२०८१ पुष २६ गते शुक्रवार / Jan 10 , 2025 , Friday
२०८१ पुष २६ गते शुक्रवार
Ads

कोशी प्रदेशको पहिलो लगानी सम्मेलन वैशाखमा

ADV
जुनु भट्टराई
२०८१ पुष २५ गते २३:०४
कोशी प्रदेशको पहिलो लगानी सम्मेलन वैशाखमा

विराटनगर : कोशी प्रदेश सरकारद्वारा माघ ११ गतेदेखि आयोजना गरिने भनिएको पहिलो प्रदेशस्तरीय लगानी सम्मेलन आगामी बैशाखमा गरिने भएको छ । बिहीबार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले माघ ११ देखि १२ सम्म गरिने भनिएको सम्मेलन सारेर बैशाख १८ र १९ गतेलाई सार्ने निर्णय गरेको हो । तयारी पूरा नभएको भन्दै प्रदेश सरकारले लगानी सम्मेलनको मिति सारिएको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले    परियोजनाहरूको सोकेसिङ, कानूनको संसोधन र खरिद प्रकृयामार्फत् काम गर्नका लागि समय अभाव भएकाले लगानी सम्मेलन सार्ने निर्णय गरिएको बताए । कोशी प्रदेश सरकारले करिब १ खर्बको लागानी भित्र्याउने गरी लगानी सम्मेलनको तयारी गरिरहेको छ ।

कोशी प्रदेशको लगानी प्राधिकरणले स्थापना भएको ७ वर्षपछि बल्ल लगानी सम्मेलन गर्ने तयारी भएको हो । कोशी प्रदेशका पहिलो मुख्यमन्त्री तथा प्रदेश लगानी प्राधिकरणका पहिलो अध्यक्ष शेरधन राईले लगानी प्राधिकरण स्थापना भएसँगै कोशी प्रदेशमा लगानी भित्र्याउन लगानी सम्मेलन गर्ने घोषणा गरेका थिए । उनी मुख्यमन्त्रीबाट बाहिरिएपछि पटक पटक मुख्यमन्त्रीहरू निरन्तर फेरिँदै गए । शेरधन राईको बर्हिगमन पछि भिम आचार्य, राजेन्द्र राई, उद्धव थापा, हिक्मत कार्की र केदार कार्कीसम्म आउँदा लगानी सम्मेलन हुन सकेन ।  

२०८१ गत असोज १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश लगानी सम्मेलन आयोजना गर्न अवधारणा पत्र पारित गरेपछि ७ वर्षपछि कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरू गरिरहेको थियो । लगानी सम्मेलनको आयोजनाको लागि प्रदेश लगानी प्राधिकरणलाई सरकारले जिम्मेवारी दिइसकेको छ । सम्मेलनको तयारीमा जुटेको प्राधिकरणले ३७ वटा आयोजनालाई लगानी सोकेसमा राख्ने तयारी अगाडि बढाएको छ । ती आयोजनाको कुल लागत १ खर्ब ४ अर्व ८५ करोड रहेको छ । 

कोशी प्रदेश लगानी सम्मेलनको लागि मुख्यमन्त्रीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । विभिन्न क्षेत्रमा लगानीको सम्भावना उजागर गर्नु, स्थानीय र अन्तर्राष्ट्रिय लगानीकर्ताहरूसँग समन्वय गरी प्रदेशको आर्थिक विकासलाई प्रवद्र्धन गरी नयाँ परियोजनाहरूमा लगानी आकर्षित गर्नु मुख्य उद्देश्य राखेको छ । 

लगानी सम्मेलनमा सम्भाव्यताबाट कोशी प्रदेशमा उपलब्ध प्राकृतिक स्रोत साधन, भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि, र अन्य उद्योगहरूमा लगानीका भित्र्याउने तयारी सरकारको रहेको कोशी प्रदेशका मुख्यमन्त्री तथा लगानी प्राधिकरणका अध्यक्ष हिक्मतकुमार कार्कीले बताए । प्रदेश संरचना स्थापना भएको ७ बर्षमा पनि हुन नसकेको लगानी सम्मेलन पहिलो पटक गर्न लागिएकोले लगानीको प्रशस्त भित्रिने उनको दाबी छ । सम्मेलनबाट दिगो आर्थिक वृद्धि र रोजगार सृजनामा टेवा पुग्ने बताए ।

लगानी प्राधिकरण शुरु भएदेखि हालसम्म भेडेटार स्काई वाक, विराटनगर नगरबस सञ्चालन, विराटनगर व्यावसायिक भवन निर्माण, बर्जुताल पर्यटन पूर्वाधार, सगरमाथा केबुलकार परियोजना र उउयपुरमा क्लीङ्कर परियोजना अघि बढाइएको थियो । समझदारी अनुसार निर्माण नै सकिनुपर्ने समय पुगेको परियोजनाहरू अहिलेसम्म परियोजना विकास सम्झौता (पीडीए)को अवस्थासम्म आइपुगेको लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले जानकारी दिए । 

प्राधिकरणसमेतको संलग्नतामा सुरु भएका परियोजनामध्ये अहिलेसम्म भेडेटार स्काइ वाकमात्र सम्पन्न भएको छ । २० करोड रूपैयाँ लागतमा निर्माण भएको परियोजना अहिले सञ्चालनमा छ । प्रति टिकेट ५ प्रतिशत रोयल्टी प्राप्त गर्ने प्रदेशले यसलाई पहिलो सफल परियोजना ‘ब्रेक थ्रु’को रुपमा लिएको छ । 

लगानी परियोजनाहरू समझदारी अनुसार अघि बढ्न नसकेपछि औचित्यको प्रश्न खेपेरिहेको प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइराला भने चुनौतिबीच पनि लगानी प्राधिकरणले काम गरिरहेको बताउँछन् । स्थापनाको पाँच बर्षमा करिब ८५ अर्ब ६७ करोड रूपैयाँ लगानीका परियोजना भित्र्याउने काम भइरहेको उनको दाबी छ । उनका अनुसार पिडिएको चरणमा ४६ अर्ब ३६ करोडका पाँच ओटा परियोजना छन् । जस अन्तर्गत विराटनगर नगरबस सञ्चालन, व्यावसायिक भवन, बर्जुताल पर्यटन पूर्वाधार, सगरमाथा केबलकार र उदयपुरमा क्लीङ्कर उत्पादनसँग सम्बन्धित परियोजना छन् । 

यसबाहेक ग्रिन हाइड्रोजन र केमीकल फर्टिलाइजर, कोशी पोडवे प्रोजेक्ट, काँकडभिट्टा बसपार्क, विराटनगर एमएसडब्लु, काकडभिट्टा भद्रपुर एमएसडब्लु प्रोजेक्ट र सबै पहाडी जिल्लामा कोदोको रक्सी परियोजना छलफलको चरणमा रहेको प्राधिकरणले जनाएको छ । सरकारले लगानी सम्मेलनमार्फत् कम्तीमा १ खर्ब बढिको ‘एमओयू’ हुने दाबी गर्दै आएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise