–राजन तिमिल्सिना
नेपालमा १ फागुन २०५२ मा ‘विद्रोह गर्नु जनताको अधिकार हो’ भन्ने नाराका साथ तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा सशस्त्र आन्दोलन जनयुद्ध’को उद्घोष भएको थियो । तत्कालीन राज्यसत्तामाथि धावा बोल्दै श्रमजीवी वर्गको राज्यसत्ता ल्याउने सपनासहित उक्त युद्धको घोषणा गरिएको थियो ।
‘जनयुद्ध’ लडेका शक्तिहरूले माओवादलाई आफ्नो जीवन दर्शन बुझेका छन् । आजको दिनमा पनि उक्त ‘जनयुद्ध’को ऐतिहासिक र दूरगामी महत्त्व घटेको छैन ।
नेकपा (माओवादी)ले दीर्घकालीन ‘जनयुद्ध’को बाटोबाट नेपालको संसदीय व्यवस्थासहितको राजतन्त्रात्मक व्यवस्थालाई हटाएर जनताको जनवादी व्यवस्था ल्याउने सपना देखाएको थियो । त्यससमा हजारौं क्रान्तिकारीहरूले जीवनका ऊर्जाशील समय देश, जनता, स्वतन्त्रता, मुक्ति र परिवर्तनप्रति गौरवपूर्ण रूपमा समर्पण गरेका थिए ।
जुन ढंगको दुःख, कष्ट, त्याग, समर्पण, वीरता, बलिदानी र गौरवपूर्ण इतिहास रच्ने अवसर थियो, अर्को पुस्ताले यस्तो अवसर सायदै पाउने छ ।
‘जनयुद्ध’को सुरुवातको दिन माओवादीसँग सीमित कार्यकर्ता, नगण्य मात्रामा साधन, स्रोत र सीमित हतियार थिए । घरेलु हतियारहरू लाठी, खुकुरी र केही भरुवा बन्दुकबाट छापामार युद्ध सुरु भएको थियो । त्यही हतियारबाट तत्कालीन राज्य सत्तालाई चुनौती खडा गर्ने शक्ति माओवादी विकास भएको थियो ।
माओवादीले एकातिर आफूलाई सशस्त्र रूपमा सम्पन्न बनाउँदै लगेको थियो भने अर्कातिर वैचारिक र राजनीतिक रूपमा पनि बलियो बनाउँदै लगेको थियो । माओवादी सशस्त्र आन्दोलनले नेपाली राजनीतिक र सैन्य क्षेत्रमा ठूलो हलचल पैदा गरेको थियो । ‘जनयुद्ध’का क्रममा माओवादीका तर्फबाट भएका गतिविधि नेपाली वर्ग संघर्षको इतिहासमा उच्च महत्त्व राख्ने खालका छन् ।
माओवादी शक्तिको विकास जनताको आशा र भरोसासँगै भएको थियो । जब राज्यसत्ताले जनतामाथि चरम दमन गर्यो, जनताका अधिकार खोस्यो, तब जनतामा सत्ताप्रति आक्रोश र वितृष्णा बढ्यो । त्यसले माओवादी शक्तिप्रति आशा, भरोसा र विश्वास बढाउने अवस्थाको विकास गर्यो ।
सुरुवातमा पश्चिम क्षेत्रमा पकड भएको जनाधार क्रमशः देशव्यापी बन्न पुग्यो । सरकारले माओवादीले उठाएका मुद्दालाई बेवास्ता गर्दै सेनाको समेत जब चरम दुरुपयोग गर्यो, त्यो नै ‘जनयुद्ध’लाई उत्कर्षमा पुर्याउने कारक बन्यो ।
माओवादी ‘जनयुद्ध’लाई जनताको बीचमा सर्वस्वीकार्य बनाउने अर्को घटना राजा वीरेन्द्र शाहको वंशनासको विषय पनि थियो, जसले तत्कालीन राज्यसत्तामाथि जनतामा चरम आक्रोश मात्रै पैदा गरेन, विकल्प खोज्ने स्थितिमा समेत लग्यो । सायद, नेपालमा छिटो नामको व्यवस्था परिवर्तन हुनु र संसद्वादी दलहरू सडकमा निस्कनुपर्ने अवस्था पनि यही मेसोमा भएको थियो । वीरेन्द्रको वंश नाश नभएको भए, ज्ञानेन्द्रमा ‘कू’ सोचले डेरा नजमाएको भए, नेपालमा सहजै राजसंस्थाको अन्त्य हुने थिएन । व्यवस्थासमेत फेरिने अवस्था थिएन । यसले जनतामा राज्यसत्ताप्रति चरम वितृष्णा र आक्रोश पैदा गराएको थियो, जुन माओवादी ‘जनयुद्ध’लाई अगाडि बढाउन पनि भूमिका खेल्यो ।
यद्यपि, यहीबीच माओवादी आन्दोलनभित्रै पनि तीव्र अन्तर्विरोध पैदा हुन पुग्यो । चुनवाङ बैठकले ‘जनयुद्ध’को कार्यदिशालाई बदलेर गोलमेच सम्मेलन, संविधानसभा जस्ता शान्तिपूर्ण नारा तय गर्न पुग्यो । माओवादीभित्रको अन्तर्विरोध र पुरानो सत्ताको संकटले माओवादी र संसद्वादी शक्तिबीचमा ७ बुँदे (रोल्पा) सहमति र पछिल्लो पटक १२ बुँदे सहमति गर्ने वातावरण बन्न पुग्यो ।
यही सहमतिपछि आएर माओवादी आन्दोलनको विघटन र विसर्जनको व्यावहारिक कडी बन्न पुग्यो । अन्ततः माओवादी आन्दोलन सम्पूर्ण रूपले विसर्जित भयो ।
आज सत्ता पूर्ण रूपले संसद्वादीहरूको पोल्टामा पुग्यो, संसद्वादीहरूको पल्ला भारी भयो । सामन्तवादको प्रतिनिधि राजतन्त्रको अन्त्य त भयो तर ‘जनयुद्ध’को आधारभूत कार्यभार पूरा हुन सकेन । माओवादी आन्दोलनमा फुट र विभाजनसँगै क्षयीकरण भयो ।
‘जनयुद्ध’ उत्पीडकहरू, महिलाहरू, मजदुर, किसान, जनजाति, मधेशीहरू, दलित, मुस्लिमहरूले आफ्नो आवाज बुलन्द गरेको ऐतिहासिक थियो । ‘जनयुद्ध’ले २००७ सालदेखि अधुरा रहेका जनताका सपना संविधानसभामार्फत नयाँ संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा पूरा गर्ने कोसिस भए पनि आंशिक रूपमा केही उपलब्धि भए ।
‘जनयुद्ध’ यो युगकै सबैभन्दा चलायमान जनताद्वारा गरिएको नेपाली समाजलाई उथलपुथल पार्ने एउटा सचेत जनविद्रोह थियो, जसले नेपाली समाजमा रहेको सामन्तवाद र त्यसको जरो–किलो उखेलिदियो भने नेपाली जनताले आफ्नो संविधान आफैं लेख्न वातावरण सिर्जना गर्यो ।
तर, त्यो संविधान जनपक्षीय हुन सकेन । राजतन्त्रको अन्त्य भई नेपाली जनताले साँच्चिकै सार्वभौम भएको महसुस गर्न पाए पनि जनताको जीवनस्तर बदलिन सकेन । आज आन्तरिक तथा बाह्य प्रतिगमनकारी शक्तिहरूले रजगज गर्ने अवस्था बन्दै गर्दा ‘जनयुद्ध’को ऐतिहासिकता, महत्त्व र सान्दर्भिकता झन् बढी उँचो बन्दै गइरहेको छ ।
नेपालमा जनवाद, समाजवाद र साम्यवादसम्म पुग्ने उद्देश्यसहित सुरु भएको ‘जनयुद्ध’ले आफ्नो गन्तव्यमा नपुग्दै बीचमा नै ‘ब्रेक’ लाग्न पुग्यो । हाल माओवादी आन्दोलन फुट र विभाजन भई संसद्वादी र क्रान्तिकारी कित्ता बनेको छ । क्रान्तिलाई निरन्तरता दिन केही कोसिस भए पनि त्यसले गति लिन सकेको छैन । सही विचार, कार्यदिशा र कार्यक्रमबिना ‘जनयुद्ध’को बाँकी कार्यभार पूरा हुन सक्ने छैन ।
आज परिवर्तनविरोधी कित्ताका शक्तिले ‘जनयुद्ध’ शब्दको विरुद्ध गरिरहेको षड्यन्त्रको स्थितिमा महान शहीद, बेपत्ता, घाइते, अपांग योद्धाहरूको गहिरो स्मरण भएको छ । उनीहरूको सपना साकार नपारी साँच्चिकैको व्यवस्था ल्याउन सकिन्नँ । अन्तिम फैसला भनेको जनताबाटै हुने छ ।