काठमाडौं : वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नवलपरासी पूर्व बौदीकाली घर भई काठमाडौंको बानियाँटार बस्ने ४२ वर्षीया शान्ति भण्डारी र काभ्रेपलान्चोक, पनौती नगरपालिका घर भई काठमाडौंको बुद्धनगर बस्ने ७१ वर्षीय गणेशबहादुर थापालाई पक्राउ गरेको हो ।
थापाले आकर्षक तलब सुविधाको रोजगारीमा सर्बिया पठाइदिने प्रलोभनमा १ जनाबाट ६ लाख ५० हजार रुपैयाँ र भण्डारीले पनि वैदेशिक रोजगारीकै लागि हंगेरी पठाइदिने प्रलोभनमा २ जनाबाट १७ लाख ५० हजार रुपैयाँ लिई फरार भएको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले थापालाई सिनामंगल र भण्डारीलाई बानियाँटारबाट पक्राउ गरेको हो । उनीहरूलाई वैदेशिक रोजगार ऐनअनुसार कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले बताएको छ ।