२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘रिटर्नी उद्यमशीलता’ मार्फत स्वदेशमै रोजगारः मन्त्री अर्याल

ADV
मध्यान्ह
२०८१ असार १० गते ०८:००
‘रिटर्नी उद्यमशीलता’ मार्फत स्वदेशमै रोजगारः मन्त्री अर्याल

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई रोजगारीको अवसर सिर्जना
गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ कार्यान्वयन हुने बताएका छन् ।

विनियोजन विधेयक–२०८१ को विभिन्न शीर्षकमाथि चलिरहेको छलफलका क्रममा जवाफ दिँदै मन्त्री अर्यालले विदेशबाट फर्किएकालाई यही काम गर्ने वातावरण बनाउनेगरी काम गरिरहेको बताए । ‘स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगार प्रवद्र्धन कार्यक्रमजस्ता विविध कार्यक्रम संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा सञ्चालनमा आएका छन्’, मन्त्री अर्यालले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्नेगरी रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको छ ।’

नेपाली नागरिकले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको सीप, पुँजी, प्रविधि र ज्ञानको उपयोग गर्दैउद्यमशीलता प्रवद्र्धन मार्फत् उत्पादनशील रोजगारी र स्वरोजगार सिर्जना गर्न वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनःएकीकरण परियोजना कोशी र मधेश प्रदेशका २० वटा स्थानीय तहमा कार्यान्वयन भइरहेको श्रममन्त्री अर्यालको भनाइ छ ।

पहुँचयोग्य बनाउने उद्देश्यले व्यक्तिगत र पुनः श्रमस्वीकृति सम्बन्धी सहजीकरण सेवा सबै स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमार्फत् हुने व्यवस्था गरिएको मन्त्री अर्यालले बताए । वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु हुने मृतकका परिवारलाई दिइने क्षतिपूर्ति बापतको रकम सात लाखबाट बढाइ दश लाख हुनेगरी प्रस्ताव गरिएको छ । अंगभंग वा मृत्यु भएका कामदार र निजका परिवारलाई उपलब्ध गराउने आर्थिक सहायता तथा छात्रवृत्ति सम्बन्धी सेवालाई समेत अनलाइनमार्फत प्रदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

वैदेशिक रोजगारीको सन्दर्भमा हुने ठगी लगायत गुनासा र श्रमाधान कल सेन्टरमा प्राप्त गुनासा समयमै सम्बोधन गर्ने व्यवस्था गरिएको पनि मन्त्री अर्यालले बताए । विदेशमा अलपत्र परेका कामदारलाई उद्धार गरी तत्काल आश्रय प्रदान गर्न ओमान, कुवेत, साउदी अरब र इजरायलमा वैदेशिक रोजगार बोर्डबाट र १५ लाखका दरले कुल ६० लाख उपलब्ध गराइएको श्रममन्त्री अर्यालको भनाइ छ ।

कतार, मलेसिया, युएइ, साउदी अरब, दक्षिण कोरिया, बहराइन, कुवेत, ओमनमा श्रम काउन्सेलर र श्रम सहचारी परिचालन गरिएको तथा सबै कुटनीतिक नियोगसँग प्रभावकारी समन्वय गरिएको दावी गरे । नयाँ श्रम गन्तव्य मुलुकको खोजी र श्रम सम्झौताको नवीकरण गर्ने कार्यलाई अगाडि बढाइएको श्रममन्त्री अर्यालले बताए । जर्मनी र रोमानियासँग नयाँ श्रम सम्झौता भइसकेको र आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा थप तीन देशसँग द्विपक्षीय सम्झौता गरिने उल्लेख भएकोमा सोको गृहकार्य शुरु भइसकेको उनले बताए ।

आन्तरिक सीपमूलक तालिमतर्फ सबै प्रतिष्ठानबाट हालसम्म करिब दुई हजार पाँच सय जनालाई सीप विकाससम्बन्धी विभिन्न तालिम प्रदान गरिएको जनाइएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्ति, स्वदेशमै स्वरोजगारमा रहेका व्यक्ति, औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिक गरी हालसम्म १३ लाख ४८ हजार पाँच सय ४२ व्यक्ति योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको श्रममन्त्री अर्यालले जानकारी दिए ।

पछिल्लो तीन वर्षमा वैदेशिक रोजगारीमा गएका चार हजार श्रमिकको मृत्यु भएको र सो अवधिमा आठ सय ७० जना अङ्गभङ्ग भएको तथा कुल मृगौलाका बिरामीमध्ये ३० प्रतिशत खाडि मुलुकमा काम गर्ने नेपाली रहेको विषय संसदमा उठेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise