अनिल भुसाल
गत डिसेम्बरमा चाइनाको वुहान सहरबाट सुरु भई विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसले अहिले विश्वलाई सन्त्रास गराएको छ । यसको फैलिने क्रम जारी छ भने यसको प्रभाव कहिलेसम्म रहने, कति जनसंख्या प्रभावित हुने, कतिले ज्यान गुमाउनुपर्ने, रोग नियन्त्रणका लागि स्थायी उपचार विधि कहिले पत्ता लाग्ने कुनै आकलन गर्न सक्ने अवस्था छैन । स्वास्थ्य क्षेत्रमा अब्बल राख्ने विकसित पश्चिमी मुलुकहरूले समेत अहिले लकडाउनको सामना बेहोर्नुपरेको छ र हालसम्म यस रोगको नियन्त्रण तथा रोकथामको उपयुक्त समाधान विश्वव्यापी रूपमा नै लकडाउन देखिएको छ । हालसम्म यसको स्थायी उपचारको विधि आविष्कार हुन सकेको छैन, यद्यपि विकसित मुलुकहरू यस रोगको रोकथामका लागि भ्याक्सिन (खोप) तयार गरी परीक्षण गर्न लागिपरेका छन् भने कतिपय मुलुकले परीक्षणसमेत गरीसकेका छन्, तथापि यसको प्रभावकारी परीक्षण हालसम्म भएको अवस्था छैन । जुन देशबाट यस रोगलाई समाप्त गर्न सक्ने खोपको आविष्कार हुन्छ त्यो राष्ट्रले अबको विश्व अर्थतन्त्रको अगुवाई गर्ने निश्चितप्रायः देखिन्छ ।
विश्वव्यापी महामारीको रूपमा सन्त्रास फैलाएको यस भाइरसले विश्व अर्थतन्त्रलाई समेत मन्दीमा धकेलेको छ । सन् २०२० का लागि यो महामारी विश्वव्यापी वित्तीय संकटभन्दा खराब हुने संकेत गरेको छ । विभिन्न राष्ट्रले अपनाएका विविध रोकथामका उपायहरूका बाबजुद पनि नयाँ संक्रमणको संख्या तीव्र रूपमा वृद्धि भएसँगै सबै मुलुकमा आर्थिक क्षति आरोहण हुँदै गएको अवस्था छ । अन्तर्राष्ट्रिय व्यापार र विश्वव्यापी आपूर्ति श्रृंखलामा समेत बाधा पुर्याइरहेको छ । उद्योगधन्दा, कलकारखानाहरू बन्द भएसँगै विश्वव्यापी रूपमा बेरोजगारीको समस्या उक्सिदै गएको छ । यस महामारीको असर विश्वव्यापी रूपमा कम्तीमा थप ६ महिनासम्म देखिने पूर्वानुमान गरिएको छ । मानिसहरूको आवागमनमा प्रतिबन्धको अवधि, विकसित तथा प्रमुख राष्ट्रहरूको आर्थिक गतिविधिहरू र उक्त राष्ट्रहरूको वित्तीय प्रोत्साहन प्याकेजको आकार तथा प्रभावकारिता, स्वास्थ्य क्षेत्रमा गरिएको खर्चले अबको विश्व अर्थतन्त्रको दिशानिर्देश गर्छ ।
कृषिजन्य उपभोग्य वस्तुहरूमा समेत छिमेकी राष्ट्र भारतलगायत अन्य देशहरूसँग परनिर्भर रहेको नेपाल समेत यो महामारीको सिकार बनेको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट अत्यन्त प्रभावित भएको नेपालको अर्थतन्त्र विगत केही वर्षहरूमा सुधार हुँदै आएको थियो । आ.व. २०७६÷७७ को बजेट र मौद्रिक नीतिअनुसार आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने प्रक्षेपण गरिए तापनि कोराना महामारीको कारणबाट विश्व बैंकको सन् २०२० अप्रिलमा प्रकाशित गरेको आर्थिक तथ्यांकअनुसार उक्त वृद्धिदर २.८ प्रतिशतमा समेटिने अनुमान गरेको छ । महामारीको संक्रमण सावधानीपूर्वक नियन्त्रण नगरिएमा उक्त वृद्धिदर अझै कम हुन सक्ने निश्चितप्रायः छ । अर्थतन्त्रका प्राथमिकताप्राप्त क्षेत्रहरू ऊर्जा, पर्यटन र कृषिमा महामारीको प्रत्यक्ष असर देखिएको छ र उक्त क्षेत्रहरूको वृद्धिदर अझ न्यून हुने आकलनसमेत गरिएको छ । साथै, अर्थतन्त्रका अन्य क्षेत्रहरूमा समेत यस महामारीको अधिकतम असर भएको देखिन्छ । अहिले महामारीलाई नियन्त्रण गरी मानिसको जीवन बचाउने मात्र नभई हाम्रो समाजलाई आर्थिक विपद्बाट बचाउन, दिगो आर्थिक वृद्धिदर कायम गर्न साथै वित्तीय क्षेत्र स्थायित्वका लागिसमेत राज्यले साहसिक नीतिगत उपायहरू अवलम्बन गरी नेपाली अर्थतन्त्रमा परेको असरको द्रुत गतिमा न्यूनीकरण गर्नुपर्ने देखिन्छ ।
अर्थतन्त्रमा देखिने अल्पकालीन समस्याहरू जस्तै उपभोगमा कमी हुँदा अर्थतन्त्र चलायमान नहुनु, बेरोजगारी बढ्नु, गरिबीको सख्ंया बढ्नु, मुद्रास्फीतिमा वृद्धि हुनु, साथै राहतका नाममा भ्रष्टाचार मौलाउने देखिन्छ । अर्थतन्त्रका विभिन्न क्षेत्रमध्ये पर्यटन क्षेत्रमा तुलनात्मक रूपमा धेरै समस्या परेको देखिन्छ, मूलतःण् पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै उक्त क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरूले लगानीको प्रतिफल प्राप्ति नहँुदै महामारीको सामना गर्नुपरेकाले बैंकको ब्याज र किस्ता जम्मा गर्न कठिन देखिएको छ । साथै उद्योग, सेवा, यातायात र कृषिक्षेत्रसमेत महामारीको असरबाट अछुतो छैनन् । अहिले राज्यलाई उल्लिखित अल्पकालीन समस्याहरूको तत्काल समाधान गर्नुका साथै ग्रसित क्षेत्रहरूको संरक्षणका लागि राहत प्याकेजहरू घोषणा गर्नुपर्ने देखिन्छ भने अर्कातर्फ अर्थतन्त्रको दिगो विकासका लागि दीर्घकालीन नीतिगत उपायहरू अवलम्बन गनुपर्ने चुनौती पनि देखिन्छ ।
कोरोना कहरले गर्दा हाल वैदेशिक रोजगारीका सिलसिलामा विशेष गरी खाडी मुलुकमा गएका कैयौं नेपाली युवा स्वेदश फर्केका छन् भने जीवनयापनका लागि सहरमा रोजगारी गरी बसेका युवाहरूसमेत गाउँतिर फर्किनुपर्ने अहिलेको बाध्यात्मक अवस्था छ । विदेशबाट फर्किएका र फर्किन चाहेका नेपालीहरूलाई स्वदेशमा स्वरोजगार सिर्जना गर्ने अवसरसमेत कोरोना कहरले जुटाएको छ । साथै अवसरको खोजीमा विगतका वर्षहरूदेखि पहाडी क्षेत्र छाडी सहरी क्षेत्र विशेष गरी तराई क्षेत्रमा अत्यधिक रूपमा बसाइँसराइ गर्नेहरूका लागि पनि आफ्नै जन्मथलोको याद कोरोना कहरले दिलाइदिएको छ । कुनै समयमा कृषि उत्पादन र उपभोगमा आत्मनिर्भर रहेका केही मध्यपहाडी जिल्लाहरूमा अहिले सक्रीय जनशक्तिको अभावमा खेतीयोग्य जमिनसमेत बाझिन पुगेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका दक्ष युवाहरूको जमातलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न, बसाइँसराइ गरी पहाडी क्षेत्रबाट सहर जानेहरूको जमातलाई पुनः फिर्ता गर्न, खेतीयोग्य जमिन पुनः स्थापित गरी ग्रामीण अर्थतन्त्रको विकास र सन्तुलित क्षेत्रीय विकास तथा दिगो अर्थतन्त्र विकासका लागिसमेत सरकारले कृषि क्षेत्रसँग सम्बन्धित साहसिक नीतिगत उपायहरू अबलम्बन गर्नुपर्ने देखिन्छ, साथै उक्त साहसिक नीतिहरूमध्येको एक २०७६ फागुन १९ गते गाँजा खेतीलाई कानुनी मान्यता दिन प्रतिनिधिसभामा पेस गरिएको ‘गाँजा विधेयक’ उत्तम देखिन्छ ।
गाँजाको उत्पत्ति, प्रयोग र प्रतिबन्ध
तेस्रो सहस्राब्दी इसापूर्वमा गाँजाको उत्पत्ति मूलतः मध्यएसियामा भएको मानिन्छ र यसको प्रयोग कपडा, कागज, पाल र डोरीहरू बनाउनका साथै धार्मिक प्रयोग, औषधि र खानाका रूपमा समेत भएको पाइन्छ । सन् १८३० को दशकमा भारतमा अध्ययन गर्ने एक आयरिश चिकित्सकले गाँजाको अर्कले पेटको दुखाइ र बान्ता कम गर्न सहयोग पु¥याउने पत्ता लगाएका थिए । १९ औं शताब्दीको अन्त्यतिर गाँजाका अर्कहरू युरोप र संयुक्त राज्य अमेरिकाका फार्मेसी र डाक्टरहरूले पेटको उपचार र अन्य बिरामीहरूको उपचारको लागिसमेत प्रयोग गर्ने गरेको पाइन्छ । सन् १९६० को दशकमा अमेरिकामा विशेष गरी युवा र कजेलका विद्यार्थीहरूले गाँजाको प्रयोग अत्यधिक गर्न थाले, साथै यसलाई मध्यमवर्गीय सांस्कृतिक मूलधारमा ल्याएका थिए । अन्य राष्ट्रहरू ब्रिटेन, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डका युवा तथा कजेलका विद्यार्थीहरूले समेत यसको अत्यधिक प्रयोग गरेको पाइयो । सन् १९६० को दशकमा नेपाल आउने पर्यटकहरूको पनि पहिलो रोजाइ नेपालमा उत्पादित गाँजा र चरेस हुने गथ्र्याे । विश्वव्यापी रूपमा यसको प्रयोग फैलिँदै गएको थियो ।
अन्ततः औषधिविरुद्धको युद्धअन्तर्गत गाँजालाई अनुसूची १ बमोजिमको औषधिका रूपमा सूचीबद्ध गरी ड्रग डिलर र प्रयोगकर्ताहरूलाई जेल सजाय बढाउँदै अवैध लागूऔषधको प्रयोग, वितरण र व्यापारमा प्रतिबन्ध लगाएको थियो । सन् १९७० र १९८० को दशकमा संयुक्त राज्य अमेरिकाले गाँजा उत्पादन र तस्करी गर्ने देशहरूमा विदेश नीति लागू गरी प्रतिबन्ध गर्न थप दबाब दियो । अमेरिकाले सन् १९७३ मा नेपालमा कानुनी रूपमा गाँजा बिक्री–वितरण गर्ने स्टोरहरू बन्द गर्न दबाब दियो र नेपालमा समेत कानुनी मान्यताको अन्त्य भयो । हाल नेपालमा गाँजा खेती गर्नु कानुनविपरीत मानिन्छ, यद्यपि ग्रामीण क्षेत्रमा घरायसी औषधि प्रयोजनका लागि अवैधानिक रूपमा सानो क्षेत्रमा खेती गर्ने गरेको पाइन्छ । हाल अमेरिकामा संघीय स्तरमा गाँजाको प्रयोगलाई प्रतिबन्धित गरिए तापनि विभिन्न ११ प्रान्तमा यसलाई मनोरञ्जनका रूपमा प्रयोग गर्न कानुनी मान्यता दिइएको छ, साथै ३३ प्रान्तमा औषधिका रूपमा प्रयोग गर्नका लागि प्रतिबन्ध खुला गरिएको छ । विश्वका धेरै मुलुकले गाँजाको प्रयोग औषधिका रूपमा गर्न प्रतिबन्ध खुला गरिसकेका छन् भने हालसम्म क्यानडा, जर्जिया, दक्षिण अफ्रिका र उरुग्वेले मात्र गाँजाको प्रयोग मनोरञ्जनका लागि खुला गरेका छन् ।
नेपालको अर्थतन्त्रमा पर्ने प्रभाव
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपालको समग्र अर्थतन्त्रलाई प्रत्यक्ष असर पारेको छ । साथै विश्वव्यापी रूपमा कोरोना संक्रमितहरू बढ्ने क्रम र छिमेकी राष्ट्र भारतमा समेत संक्रमितहरूको संख्या वृद्धि भई लकडाउनको अवधि लम्बिएसँगै नेपलमा पनि उक्त अवधि थप हुँदै गएको अवस्थामा देशको अर्थतन्त्रका प्रमुख क्षेत्रहरू ऊर्जा, पर्यटन, कृषि, सेवालगायतका क्षेत्रहरूमा थप संकुचन आउने निश्चितप्रायः छ । संक्रमणका कारणले अस्ताउन लागेको नेपालको अर्थतन्त्रलाई पुनः चलायमान गराउनका लागि सरकारसामु बढ्दो चुनौती रहेको छ । अमेरिकाको डाटाट्रेक रिसर्चकी को–फाउन्डर जेसिका रबेले भनेकी छन्– कोभिड–१९ महामारीपछी न्युयोर्क प्रान्तको बजेट घाटालाई सन्तुलन गर्न एक सरल र प्रभावकारी समाधान भनेको गाँजाको मनोरञ्जनकारी बिक्रीलाई वैध बनाउने । नेपालमा पनि प्रतिनिधिसभामा पेस भएको गाँजा विधेयक संसद्बाट पास भई गाँजा उत्पादनलाई कानुनी मान्यता दिएमा अर्थतन्त्रमा उल्लेखनीय र सकरात्मक प्रभाव पर्ने देखिन्छ । नेपालको भौगोलिक बनावटले समेत यसको उत्पादनलाई थप सहायता पुग्दछ भने पहाडी क्षेत्रमा लामो समयदेखि बाँझो रहेका खेतीयोग्य जमिनको समेत उपयोग हुने देखिन्छ, जसबाट ग्रामीण अर्थतन्त्रको सन्तुलित विकासका लागि थप प्रभावकारी हुने देखिन्छ । मूलतः यसले नेपालको अर्थतन्त्रको विकासमा तपसिलबमोजिमका थप सहायता पु¥याउन सहयोग गर्छ ।
१. मध्यपहाडी क्षेत्रको हिमालयन चट्टान र खनिजसँग मिश्रित माटोमा उत्पादित गाँजाको माग अन्तराष्ट्रिय बजारमा समेत उच्च रहेकोमा ग्रामीण क्षेत्रमा आर्थिक गतिविधिहरू बढ्न गई उक्त क्षेत्रको पूर्वाधार विकासमा समेत टेवा पुग्छ । साथै ग्रामीण अर्थतन्त्रको विकासमा टेवा पु¥याई सामाजिक सन्तुलन कायम गर्न मद्दत पुग्छ र उक्त क्षेत्रका बासिन्दाको दिगो जीवनयापनका लागि उपलब्ध स्रोत–साधनहरूको समान वितरणमा समेत निश्चितता हुन्छ । कोरोना कहरले आफ्नो घर फर्किएका ऊर्जाशील युवाहरूको अबको गन्तव्यस्थल ग्रामीण क्षेत्र हुन सक्ने सम्भावना रहन्छ ।
२. अत्यधिक बेरोजगारी र गरिबीको समस्याको अन्त्य हुने सम्भावना रहन्छ । प्रमुख समस्याका रूपमा रहेका बेरोजगार, दक्ष जनशक्तिको पलायन र गरिबीजस्ता समस्याहरूको अन्त्य गर्न बेरोजगार युवाहरू र रोजगारीका लागि विदेश जाने ऊर्जावान् युवाहरूलाई प्रोत्साहन गरी व्यावसायिक रूपमा गाँजा खेती गर्ने वातावरण सिर्जना गर्न सकेमा थप रोजगारीका अवसरहरू प्राप्त हुन सक्छन् ।
३. अन्तर्राष्ट्रिय बजारमा गाँजाको अत्यधिक माग भएकोमा नेपालमा उत्पादित गाँजाद्वारा अन्तर्राष्ट्रिय स्तरका न्यूनतम मापदण्डहरू पूरा गर्न सकेमा निर्यात गरी वैदेशिक विनिमय आम्दानी गर्ने अवसर हुन्छ, जसबाट अत्यधिक व्यापारघाटा न्यूनीकरण भई भुक्तान सन्तुलनमा समेत सहयोग पु¥याउँछ । विप्रेषणमा निर्भर रहेको नेपालको अर्थतन्त्र आत्मनिर्भर हुन सक्छ, साथै निर्यातबाट प्राप्त आम्दानीले सहज रूपमा विप्रेषणको आम्दानीलाई प्रतिस्थापन गर्न सक्छ ।
४. वित्तीय साधन–स्रोतहरूको समान वितरणमा सुनिश्चितता हुन्छ । हाल नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू सिमित क्षेत्रमा विशेष गरी शहरी क्षेत्रमा केन्द्रीकृत भएको अवस्था छ । ग्रामीण क्षेत्रमा आर्थिक क्रियाकलापहरू कम हुँदा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पनि न्यून रहेको छ । गाँजाको व्यावसायिक उत्पादनले बैंक तथा वित्तीय संस्थाहरू पनि उक्त क्षेत्रमा आकर्षित भई बाक्लो उपस्थिति हुने देखिन्छ ।
५. क्यासिनो मोडलमा गाँजाको प्रयोगलाई मनोरञ्जनका लागिसमेत खुला गरेमा नेपाल बाह्य पर्यटकहरूको गन्तव्य स्थल हुन सक्ने प्रबल सम्भावना रहन्छ, जसले गर्दा कोरोना महामारीबाट धराशय भएको नेपालको पर्यटन अर्थतन्त्रको वृद्धि हुन सक्छ, साथै प्रस्तावित पर्यटन वर्ष २०२२ लाई समेत सफल पार्न महत्वपूर्ण योगदान रहन सक्छ ।
६. प्रत्येक वर्ष घाटा बजेट प्रस्तुत गर्ने नेपालका लागि उक्त घाटा न्यूनीकरणको लागि उपयोगी हुने देखिन्छ । उत्पादन, बिक्री–वितरण र निर्यातमा लगाइने करबाट राज्यको आम्दानीका दायराहरू बढ्न गई घाटा बजेट न्यूनीकरण गर्न सकिन्छ, साथै घाटा बजेट परिपूर्तिका लागि वैदेशिक ऋण लिने प्रथाको न्यूनीकरण समेत गर्न सकिन्छ ।
७. संयुक्त राष्ट्रसंघमा कम विकसित राष्ट्रका रूपमा सूचीकृत नेपाललाई आगामी दिनमा विकासशील मुलुकका रूपमा स्तरोन्नति गर्न कोरोनाका कारणबाट थप समस्या उत्पन्न हुने देखिन्छ, यद्यपि नेपाल विकासशील राष्ट्रको उपाधि प्राप्त गर्नका लागि आवश्यक पर्ने प्रमुख तीन मापदण्डमध्ये मानव सम्पत्ति सूचांक र आर्थिक जोखिम सूचकको लक्ष्य पूरा गरिसकेको छ भने प्रतिव्यक्ति आय लक्षित स्तरभन्दा कम रहेको देखिन्छ । नेपालको विकासशील राष्ट्रका रूपमा स्तरोन्नति हुने सपना गाँजा अर्थतन्त्रले सावित गर्न सक्नेछ ।
अन्तराष्ट्रिय बजार
गाँजाको माग राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बढ्दै जाने देखिन्छ, विशेष गरी यसको प्रयोग औषधि प्रयोजन र मनोरञ्जनका लागि रहेको छ । गाँजाका दुवै शारीरिक र मानसिक असर रहेका छन्, यसको प्रयोगले मानिस अचानक खुसी हुने, मुडमा परिवर्तन हुने, संवेदनशील हुने, अत्यधिक भोक लाग्ने लगायतका प्रभावहरू हुने गर्छन् । यद्यपि यसको प्रयोग क्यान्सर, बाथ, मानसिक रोग, पार्किन्सन रोगहरू साथै अल्जाइमरजस्ता रोगहरूको उपचारका लागिसमेत विभिन्न मुलुकमा प्रयोग भएको पाइन्छ ।
बुढेसकालमा हुने दीर्घकालीन दुखाइहरूको न्यूनीकरणको लागिसमेत व्यापक रूपमा प्रयोग हुने र क्यान्सर संक्रमित बिरामीहरूको संख्या वृद्धि हुँदै गर्दा अन्तर्राष्ट्रिय स्तरमा यसको माग बढ्ने देखिन्छ । अमेरिकाको एक प्रतिष्ठित संस्था ग्रान्ड भ्यू रिसर्चले हालसालै प्रकाशित गरेको रिपोर्टअनुसार वैधानिक रूपमा गाँजाको विश्व बजारको आकार सन् २०२७ सम्ममा अमेरिकन डलर ७३.६ अर्ब (नेपाली रुपैयाँ करिब ८८ खर्ब) हुने अनुमान गरेको छ साथै सन् २०१९ मा उक्त बजारको आकार अमेरिकन डलर करिब १७.७ अर्ब (नेपाली रुपैयाँ करिब २१ खर्ब) रहेको थियो । गाँजाको प्रमुख अन्तर्राष्ट्रिय बजार उत्तर अमेरिकी मुलुकहरू संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिको रहेका छन्, साथै युरोपमा समेत यसको बजारको आकार वृद्धि हुँदै गएको छ । साथै भारतको फर्चुन बिजनेस इन्साइटले गरेको प्रक्षेपणअनुसार गाँजाको विश्व बजारको आकार सन् २०२६ मा अमेरिकन डलर ९७.३५ अर्ब (नेपाली रुपैयाँ करिब ११७ खर्ब) हुने अनुमान गरेको छ ।
नेपालमा कानुनी मान्यता नभए तापनि अवैद्यानिक रूपमा यसको बिक्री–वितरण भई अन्तर्राष्ट्रिय बजारमा समेत आपूर्ति हुने खबरहरू समय–समयमा आउने गर्छन् । अन्तर्राष्ट्रिय बजारमा विशेष गरी गाँजाको कोपिला, तेल र टिन्चरको अत्यधिक बजार रहेको छ, जसमध्ये सन् २०१९ मा कोपिलाको बजारको आकार अत्यधिक रहेको थियो, साथै आगामी दिनमा समेत यसको माग बढ्ने देखिन्छ । क्यान्सर र अन्य रोगहरूको उपचारको अनुसन्धानमा गाँजाको व्यापक प्रयोग गरेका जमैकाका एक चर्चित वैज्ञानिक डा. हेनरी लोवले हाल कोरोना संक्रमित सदस्यमा गरेको परीक्षणमा प्रभावकारी देखिएकाले थप परीक्षणको लागि पेटेन्ट स्वीकृतिको माग गरिसकेका उनले केही दिनमै कोभिड–१९ विरुद्ध उपयोगी सावित हुने–नहुने पत्ता लाग्ने बताएका छन् । क्यान्सरलगायत अन्य रोगहरूको उपचारमा व्यापक रूपमा प्रयोग भइरहेको गाँजा कोभिड–१९ विरुद्ध उपयोगी सावित भएमा अन्तर्राष्ट्रिय स्तरमा यसको माग थप बढ्न सक्ने देखिन्छ । अमेरिकाको एक म्यागेजिन कानाविस बिजनेस टाइममा उल्लेख भएअनुसार सन् २०२० अप्रिल ३ मा गाँजाको बजार मूल्य नेपाली रुपैयाँ ३ लाख ६९ हजार प्रति के.जी. रहेको छ । सन् २०१८ मा विडिनडेक्सडटओआईले प्रकाशन गरेको तथ्यांक अनुसार जापानको टोकियोमा सबै भन्दा बढी गाँजाको प्रतिग्राम मूल्य अमेरिकन डलर ३२.६६ रहेको थियो जसको हालको नेपाली सरदर मूल्य रु. ३९ लाख प्रति के.जी. हुने देखिन्छ, जहाँ गाँजा उत्पादन र बेचबिखनलाई कानुनी मान्यता दिइएको छैन । साथै युरोपका १० प्रमुख शहरूको तथ्यांकलाई मध्यनजर गर्दा त्यहाको प्रतिग्राम औसत मूल्य अमेरिकन डलर १४.८० रहेको छ, जुन अहिलेको औसत विनिमय दर १२० ले हिसाब गर्दा पनि नेपाली रुपैयाँ करिब १७ लाख ७६ हजार प्रति के.जी. पर्ने देखिन्छ । यद्यपि युरोपका कतिपय देशमा यसलाई प्रतिबन्ध लगाइएको छ भने कतिपय राष्ट्रमा औषधिका रुपमा प्रयोग गर्नको लागि खुल्ला गरिएको छ, साथै आगामी दिनमा युरोपियन बजारमा यसको माग वृद्धि हुने देखिन्छ । नेपालमा अन्तर्राष्ट्रिय मापदण्डबमोजिम उत्पादन, प्रशोधन र प्याकेजिङ गरी गुणस्तरीय गाँजा निर्यात गर्ने वातावरण मिलाउन सकेमा नेपालको गाँजाको प्रमुख बजार युरोपियन मुलुकहरू रहन सक्छन् ।
अन्त्यमा, गाँजा नेपालका लागि कुनै नौलो उत्पादन होइन, परापूर्व कालदेखि नै नेपालको माटोमा उत्पादन भइआएको वनस्पति हो, खेती नगर्दा समेत जस्तोसुकै खेतीयोग्य जमिनमा आफैं उम्रिने र सबैभन्दा दु्रत गतिमा वृद्धि भइरहने कृषि बालीमध्येको एक उप्पादन गाँजा हो । यसको उत्पादनका लागि जैविक अवशेष, पृथ्वीको माथिल्लो तहको माटो र ढुंगाको कणहरू मिश्रित भएको माटोमा एकदमै कम मलखादलगायत कीटनाशक औषधिको प्रयोग गरी उत्पादन गर्न सकिन्छ, साथै फसल प्रशोधन गर्नसमेत कम समय लाग्ने र अत्यन्त न्यून वातावरणिय प्रभाव भएको वनस्पतिका रूपमा लिन सकिन्छ । राज्यले आफ्नो आम्दानीका स्रोतहरूको दायरा बढाउनका लागि बहुउपयोगी गाँजा उत्पादन अत्यन्त उपयोगी वनस्पति सावित हुन सक्छ । बैंक तथा वित्तीय संस्थाहरूबाट कृषकहरूलाई प्रोत्साहनका लागि प्रदान गर्दै आइरहेको सहुलियतपूर्ण कर्जामा गाँजाको उत्पादनलाई समेत जोड्न सकेमा थप प्रभावकारी भई उच्च प्रतिफल प्रात्प गर्न सकिने देखिन्छ । युरोपियनलगायत अन्य पश्चिमी मुलुकहरूमा यसको उत्पादन र प्रयोगको निश्चित मापदण्डहरू बनाई औषधि प्रयोजन र मनोरञ्जनका लागि प्रतिबन्ध खुल्ला गरी यसबाट सरकारले आम्दानीका दायराहरू बढाएको देखिन्छ । हानिकारक पदार्थहरू जस्तै सुर्ती, तम्बाखु र रक्सीको तुलनामा यसको प्रयोगले मानव स्वास्थ्यमा समेत असर नगर्ने हँुदा गाँजाको वैधानिकता हुने कुरामा कुनै शंका देखिँदैन । तसर्थ ग्रामीण अर्थतन्त्रको सन्तुलित विकासका लागि, मेहनती किसानहरूको आर्थिक स्तरमा सुधार ल्याउनका लागि, वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ति पलायन हुनबाट रोक्नका लागि, पर्यटकीय गन्त्यव्यका रूपमा नेपाललाई स्थापित गर्नका लागि, व्यापारघाटा न्यूनीकरण गर्नका लागि, वैदेशिक विनिमय आम्दानीका लागि, भुक्तानी सन्तुलनका लागि, स्वदेशमै रोजगारीको सिर्जना गर्नका लागि, सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक तुल्याउन र कोरोना कहरले धराशय बनाएको अर्थतन्त्रलाई उकास्नका लागि प्रतिनिधिसभामा प्राइभेट बिलमार्फत पेस भएको गाँजा विधेयक नियन्त्रित उत्पादन र प्रयोजनका निश्चित दायराहरू तोकी राज्यको प्रत्यक्ष निगरानी रहने गरी संसद्बाट पारित गर्नुको विकल्प देखिँदैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies