बिराटनगर : उद्योग संगठन मोरङले माघ ११ देखि बिराटनगरमा बिराट एक्पो २०२५ को आयोजना गर्ने भएको छ । संगठनले विराटनगर महानगरपालिकाको वडा नं. १४ जतुवा स्थित डिग्री क्याम्पसको मैदानमा आठौँ संस्करणको एक्स्पो गर्ने भएको हो । सोमबार पत्रकार सम्मेलन गर्दै संगठनले ३ करोड रूपैयाँ खर्च गरेर एक्स्पो माघ ११ गतेदेखि २० गतेसम्म सञ्चालन हुने जानकारी दिएको दिएको छ ।
‘डिजिटल कोशी बिल्डिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट’ नाराका साथ सञ्चालन हुने उक्त एक्स्पोमा २ सय ६८ वटा स्टल रहनेछन् । एक्स्पोमा ९ पेभिलियनमा विराट बजार बिटुबीको १२ वटा, स्टार्टअप भिजन कोशी ह्याकाथनको १२ वटा, रोजगार कोशीका लागि १२ वटा, व्यावसायिक सेवा प्रदायकको ४० वटा, अटोमोवाइल्सका २० वटा, औद्योगिक क्षेत्रका ७५ वटा, औद्योगिक, कर्पोरेट र कृषिका ७५ वटा स्टल रहनेछन् । एक्स्पोमा रोजगारीका लागि तालिम पनि दिइने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपाल, भारत, पाकिस्तान र बंगलादेशका गरी विराट बजार बिटुबीका १२ स्टल, स्टार्टअप भिजन कोशी ह्याकाथुनका १२ स्टल, रोजगार कोशीका १२ स्टल, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधिका ४० स्टल, अटोमोबाइल्सका २० स्टल, औद्योगिक तर्फ ७५ स्टल, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईजका ७५ स्टल, खाद्यका १० स्टल र प्रयोजकका १२ स्टल रहने बताए ।
त्यस्तै, संगठनका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले २०७९ सालमा आयोजना गरिएको एक्स्पो भन्दा यस पटक आगन्तुकलाई थप सेवा सुविधा प्रदान गर्न लागिएको समेत बताएका छन् । यस वर्ष पनि निःशुल्क बस सेवा सञ्चालनलाई निरन्तरता दिने संयोजक दुलालले बताए ।
उनकाअनुसार बिहान १० बजेदेखि राति ८ बजेसम्म विराट एक्स्पो सञ्चालनमा रहनेछ भने बिहान १० बजेदेखि ३ः३० बजेसम्म १०० रूपैयाँ र ४ बजेदेखि राति ८ बजेसम्म २०० रूपैयाँ प्रवेश शुल्क (टिकट दर) कायम गरिएको छ ।
साँझको समयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिने र बाहिरबाट ल्याइने कलाकारलाई मोटो रकम तिर्नुपर्ने भएकोले ४ बजेदेखि लागू हुनेगरी टिकट दरमा वृद्धि गरिएको दुलालले बताए । विराट एक्स्पो २०२५ को सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको र फिल्ड निर्माणको काम सुरु भएको उनको भनाइ छ ।
पत्रकार सम्मेलनमा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले अर्थतन्त्र डिप्रेशनमा गइरहेको समयमा अर्थतन्त्रलाई चलायमान बनाउन यस्ता एक्स्पोको महत्वपूर्ण भुमिका रहेको बताएका थिए । उनले एक्स्पोलाई सुरक्षित रूपमा सञ्चालनमा ल्याउन सुरक्षा योजना बनाएर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
विराट एक्स्पोको अवधिमा प्रत्येक दिन साँझ राष्ट्रिय रूपमा ख्यातिप्राप्त पूर्ण राई, लाहुरे, मंकी टेम्पल, जेम्सी, तृष्णा गुरुङ, रक हेडस, एकदेव लिम्बु, सौरभ भट्टराई, शैलेश निरौला, अस्मिता अधिकारी, मिस्टर डि, हुमन आचार्य, स्वप्न सुमनको प्रस्तुति रहने आयोजकले जनाएको छ ।