२०८१ चैत १८ गते सोमवार / Mar 31 , 2025 , Monday
२०८१ चैत १८ गते सोमवार
Ads

देखिएको संकट र निकास

draupadi film
मध्यान्ह
२०८१ चैत १५ गते ०७:१५
देखिएको संकट र निकास

– मेघराज भट्टराई
देशको हालको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको छ । उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य, यातायातलगायतका आधारभूत क्षेत्रहरू संकटमा छन् । बेरोजगारी, महँगी, भ्रष्टाचार, सामाजिक असमानता र राजनीतिक अस्थिरताले जनता निराश भएका छन् ।

यस्तो अवस्थामा प्रतिगामी शक्तिहरूले फाइदा उठाउँदै आफ्नो प्रभाव विस्तार गर्न थालेका छन् । तर, यो अवस्था आकस्मिक रूपमा सिर्जना भएको होइन । विगतका गलत नीतिहरू, असफल नेतृत्व, भ्रष्ट प्रशासन, अवसरवादी राजनीति र अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेलले आजको संकटपूर्ण अवस्थालाई जन्म दिएको हो ।

मुख्यगरी कमजोर अर्थतन्त्र र औद्योगिक पतनले देशको औद्योगिक उत्पादन थलिएको छ । घरेलु उद्योगहरू प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेका छन् । निर्यात घट्दै गएको छ भने आयातमा निर्भरता अत्यधिक बढेको छ । साना व्यवसायीहरू निरन्तर घाटामा गइरहेका छन्, जसले अर्थतन्त्रलाई थप कमजोर बनाएको छ । 

कृषिमा आत्मनिर्भर हुनुपर्ने देश आज खाद्यान्नसमेत आयात गर्न बाध्य छ । सहकारी प्रणाली भ्रष्टाचारको अखडा बनेको छ । किसानहरू लागत बढ्दै गएर मारमा परेका छन्, जसका कारण गाउँबाट शहरतर्फ बसाइँ सराइ तीव्र भएको छ । यसबाट हिजो आधा जनसंख्या धानेका पहाड़ खाली भएका छन् । खेतीयोग्य जमिन बिरान बन्जर भएका छन् । यो कारण पनि राष्ट्र आर्थिक रूपमा कमजोर बनेको छ । 

शिक्षा व्यवसायीकरण भयो, गुणस्तर खस्कियो । विदेशमा अध्ययन गर्ने लहर बढ्दै गयो, जसका कारण देशलाई कुशल जनशक्ति दिन सक्ने क्षमता कमजोर भयो । शिक्षालाई समाज रूपान्तरणको साधन बनाउनुको सट्टा धन आर्जनको माध्यम बनाइएको छ ।
स्वास्थ्य सेवा निजीकरण हुँदै गएपछि गरिब जनताका लागि उपचार दुर्लभ भयो । सरकारी अस्पतालहरूमा सेवा गुणस्तर खस्कियो । चिकित्सा शिक्षा पनि व्यापारमा रूपान्तरण भएपछि योग्य डाक्टर उत्पादन भन्दा व्यापारिक मानसिकताका चिकित्सकहरू जन्मन थाले ।

विकासका नाममा ठूलाठूला आयोजनाहरू घोषणा गरिए पनि कार्यान्वयनमा ढिलाइ भयो । सडक, पुल, जलविद्युत् आयोजना, सार्वजनिक यातायात सुधार जस्ता पूर्वाधार विकासका कार्यहरू भ्रष्टाचार, ठेकेदारी संस्कृति र अकर्मण्यताका कारण अलपत्र छन्, जसका कारण पनि नागरिकहरूमा निराशा जागेको छ । 

राजनीतिक दलहरूले सत्तामा पुग्न जातीयता, क्षेत्रीयता, धर्म र भाषाको नाममा समाजलाई विभाजित गरे । राजनीतिक पहुँच भएकाहरू समृद्ध भए, गरिब झन् गरिब भए । समाजमा धनी र गरिबबीचको खाडल बढ्दै गयो ।

नेताहरू सत्तामा पुग्न मात्र क्रियाशील छन् तर मुलुक समृद्ध बनाउने दूरदृष्टि कसैसँग छैन । बारम्बार सरकार परिवर्तन हुनु, राजनीतिक गठबन्धनहरू स्वार्थका आधारमा बन्नु र विचारभन्दा सत्तालाई केन्द्रमा राख्ने प्रवृत्तिले मुलुक अस्थिर बनेको छ ।
देशमा संकट गहिरिँदै जाँदा प्रतिगामी शक्तिहरूले फाइदा उठाउँदै छन् । तानाशाही, निरंकुशता, धर्मवादी राजनीति, साम्राज्यवादी चलखेल बढ्दै गइरहेको छ । लोकतान्त्रिक मूल्य–मान्यता कमजोर हुँदै गएको छ ।

देशलाई संकटबाट निकाल्न स्पष्ट कार्यदिशा आवश्यक छ, जसका निम्ति अर्थतन्त्रको निर्माण आजको आवश्यकता हो । औद्योगिक पुनरुत्थान गरेर उत्पादनलाई बढावा दिनुपर्छ । कृषिमा आत्मनिर्भरता कायम गरी खाद्यान्न संकट समाधान गर्नुपर्छ । स्थानीय उद्योगहरूलाई प्रवद्र्धन गरेर रोजगारी सिर्जना गर्नुपर्छ ।

आज देशमा अर्ब÷खर्बका भ्रष्टाचार भएका छन् । ठूला भ्रष्टाचारीलाई कारबाही गर्दै न्यायिक प्रणाली बलियो बनाउनु आवश्यक छ । नयाँ पुस्ताको नेतृत्व विकास गर्नुपर्छ, जसले क्रान्तिकारी दृष्टिकोणबाट देशलाई अघि बढाओस् । निष्पक्ष प्रशासनिक सुधार गरी सरकारी निकायलाई प्रभावकारी बनाउनुपर्छ ।

केही राजनीतिक शक्तिले विदेशीको लगानीमा आफ्नो कुनियत राखी देशलाई साम्प्रदायिक द्वन्द्वको नजिक पु¥याएका छन् । हामीले जातीय होइन, वर्गीय आधारमा राष्ट्रलाई समृद्धि, सामाजिक न्याय र एकतामा अघि बढ्नुपर्छ ।

जातीय, धार्मिक, भाषिक विभाजनको राजनीति बन्द गरी सामाजिक सद्भाव प्रबद्र्धन गर्नुपर्छ । राज्यको सम्पत्ति केही व्यक्तिको स्वार्थपूर्ति गर्न नभई सबै नागरिकका लागि उपयोग गर्नुपर्छ ।

शिक्षा प्रणालीलाई व्यावसायीकरणबाट मुक्त गरी वैज्ञानिक र प्राविधिक शिक्षामा जोड दिनुपर्छ । हाम्रो संविधानले प्रत्येक नागरिकका लागि शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरेको छ । आज संविधानको पालना भएको भेटिँदैन । निःशुल्क र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने प्रणाली लागू गर्नुपर्छ ।

बाह्य शक्तिहरूको हस्तक्षेप न्यूनीकरण गर्दै राष्ट्रलाई बलियो बनाउनु जरुरी छ । नेपालको बजार नेपाली उत्पादनको प्राथमिकता अनिवार्य गर्नुपर्छ । तरकारी, फलफूल, खाद्यान्न आयात रोक्ने राष्ट्रीय नीति निर्माण गर्नुपर्छ । स्वदेशी नीति अवलम्बन गरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमता विकास गर्नुपर्छ ।

त्यसैले, हामी निराश हुने होइन, पलायन हुने होइन । देश संकटमा छ तर समाधान असम्भव छैन । आज आवश्यक छ, साँचो क्रान्तिकारी दृष्टिकोण, इमानदार नेतृत्व, जनतासँग प्रत्यक्ष सम्बन्ध र स्वाधीन नीतिको कार्यान्वयन ।

यदि देशभक्त, जनमुखी, क्रान्तिकारी शक्तिहरू एकजुट भए भने मात्र यो संकटको अन्त्य हुन सक्छ । अहिलेको मुख्य चुनौती भनेकै प्रतिगामी शक्तिहरूलाई परास्त गर्दै लोकतान्त्रिक र जनउत्तरदायी सत्ता स्थापन गर्नु हो ।

देशलाई समृद्ध बनाउन भाषण होइन, कर्म आवश्यक छ । अब समय आएको छ– नीतिगत परिवर्तन, राजनीतिक रूपान्तरण, सामाजिक सद्भाव र आर्थिक पुनरुत्थानको ।
 

ADV

सम्बन्धित खबर

Advertise