इजरायल–प्यालेस्टाइन युद्धका क्रममा धेरै मानिस बन्धक बनेका छन् । कतिपयको मृत्यु भएको छ । कतिपय बेपत्ता अवस्थामा छन् । यसै क्रममा युद्धमा परी केही नेपालीले ज्यान गुमाएका छन् भने एक जना नेपाली विद्यार्थी विपीन जोशी बन्धक रहेका बताइएको छ । तर, उनको अवस्था अज्ञात छ । अध्ययनका क्रममा इजरायल पुगेको केही दिनमै बेपत्ता पारिएका विपीनको अवस्थाबारे उनको परिवार बारबार चिन्ता गरिरहेको छ । राष्ट्रपतिदेखि देशका महत्त्वपूर्ण व्यक्तिहरू सबैजसोलाई भेटेर अनुनय विनय गरिसकेको उनको परिवार अझै विपीन फर्किनेमा आशावादी छ । भर्खरै केही दिनअघि मात्र गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न प्यालेस्टाइनी लडाकु समूह हमास सहमत भएको छ । उसले त्यस सूचीमा नेपाली विद्यार्थी विपीन जोशीको नाम पारेको छैन ।
इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्दीलाई रिहा गर्न हमास सहमत भएपछि उक्त सूची दिएको थियो । ७ अक्टोबर २०२३ मा हमास लडाकुले इजरायलको गाजा नजिकैको शहरबाट अपहरण गरी धेरै मानिसलाई हमासले बन्धक बनाएको छ । पहिलो चरणमा इजरायली नागरिकहरू मात्र रिहा हुने छन् । १०० जना बन्दी आफ्नो नियन्त्रणमा रहेका जानकारी गराएको हमासले पहिलो सूचीमा ती ३४ जनाको नाम सार्वजनिक गरेको हो । इजरायलस्थित नेपाली राजदूतावासले पनि विपीनको अवस्था अज्ञात नै रहेको जनाएको छ । निरन्तरको प्रयासले पनि उनको यथार्थ जानकारी प्राप्त हुन नसकेको दूतावासले बताउँदै आएको छ ।
परराष्ट्रमन्त्री डा. आरजू राणाले संयुक्त राष्ट्रसंघको ७९औं महासभामा आयोजित विभिन्न कार्यक्रमहरूमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन विश्व समुदायसँग आग्रह गरेकी थिइन् । नेपालका लागि इजरायली राजदूतसँग पनि राणाले अनुरोध गरिरहेकी छन् तर पनि जोशीको न अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छ, न त उनको रिहाइको ठेगान । जोशीको परिवार भने नेपाल सरकारकै पहल पर्याप्त नभएको गुनासो गरिरहेको छ । अन्य देशहरूले आफ्ना नागरिकबारे गम्भीर चासोसहित रिहाइको पहल गरिरहँदा नेपाल किन गम्भीर बनेन ? भन्ने परिवारको गुनासोलाई समयमै सम्बोधन गर्नु तथा विदेशमा रहेका आमनेपालीको सुरक्षा र सहयोगमा त्यहाँस्थित दूतावासहरू सक्रियतापूर्वक लाग्नु आवश्यक देखिन्छ ।