२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वातावरणीय विनाशले बढाएको चिन्ता

ADV
२०८१ असार ९ गते ०६:३०
वातावरणीय विनाशले बढाएको चिन्ता

–के.बी. बस्नेत

विकास एक निरन्तर प्रक्रिया हो । जुन विश्वभरि नै तीव्र रूपले सञ्चालन भइरहेको छ । यसकै आधारमा संसार भरिका देशहरू विकसित, विकासशील र अति कम विकसित देशको रूपमा वर्गीकरण गरिन्छ । विगतमा धेरैजसो देशहरूमा विभिन्न क्षेत्रको विकास गर्ने क्रममा वातावरण विनाश भइरहेको छ । यी देशहरूमा बाटोघाटो निर्माणका लागि बढ्दो डोजरको प्रयोग, वनजङ्गल फडानी, डढेलो, विकास निर्माणको कामहरू अव्यवस्थितरूपमा सञ्चालन, विभिन्न उद्योग तथा कलकारखानाहरूबाट निस्कने धुवाँ, कार्बनमोनोअक्साइड, कार्बनडाइअक्साइड जस्ता विषालु ग्यास, विभिन्न किसिमका यातायातका साधनहरूको बढ्दो प्रयोग, जाडोमा तताउने र गर्मीमा चिस्याउने साधनहरूको बढ्दो प्रयोग र विद्युत, डिजल र पेट्रोलबाट चल्ने यातायातका साधनहरूको बढ्दो प्रयोगबाट धुँवा र ताप बढ्दो रूपमा उत्सर्जन भइरहेको छ । यसबाहेक, एकतर्फ, हरित ग्यास उत्सर्जनको असर बढिरहेको छ भने अर्कोतर्फ ओजोन तहमा प्वाल पर्नाले सूर्यको परावैजनी किरण पृथ्वीमा आई सम्पूर्ण मानव जातिको स्वास्थ्यमा नकारात्मक प्रभाव परेको छ ।

वातावरण विनाशको कारणले आज विश्वभरि नै जलवायु परिवर्तन एवम् तापक्रम वृद्धि भएको छ । फलतः विश्वमा वनजङ्गल, जैविक विविधता, कृषि सम्पदा, हिमालय पर्यटन, ऊर्जा र स्वास्थ्य जस्ता प्रमुख पक्षहरूमा अगाध असर परेकोले सम्पूर्ण मानवजातिमा अस्वस्थकर प्रभाव परेको छ । सन् २०१५ मा आईसीडीले गरेको एक अध्ययनअनुसार आजको गतिमा विश्वव्यापी तापक्रम बढ्ने हो भने सन् २०६० सम्मका विश्वको कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतदेखि तीन दशमलब तीन प्रतिशतसम्म र सन् २१०० मा दुई प्रतिशतदेखि दश प्रतिशतसम्म नोक्सानी हुनेछ । यसबाट विश्व अर्थतन्त्र झन् झन् ओरालो लाग्नेछ र भोकमरीको समस्या विकराल हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोषको वर्ल्ड इकोनोमिक आउट लुकमा उल्लेख भएअनुसार विश्वमा कार्बन उत्सर्जन न्यूनीकरण नीतिहरू निर्माण गरी व्यवहारमा नउतार्ने हो भने आगामी शताब्दीसम्म विश्वव्यापी तापक्रम औसतमा दुई दशमलव आठ प्रतिशत र बढीमा पाँच प्रतिशत बढ्नेछ । उक्त नीतिहरू बनाई कार्यान्वयन गर्न नसकिएमा विश्वमा कार्बन उत्सर्जन पनि सन् २००० देखि २०३० को बीचमा २२ प्रतिशतदेखि ८८ प्रतिशतसम्म बढ्ने सम्भावना छ ।

एसियाली विकास बैंकको प्रक्षेपणअनुसार सन् २०८० सम्ममा दक्षिण एसियामा चारदेखि पाँच डिग्री सेन्टिग्रेडसम्म तापक्रम बढ्नेछ । जसबाट उक्त क्षेत्रका जनतामा नकारात्मक प्रभाव पर्नेछ । आज वातावरणीय विनाशका कारण सम्पूर्ण मानवजातिको सामाजिक, आर्थिक, राजनीतिकलगायत सम्पूर्ण क्रियाकलापहरू प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित छन् । विगतमा वातावरणलाई नकारात्मक प्रभाव पार्ने तत्वहरूको वास्ता नगरी विकास योजनाहरू कार्यान्वयन गर्नाले अहिलेको अवस्था निर्माण भएको हो । मानव जातिको प्रमुख सम्पत्तिको रूपमा रहेको भूमिमा बसोबास गर्नुको साथै विभिन्न व्यवसाय गरिन्छ । जसमध्ये खेतीपातीको विशेष महत्व छ । परन्तु, केही वर्षयता वातावरणीय विनाशको कारण अतिवृष्टि तथा अतिवृष्टिको कारण खेतीपातीमा नकारात्मक प्रभाव परेको छ । यसबाट विश्वभरि नै भोकमरीको समस्या थपिने छ र सम्बन्धित देशका सरकारका बोझ बढ्नेछ । वर्तमान समयमा वातावरणीय विनाशको कारण विश्वभर नै जलवायु परिवर्तन हुँदा भएको हो । जुन संसारका सबै देशहरूमा एक गम्भीर एवम् चुनौतीको रूपमा देखा परेको छ ।

नेपालमा पनि वातावरणीय विनाशले नकारात्मक प्रभाव परेको छ । उदाहरणको लागि हाल काठमाडौंमा अधिकतम ३६ डिग्री सेल्सियस सम्मको तापक्रम मापन गरिएको छ । जुन विगतको वर्षहरूको तुलनामा बढी हो । यो जलवायु परिवर्तनको कारण भएको मौसमविद्हरूको भनाई छ । नेपालको हिमाली क्षेत्रमा शून्य दशमलव शून्य छ डिग्री सेल्सियसको दरले तापक्रम बढ्न थालेकोले यहाँका हिमशृङ्खला निरन्तररूपले पग्लेर पानीका मुहान सुक्दै जाने सम्भावना बढेको छ । यसबाहेक अतिवृष्टि तथा अनावृष्टि जस्ता समस्याहरूले यहाँको जनजीवनमा नकारात्मक प्रभाव परेको छ । आज विश्वमा वातावरणीय विनाश दिन प्रतिदिन बढिरहेको छ । फलतः केही पशुपक्षीहरू लोप भएका छन् भने केही लोप हुने अवस्थामा छन् । यति मात्र नभई विभिन्न किसिमका महामारी एवम् रोगको फैलावट र दैवी प्रकोपहरूको कारण धेरै नरसंहार हुने गरेको छ । परन्तु, आजसम्म पनि धेरैजसो देशका बासिन्दाहरूलाई यस सम्बन्धमा सचेत गराउन सकिएको छैन । 

वातावरणविद्हरूको अनुसार कुनै पनि देशमा वातावरण सन्तुलन कायम गर्न त्यहाँको कुल क्षेत्रफलको कम्तीमा पनि ४० प्रतिशत वनजङ्गलले ढाकेको हुनुपर्छ । तर, नेपालमा तोकिएको मापदण्डअनुसार वनजङ्गल विद्यमान नभएकोले यहाँको वातावरण सन्तुलन हुन सकेको छैन । यति मात्र नभई यहाँ अव्यवस्थित रूपमा भौतिक संरचनाहरू निर्माणका कारण पनि वनजङ्गल अतिक्रमित भई वातावरण विनाशमा सघाउ पुगेको छ । तर, यसतर्फ सम्बन्धित पक्षको ध्यान आकृष्ट हुन नसकेकोले वातावरण विनाशको क्रम रोकिन सकेको छैन । आज नेपाललगायत विश्वका धेरैजसो देशहरूमा जनसंख्या वृद्धिको कारण अव्यवस्थित सहरीकरण, वनजङ्गल फडानी, जल प्रदूषण, स्थल प्रदूषण, वायु प्रदूषण र ध्वनि प्रदूषण दिनानुदिन बढिरहेको छ । फलतः यो देशहरूमा वातावरणीय विनाश बढ्दो क्रममा छ । भविष्यमा यसलाई जटिल हुन नदिन अल्प र दीर्घकालीन उपायहरू यथाशीघ्र अपनाउन आवश्यक देखिन्छ ।

यसका लागि एकतर्फ सर्वप्रथम त जनसंख्या वृद्धि घटाउन आवश्यक छ भने अर्कोतर्फ वन विनाशको रोकथाम, आधुनिक प्राविधिक ट्राफिक व्यवस्थापन प्रणाली र बढ्दो औद्योगिक प्रदूषण न्यूनीकरण गर्न उत्तिकै जरुरी छ । यसबाहेक नियमित एवम् प्रभावकारीरूपमा वायुको गुणस्तर परीक्षण र वातावरणसम्बन्धी जनचेतना बढाउनुपर्छ । जसको लागि तीनै तहका सरकारको सक्रियताको आवश्यकता छ । विश्व तापक्रममा हुने परिवर्तन प्राकृतिक र मानवीय कारणले हुने हो । खनिज तेलको खपत तीव्र रूपले बढ्नाले विश्वको तापक्रम बढिरहेको छ ।

आज विश्वमा वातावरणीय प्रदूषण दिन प्रतिदिन बढिरहेको छ । तर विश्वव्यापी तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी बढ्दा पनि विश्वमा वातावरणीय विनाश न्यूनीकरणसम्बन्धी साझा सहमति हुन सकेको छैन । वास्तवमा विश्वमा वातावरणीय विनाश हुनुका प्रमुख कारण विकसित देशहरूमा भएका औद्योगिक तथा अन्य विकासमूलक क्रियाकलापहरू नै हुन् । बढ्दो तापक्रमको कारण आगामी तीस वर्षभित्र विश्वका हिमालमा झन्डै एकतिहाइ हिउँ रित्तिने अनुमान छ । फलतः यस क्षेत्रको पानीका स्रोतहरू विस्तारै सुक्ने छन् र मानिसहरूको जीविकोपार्जनमा नकारात्मक प्रभाव पर्नेछ । 

विश्वमा वातावरण विनाशको कारण नेपाल पनि प्रभावित भएको छ । वास्तवमा दुई छिमेकी राष्ट्र भारत र चीनमा औद्योगिक तथा अन्य विकासका क्रियाकलापहरू तीव्र रूपले बढ्नाले यहाँको वातावरणमा नकारात्मक प्रभाव परेको छ । यस सम्बन्धमा वार्ता गरी समाधान गर्न न त नेपालले चासो देखाएको छ न त छिमेकी राष्ट्रहरू नै तत्पर छन् । तसर्थ, यहाँको वातावरण दिनदिनै विनाशतर्फ उन्मुख छ । जुन न्यूनीकरण गर्न नितान्त आवश्यक छ ।

ADVADV

सम्बन्धित खबर

Advertise