काठमाडौं : इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा जान छनोट भएका नेपाली सहायक कामदारको बुधबारदेखि स्वास्थ्य परीक्षण प्रारम्भ गरिँदै छ । स्वास्थ्य परीक्षणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल मेडिसिटी हस्पिटल भैंसेपाटी, स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भू र क्रिस्टल डायग्नोस्टिक सिनामंगलसहित ५ वटा अस्पताल तोकेको छ ।
वैदेशिक रोजगार विभागले १७ देखि २३ पुससम्म स्वास्थ्य परीक्षण गराउनुपर्ने जनाएको छ । स्वास्थ परीक्षणका लागि कामदारले १२ हजार रुपैयाँ हाराहारीमा शुल्क बुझाउनुपर्ने छ । नेपालले गत ९ कात्तिकमा नेपाली कामदार इजरायलमा नपठाउने निर्णय गरेको थियो ।
इजरायलले नेपालबाट २ हजार केयर गिभर लैजान लागेको छ । तर, इजरायलमा लडाइँ चर्केपछि छनोट भएकाहरू लामो समयदेखि उडानको प्रतीक्षामा छन् । इजरायल जान केयर गिभरका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका छन् । त्यसमा १ हजार १५६ महिला र ९५६ पुरुष छन् । तीमध्ये पहिलो चरणमा १ हजार जना र बाँकी दोस्रो चरणमा लैजाने बताइएको छ ।
इजरायलले नेपालसहित थाइल्यान्ड, फिलिपिन्स, चीन, भारत र श्रीलंकाबाट कामदार लगिरहेको छ । श्रीलंका र भारतबाट कृषिका लागि कामदार गएका छन् । गत भदौमै इजरायलले भारतबाट ५ हजार केयर गिभरसहित १५ हजार श्रमिक लैजाने प्रक्रिया अगाडि बढाएको थियो ।
नेपालले भने युद्धका कारणले असुरक्षा बढेको भन्दै पठाउन लामो समय रोक्यो । इजरायलस्थित नेपाली दूतावासले नेपालीले काम गर्ने दीर्घकालीन स्याहारसुसार केन्द्रहरू सुरक्षित रहेका बताए पनि इजरायलमा हमास लडाकुको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको र अपहरणमा परेका विपीन जोशीको अवस्था अझैसम्म अज्ञात रहँदा नेपालीको मनमा रहेको त्रास भने हटी नसकेको छनोटमा परेका कतिपय युवाहरूको भनाइ छ ।
केयर गिभरमा तलब सुविधा भने अत्यन्तै आकर्षक मानिएको छ । ५ वर्षसम्मको करार अवधि र मासिक २ लाख २० हजार रुपैयाँ बराबरको तलब भएकाले नेपाल प्रहरी र सेनाका मात्र नभएर लोकसेवा पास गरेर सरकारी सेवामा भर्ना भएका केही कर्मचारीले पनि इजरायल जान आवेदन दिएका बताइएको छ ।