सुर्खेत : सल्यानको बनगाडमा दुई बालिकाहरू आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन् । बनगाड कुपिण्डे नगरपालिका–११ मा बुधबार बिहान टेकमान राना र पूर्णिमा रानाका ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी राघवी मृत अवस्थामा फेला परेका हुन् ।
मृतक दुवै बालिकाको घाँटीमा निलडाम देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनीहरूको मृत्युको कारण शंकास्पद रहेको छ । उनीहरुको कुनै पनि स्वास्थ्य समस्या नभएको र शवको अवस्था हेर्दा हत्या भएको हुनसक्ने देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए ।
मृतक बालिकाका पिता टेकमान राना रोजगारीको सिलसिलामा नुवाकोटमा रहेका छन् । घटनाको अनुसन्धान गर्ने क्रममा आमा आफैंले उनीहरुको हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले बतायाे । हाल घटनाकाे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।