काठमाडौँ : नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरू र व्यवसायीलाई धम्की दिएको आरोपमा मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने हरिचन्द्र फुयाल र रामचन्द्र मैनालीविरुद्ध संगठित रुपमा आपराधिक लाभ लिएको कसुरमा मुद्दा दर्ता भएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको हो ।
यसअघि प्रसाईंविरुद्ध साइबर अपराधको आरोपमा पनि मुद्दा दायर भएको थियो । त्यस कसुरमा ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका प्रसाईंविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको हो ।
प्रसाईंसहितका व्यक्तिले धम्क्याएको भन्दै नेपाल राष्ट्र बैंक, व्यवसायी पवनकुमार गोल्यान र दिपेन्द्र अग्रवालले सीआईबीमा जाहेरी दिएका थिए । प्रसाईं र फुयालबीच पैसा लेनदेनको विषयमा कुराकानी भएको पनि प्रमाण फेला परेको छ ।