिलिङ फर्केका थिए पछि सिलिगुडीमा बसेरा हालेछन् ।

“अन्त दाजुले पनि धेरै वर्ष अघि पाँच कठ्ठा घडेरी लिएको छु भन्नु हुँदै थियो । त्यो के गर्नु भयो दाजु ?” भनेर निमाले सोधे ।

मुख खुम्च्याएर डीबीले भने, “अरे ठूलो गल्ती गरेछु नी हौ भाइ । जोसुकैलाई विश्वास गर्नु हुँदैन रहेछ है भाइ । मलाई त मेरै सालोले चुना लगायो दश एघार वर्षअघि । पे रिभिजनको पैसा कतातिर लगाई राखौं भनेर विचार गर्दै थियौं बुढा–बुढी । एकदिन मेरो मिसेसको गाउँ पोखरेबुंगबाट सालो केटा आएछन् । दिदी भाइको सल्लाह मानेर पैसा हाल्ने भयांै जग्गामा । पछि बुझ्दा भेस जग्गा रहेछ । त्यो पनि एउटा आदिवासीले कब्जा गर्‍यो । म पनि रिसले सालोको मोटरसाइकल कब्जा गर्नुपर्‍यो भनेर सोचेँ । आखिर त्यो पनि मेरै जमिनको कमिसन खाको पैसाले किनेको हो । अब सालोको मोटर साइकल कब्जा गर्छु भनेको श्रीमतीलाई घरमै भोक हडताल बस्ने घोषणा गरिन । म चुप भएँ । सालो मोराको माया लागि त हाल्दो रहेछ । त्यो हिन्दीमा एउटा उखान छ नी ‘सारी खुदाई एक तरफ जोरू का भाई एक तरफ’ भने जस्तो भयो । यसपालि फेरि सालो कै जमिन किनेको छ । अब धोका हुँदैन होला । कोर्ट गएर दस औँलाको छाप लगाएर किनेकोले अब डर छैन ।” भने चिल्ड बियरको चुस्की लिए ।

निमाले पनि ह्विस्कीमा आइस थप्दै कुरा अघि बढाए र सोधे, “अन्त दाजु यो दिर्जीलिङ्ग सिक्किम विलय गर्नुपर्छ भन्ने हल्ला पो सुन्दैछु त ।”

“आबुई त्यो चै हुँदै हुँदैन । त्यसो गर्‍यो भने हाम्रो ३७१ स्वाहा हुन्छ । हाम्रो नानीहरूको भविष्य बर्बाद हुन्छ । पढेलेखेकाले काम पाउँदैन । सरकारले पनि धेरै राम्रो काम गर्दैछ । रोगीहरूको सेवाको लागि त सरकारले कस्तो सराहनीय काम गरेको छ । हाम्रो गाउँ बस्ती, खोला नाला, बन जंगल सबैको सुरक्षा गरेकै छ । बाहिरको मान्छेको दखल न होस् भनेर पुरानो कानूनहरू यथावत राखेकै छ । अहिले हामीलाई धेरै राम्रो छ नी ।” भने डीबीले । निमाले पत्याए  होला ।
एक सिरिप लगाउँदै अझ कुरा अघि बढाउँछन् डीबी, “सिक्किमका तरुणी तन्देरी भने पछि बाहिरका पढालेखा केटा केटीहरू हुरुक्कै जान्छन् । फेरी हाम्रो खेत बारीमा दबाइ फेक्ट्री के बिघ्न आको । आम्मा मामा...हैट । कम्ता रमाइलो हुँदैन त बस गाडीको ताती हेर्नु ।”

एकै सासमा यति भने पछि तिर्खाएर फेरी अर्को घुट्कीमा बियर सक्छन र फेरि अर्डर दिन्छन्, एक राउन्डको । डीबीको कुरा सुनेर निमा छक्क पर्दै सिक्किमको बारेमा सोच्छन् । 

“आफ्नो राज्यको ठूलो अस्पताल, मेडिकल कलेज छोडेर सिलगुडीको स–सानो निजी नर्सिङ होमतिर चक्कर काट्छन् । बुहारीहरू बाहिरका छन्, ज्वाइँहरू बाहिरको छन् । पैतृक सम्पत्ति बेचेर सिलिगुडीमा फ्ल्याट किन्छन्, जमिन पनि किन्छन् र तर कसैले दिर्जीलिङ्ग सिक्किम विलयको कुरा गरे भने बान्टे बस्ने गरी गाली लेख्छन् । वाह भाई दोहोरो चरित्र ।”

डीबीको श्रीमति पनि रिपोर्ट लिएर ‘एयर भीउ’ रेस्टुरेन्टमा प्रवेश गरेपछि शिष्टाचारको आदान–प्रदान हुन्छ । एक क्षणपछि अटो लिएर पुग्छन् प्रणामी मन्दिर रोड अवस्थित डाक्टर केजरीवालको नर्सिङ होममा । कमसेकम यो नर्सिङ होमले चाहिँ गरिबको दुःख बुझ्छ भन्ने मान्यता रहेछ धेरैको ।

ADVADV

सम्बन्धित खबर

Advertise