२०८१ पुष ८ गते सोमवार / Dec 23 , 2024 , Monday
२०८१ पुष ८ गते सोमवार

योग किन जरुरी छ ?

ADV
२०८१ असार ९ गते ०६:२५
योग किन जरुरी छ ?

–डा. राजु अधिकारी

युवावृद्धोऽतिवृद्धो वा व्याधितो दुर्बलोऽपि वा ।
अभ्यासात्सिद्धिमाप्नोति सर्वयोगेष्वन्द्रितः ।।
हठयोग प्रदीपिका ।

अर्थात् युवा, वृद्ध, अतिवृद्ध, रोगी, दुर्बल जोसुकैले पनि योगाभ्यास गरेर सफलता (सिद्धि) प्राप्त गर्न सक्दछ । हो, योगको अन्तिम लक्ष्य सिद्धि प्राप्त गर्नु हो । तर धनसिद्धि र नामसिद्धि प्राप्त गर्ने होड चलेको आजको युगमा मान्छेसँग योगसिद्धि प्राप्त गर्ने समय छैन । तर पनि आफ्नो व्यस्त दिनचर्याबाट अलिकति समय निकालेर योग–योगाभ्यास गर्यो भने आरोग्य सिद्धि प्राप्त गर्न निश्चित रूपले मद्दत पुग्छ । 

आजको मानिस व्यस्त छ । व्यस्त हुनु उसको बाध्यता हो । बाध्यताभित्र लुकेको विडम्बना चाहिँ के हो भने मानिस व्यस्त मात्र होइन, ग्रस्त, त्रस्त र ध्वस्तसमेत हुँदैछ । अर्थात् कि रोगले ग्रस्त, तनावले त्रस्त र अनैतिकताले ध्वस्त । यी सबै सङ्कट र तापहरूको रामवाण औषधि भनेको नै योग हो । त्यसैले त भनिएको छ–‘भवतापेन तप्तानां योगो हि परमौषधम्’ । याने कि निश्चय नै योग अचेलका नानाविधि ताप–सन्तापहरूको जडी औषधि हो । 

आमधारणा जस्तै योग आधा–एक घण्टामा गर्ने व्यायाम कसरत मात्र हैन, यो प्रतिपल, प्रतिक्षण र सास सासमा चलिरहने प्रक्रिया हो । महर्षि अरविन्दले भनेका छन्, “प्रत्येक श्वास योग साधना हो ।” व्यवहारिक परिप्रेक्ष्यमा योग जीवन जिउने कला हो । योग विज्ञानका अध्येताहरूको अनुभवअनुसार योग समग्र जीवन पद्धति हो, सर्वाङ्गीण जीवनदर्शन हो । अध्यात्म वैज्ञानिकहरूको दृष्टिकोणमा योग सबै विज्ञानभन्दा माथि चेतनाको महाविज्ञान हो । ऋषिमहर्षि सूक्ष्म द्रष्टाहरूको भनाइमा योग समाधिको यात्रा हो । महर्षि पतञ्जलि भन्छन्, “मन (चित्त) का वृत्तिहरूको यथोचित निरोध नै योग हो ।”

यी विभिन्न अभिमतहरूमध्ये तपाईंलाई जुन तर्क अधिक मन पर्छ, त्यसलाई सहर्ष स्वीकार्न सक्नुहुनेछ । व्यक्तिपिच्छे रुचि, क्षमता, कर्म र संस्कारको स्तर भिन्न हुने गर्छ । कुनै व्यक्ति तर्कशील र बौद्धिक हुन्छ भने कुनै व्यक्ति भावनाशील र भक्तिवान हुन्छ । जसमा जुन किसिमको क्षमता र अभिरुचि हुन्छ सोहीअनुरूप ऊ योगमार्गको चयन गर्न सक्दछ । त्यसैले गर्दा योग–आविष्कारहरूले अनेकौँ प्रकारका योग प्रणालीको प्रवर्तन गरेका छन् । पृथकपृथक प्रकारका योग पद्धतिहरू खास गरी विविधताले भरिएका जिज्ञासुहरूको सुविधामाथि ध्यान राखेर विकसित भएको हुनुपर्छ । 

प्रचलित प्रमुख योग प्रणाली यस प्रकार छन्– कर्मयोग, ज्ञानयोग, राजयोग, अष्टाङ्ग योग, भक्तियोग, मन्त्रयोग, हठयोग, क्रियायोग, नादयोग, प्राणयोग, ध्यानयोग । आजभोलि योगको नाममा जुन आसन, प्राणायाम र केही मुद्राबन्धको प्रयोग गरिन्छ, त्यो हठयोगको एउटा सानो अंश मात्र हो । समग्रतामा योग अत्यन्तै व्यापक, असीम र वैविध्यपूर्ण छ । यसर्थ योग गर्नलाई कसैलाई कुनै पनि कुराले र कहिल्यै पनि छेक्दैन । जहिले पनि जहाँ पनि, जुनसुकै परिस्थितिमा पनि योग गर्न सकिन्छ ।  

शरीर रहुञ्जेल हाम्रो शरीर कुनै न कुनै आसनमा अवस्थित हुने गर्दछ । आसन बिना शरीर अस्तित्वमै रहँदैन । हरघडी शरीरको अवस्था, दशा, लयबद्धताप्रति सजग हुनु नै आसनाभ्यास हो । प्रत्येक मिनेट १६–१७ पटक लिने छाड्ने श्वासप्रश्वासलाई परिष्कृत गर्नु प्राणायाम हो । यसरी जीवनका प्रत्येक आयाममा उत्कृष्टता, विशुद्धता र दिव्यता थप्दै जानलाई केले छेक्ने ? स्मरण रहोस्, शरीर र मनको उपलब्धता नै योगको प्रयोगशाला हो । पट्टाभि जोइस भन्छन्, “जो यसलाई चाहन्छ योग हरेकका लागि सम्भव छ । योग एक ब्रह्माण्डीय विषय हो तर यसलाई व्यापारिक उद्देश्य र सांसारिक कमाइको उद्देश्यले प्रयोग गर्ने भुल नगर ।”
योगले शारीरिकरूपमा ओजस्वी शरीर, आरोग्यवान् एवम् स्वस्थ शरीर, तन्दुरुस्त एवम् सुगठित काया, कर्म सामथ्र्यले युक्त तन, तेजोमय मुखमण्डल, स्फूर्तिवान् व्यक्तित्व, भरिपूर्ण जीवनीशक्ति, दुःखकष्ट तथा घामपानी सहन सक्ने बनाउँछ । यसैगरी, योग गर्दा, प्राणिकरूपमा प्राण सम्पन्न व्यक्तित्व भइन्छ । आँखामा तेज, त्वचामा चमक, प्रबल रोग प्रतिरोधी क्षमता, जाडो–गर्मी जुनसुकै स्थानमा अनुकूलित हुन सक्ने हुन्छ । यस्तै, मानसिकरूपमा तीक्ष्ण (बौद्धिक क्षमता), एकाग्रता क्षमता, स्मृति क्षमता, बोध क्षमता, ग्रहण क्षमता, धारणा क्षमता, ध्यान क्षमताजस्ता मानसिक क्षमताले युक्त हुने हुन्छ । सिर्जनात्मकता, रचनात्मकता, मनस्वीता, अन्तज्र्ञान, भाषिक चातुर्यता, भेद चातुर्यता, निर्णयशीलता, लक्ष्यशीलता, नेतृत्वक्षमता, प्रबन्धक्षमता, कलाकौशल आदि कसौटीमा प्रखर हुने हुन्छ ।

योगले व्यक्तिलाई नीतिवान्, सदाचारी, सत्यनिष्ठ, अहिंसावादी, एमआईअर्थात् मोरल इन्टेलिजेन्स सम्पन्न, विश्वसनीय, अपरिग्रही (अनावश्यक सम्पत्ति नथुपार्ने), समाजनिष्ठ, सामुहिकता एवम् सहकारिताको गुणयुक्त, सहअस्तित्वप्रेमी, प्रकृतिप्रेमी, पर्यावरणप्रेमी, आदर्शवान् पनि बनाउँछ । साथै, हृदयवान्, भावनाशील, परानुभूतियुक्त, कर्मशील, कर्मफल विधानको अनुयायी, संस्कारवान्, सङ्कल्पशील, ईश्वरानुरायी, आसक्तिविहीन, न्यायप्रेमी, सर्वप्रिय, प्रेमवान्, दिव्य गुणहरूले युक्त पनि बनाउँछ । 

युगऋषि आचार्य श्रीराम शर्माले भनेका छन्, “यस्तो सुगम मार्गलाई पनि आज मान्छेले दुर्गम मानेर बसेका छन् । योग गर्नलाई ‘मन’ भए पुग्छ । मनमा तत्परता र तन्मयता छ भने योग जसले पनि गर्न सक्छ । यो कुनै पनि हालतमा कठिन छैन । आफ्नै हातको खेल हो । तर साहस र श्रद्धा चाहिँ चाहिन्छ ।” त्यसकारण योगबाट हरेक व्यक्ति लाभान्वित हुनसक्छ । पेसा, काम, जातजाति, लिङ्ग, धर्म र भाषाले रोक्दैन । तपाईँ आफ्नो व्यक्तित्व, अभिरुचि, आन्तरिक संस्कार र क्षमताअनुसार जुन योगपथ रुचाउनु हुन्छ, त्यसमा अग्रसर हुनुहोस् तर, आजैबाट । 

(लेखक, मानव चेतना एवम् योग विज्ञानका प्रशिक्षक हुन् ।)

ADVADV

सम्बन्धित खबर

Advertise