काठमाडौंः पर्सा वीरगन्जका एक युवकसहित तीन जना लागुऔषध गाँजा, चरेस र अफिमसहित मकवानपुर प्रहरीले पक्राउ गरेको छ । चितवनबाट वीरगन्जतर्फ आउँदै गरेको डिएल १३ सि १५६१ नम्बरको कारलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त कारबाट लागुऔषध बरामद भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठराहा सुगौलीका २० वर्षीय राजन राउत कुर्मीलाइ १०१ किलो गाँजासहित पक्राउ गरिएको छ । पक्राउ परेका मध्ये दुई जना भारतीय रहेको उनले जानकारी दिए । भारतको हरियाणाका २५ वर्षीय कुनाल गोथ्वाल र २० वर्षीय मनिस कुमार रहेको उनले बताए ।
थाहा नगरपालिका–११ टिस्टुङ नौखण्डेको त्रिभुवन राजपथ सडकखण्डमा चरेस २१ किलो ४६० ग्राम र अफिम ३ किलो ४७० ग्रामसहित दुई जना भारतीय नागरिक पनि पक्राउ गरेको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए । डिएल ८ सिएक्स १२२४ नम्बरको कारमा लुकाएर चरेस र अफिम ल्याइरहेको अवस्थामा उनिहरु पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका तीनै जनालाई सार्वजनिक गर्दै लागूऔषध नियन्त्रण सम्बन्धी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।