काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले सम्मेलन आगामी १६–१७ फागुन काठमाडौंमा आयोजना गरिने बताएको छ ।
आन्तरिक रोजगारी वृद्धि गरी वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरता कम गर्न उक्त सम्मेलनमा मुख्यगरी छलफल केन्द्रित गरिने बताइएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले हाल डेढ दर्जनभन्दा बढी मन्त्रालयले सीपमूलक तालिम संचालन गरेकोे बताए ।
मन्त्रालयले यसअघि २०५४, २०६१, २०६९ र २०७६ साल गरी ४ पटक रोजगार सम्मेलन गरिसकेको छ । सम्मेलनमा रोजगारी सिर्जनासँग सम्बन्धित तीनै तहका सरकार, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विषय विज्ञ, विकास साझेदार, निजी क्षेत्र, ट्रेड युनियन, गैरसरकारी क्षेत्रका गरी करिब ५०० विज्ञहरूलाई सहभागी गराउने तयारी रहेकोे पनि जानकारी दिइएको छ ।
प्रवक्ता घिमिरेले यसअघि मन्त्रालयले गरेकोे रोजगार मेला र रोजगार सम्मेलनको प्रकृतिमा व्यापक अन्तर रहेको दाबीसमेत गरे । उनले सम्मेलनमा प्राप्त सुझाव र पृष्ठपोषण मन्त्रालयले मनाउन घोषणा गरेको १० वर्षे आन्तरिक रणनीतिक योजनामा पनि समावेश गरिने बताए ।
सम्मेलनमा वैदेशिक रोजगारी र आन्तरिक रोजगारीका क्षेत्रमा रहेका चुनौतीहरूको विश्लेषण गरी नीतिगत सुधार र कानुनी व्यवस्थाहरूमा परिमार्जनका लागि सुझाव लिई रोजगारयोग्य वातावरण सिर्जना गर्ने विषयलाई बढी केन्द्रित गर्ने मन्त्रालयले बताएको छ ।
सम्मेलनका लागि श्रम सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा मूल समारोह समिति बनाइएको छ । रोजगारी सिर्जनामा निजी क्षेत्रको मुख्य भूमिका हुने भए पनि आन्तरिक रोजगारी प्रवद्र्धनमा ३ तहका सरकार, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगारीबाट फर्केका कामदार र उनीहरूले प्राप्त गरेकोे ज्ञान, सीप, पुँजी तथा प्रविधिको उपयोगलगायतका विषयमा छलफल गरी रोजगार नीतिमा समय सापेक्ष परष्कार गर्न जरुरी रहेकोे मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।