रौतहटः रौतहट प्रहरीले किटाणुनाशक औषधि बोकेको पिकअप गाडी र गहुँ बोकेको ट्याक्टरसहित २ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय गौरबाट खटिएको गस्ती टोलिले गौर नगरपालिका वडा नम्बर ५ सिया होटल नजिकबाट पिकअप र ट्याक्टर नियन्त्रणमा लिएको हो ।
रौतहट प्रहरी निरीक्षक उमा शंकर प्रसादका अनुसार किटानाशक औषधि लोड गरेको ना.२च.७७६१ र गहुँ बोकेको ना.२ त १६५० को ट्याक्टरलाइ नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक ४५ वर्षका सन्जिप यादव र पिकअप गाडीका चालक ३० वर्षका सुनिल यादवलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
गाडीहरुमा लोड सामनहरु र गाडीमा रहेको बिल बिजकहरु फरक देखिएको हुँदा नियन्त्रणमा लिएको उनले बताए । उक्त सामनहरु, गाडी र चालकहरुलाई थप अनुसन्धानका लागि आन्तरिक राजस्व करदाता कार्यलय गौरमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यलयबाट खटिएको गस्ती टोलिले गौर नगरपालिका वडा नम्बर ४ बस पार्कबाट एक लाख ६० हजार भन्दा बढीको अवैध सामान बरामद गरेको छ । प्रहरीका अनुसार चिनी, मैदा, तिल, तेल लगायतका सामन बरामद भएको हो । बरामद सामान आवश्यक कारबाहीका लागि गौर भन्सारमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।