काठमाडौंः वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक पनौति नगरपालिका–११ घर भइ काठमाडौं बुद्धनगर बस्ने ७१ वर्षीय गणेश बहादुर थापा र नवलपरासी पूर्व बौदीकाली गाउँपालिका–१ घर भइ काठमाडौं बानियाटार बस्ने ४२ वर्षीया शान्ती भण्डारी रहेका छन् ।
पक्राउ मध्ये गणेश बहादुरले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ५० हजार रूपैयाँ र शान्तीले हंगेरी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले गणेश बहादुरलाई काठमाडौं सिनामंगलबाट सोमबार र शान्तीलाई काठमाडौं बानियाटारबाट मंगलबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।