काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा सफल उद्यमी बनेकाहरूलाई पुरस्कृत गर्न आवेदन खुला गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम र रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरिरहेका उद्यमीलाई पुरस्कृत गरिने बताएको छ ।
मन्त्रालयले आगामी ७ माघभित्र आवेदन दिने समय तोकेको छ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा १ वर्ष काम गरी फर्किएको १ वर्ष पूरा भएको तर पछिल्लो ५ वर्षको अवधिभित्र मन्त्रालयबाट कुनै पनि प्रकारको पुरस्कार नपाएको उद्यमी हुनुपर्ने शर्त तोकेकोे छ ।
आवेदन दिन नागरिकताको प्रतिलिपिसहित श्रम स्वीकृति, भिसा लागेको राहदानीको प्रतिलिपिका अतिरिक्त व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि र कर चुक्ता प्रमाणपत्रलगायतका कागजात समावेश गरिनुपर्ने मन्त्रालयले जनाएको छ ।