- नन्दलाल खरेल
मुलुक एकातिर कोरोना भाइरससँग जुघिरहेको छ भने अर्कोतिर सत्ता राजनीतिको घातक भाइरसबाट पीडित जनतालाई सुरक्षित राख्ने र भोकमरी हुन नदिने कार्य अहिले ओझेलमा परेको छ । लकडाउन एकतर्फि रुपमा जनतालाई लागेको छ, सरकारका लागि होइन । पीडामा रहेका आम जनताले आफ्ना पिरमार्कालाई वेवास्ता गरेर सत्ता केन्द्रित स्वार्थमा रमाउने गतिविधि पक्कै पनि सजिलै भूल्ने छैनन् । अबको निर्वाचनमा ती दल तथा नेताहरु आफ्ना घर आगनमा आउँदा अहिले पाएको पीडाको प्रतिषोध देखाउने छन् । आम जनताले महामारीको यो लकडाउनको अवधिमा संक्रमितको पहिचान र परीक्षण तथा उपचारमा जोड दिनु पर्नेमा सरकारको ध्यान अन्य राजनीतिक दल फुटाउने र आफ्नै समयकालिन प्रतिस्पर्धीलाई उठ्नै नसक्ने गरी दमन गर्ने जुन हर्कत सत्ता नेतृत्वबाट भयो त्यो अत्यन्त निन्दनीय थियो । लकडाउनको वेला रातारात महोत्तरीबाट सांसद उठाएर पार्टी फुटाउन ल्याएको विषयले त विगतको सांसद–खरिद विक्रीको अापराधिक घटनाको पुनरावृत्ति भएको छ ।
‘लाटो देशमा गाँडो तन्नेरी' भनेझै संमृद्धिरुपी जहाज नेपाली मतदाताले दुई विपरीत ध्रुवका पाइलटहरुलाई उडान भर्ने जिम्म दिएका थिए । तर उनीहरुले यो समृद्धिको उडानलाई गन्तब्यमा नपुर्याई फोर्स ल्याण्डिङ अर्थात जबर्जस्त अवतरण गराएका छन् । आम जनतालाई थाहै छ , यो समृद्धिको उडानका प्रथम पाइलट शान्तिपूर्ण प्रतिस्पर्धाबाट संसदीय प्रणालीलाई उपयोग गर्न भनी उपभोगमा चुर्लुम्म डुबेका दोस्रो पटक प्रधानमन्त्रीको कुर्सिमा आसिन छन् भने दोस्रो पाइलट सामान्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पुरा गर्ने र त्यसको लगतै समाजवादी क्रान्तिमा अघि वढ्ने तथा सर्वहाराको अधिनायककत्व अन्तर्गत क्रान्ति जारी राख्ने सिद्धान्तका आधारमा सॉस्कृतिक क्रान्तिलाई चलाउँदै मानव जातिकै स्वर्णिम भविष्य साम्यवाद स्थापनासम्म जाने उद्देश्यमा होमिएका जनयुद्धका नायक क्रान्तिलाई धोका दिई दलाल पुँजीवादी संसदीय व्यवस्थालाई मजबुत बनाई आफु सत्तामा जाने र त्यसको पटक पटक स्वाद लिने प्रचण्ड छन् । आज यिनै दुई पाइलटले आफ्नो सत्ता स्र्वाथको कारण मुलुकलाई गनतव्य तर्फ नपुर्याई गलत दिशा तर्फ पुर्याएका छन् ।
समृद्ध नेपाल, सुखी नेपालीको नारा वारम्बार लगाइरहने प्रधानमन्त्रीले लकडाउनको अँध्यारो छायाँमा अरुको पार्टी तोडफोड गर्ने षडयन्त्र किन गर्नु पर्यो ? के दुइतिहाई नजिकको वहुमतले पनि सरकारलाई कुनै काम गर्न अवरोध गरेको थियो ? कि कतै अर्को पार्टी फुटाएर दुई तिहाई वहुमतको सरकार पुर्याएर कतै प्रधानमन्त्रीले डरलाग्दा खेलहरु खेल्न खोजीरहेका थिएनन् ? यी सबै प्रश्नको उत्तर खोज्ने वेला आएको छ ।
सतारुढ नेकपा भित्र अहिले मुख्य तथा दुईवटा शक्ति केन्द्रहरु छन् - एउटा वालुवाटार र अर्को खुमलटार । भनीरहनु नपर्ला, बालुवाटारको सिंह ओली छन भने खुमलटारको अर्को सिंह प्रचण्ड छन् । यी हुँवै सिंहको पछाडि अन्य नेता तथा सम्पूर्ण कार्यकर्ताहरु दौडिरहेका छन् , आ–आफ्नो स्वार्थ पालेर । यी दुवै सिंहहरुले वेग्ला वेग्लै दम्भ पालेर बसेका छन् । ओलीमा आफु प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि भएकोले जतिसुकै वेला निर्णय गर्न पाउनु पर्ने दम्भ छ । प्रचण्डलाई भने आफु कार्यकारी अध्यक्षले आफ्नो कुर्सीसमेत अक्षांश र देशान्तर मापन गरेर राखिनु पर्ने दम्भ छ । पार्टीको निर्देशनमा सरकार चलोस भन्ने उनको चाहाना छ । हुनत विश्वमै कम्युनिष्ट पार्टी तथा संसदिय व्यवस्था भएको मुलुकमा पार्टीको निर्देशनमै सरकार चल्ने हो । तर यहाँ भागभण्डा मिलाउने हेतुले दुई अध्यक्ष प्रणालीको पद्धति विकास भएकोले यो समस्या निम्तन गएको हो ।
मुलुकले कोरोना भाइरसको सामना गरिरहेको वेला सरकारले दल विभाजन सम्वन्धि आध्यादेश र संवैधानिक परिषद्सम्वन्धि अध्यादेश ल्याएर नितान्न्त बेमौसमी बाजा बजाउने धृष्टता गरेको थियो । आज मुलुकलाई एकता र जनतालाई सरकारको प्रत्याभूति चाहिएको वेला राजनीतिक दाउपेचमा जानु देश र जनताको लागि ठूलो ग़द्दारी हो । जनतालाई सडकमा सुताएर भोकमोकै राखेर तिनै जनताको मतपाएर तिनकै पेट माथि लात्ती बजार्नु गम्भीर भूल मात्र होइन भयङ्कर अपराध हो । यसको मूल्य शासकहरुले ढिलोचाँढो एकदिन चुकाउनै पर्छ ।
लोकतन्त्रका लागि संघर्षका चरणमा सबै नागरिकले राजतन्त्र र निरंकुशतालाई पर्यायवाची शब्दका रुपमा बुझ्थे । त्यो वेलाको कालखण्ड थियो पनि त्यस्तै । लाग्दथ्यो, हामीलाई यो समाप्ति पछि निरंकुशतासँग लड्ने दिन समाप्त हुनेछ । तर त्यस्तो ठान्नु अकल्पनीय सत्य सावित भएको छ । मताधिकारको उपयोगबाट जनताले अनुमोदन गरेको लोकतन्त्रको नायवी अधिाकार लिएर वर्तमान शासकहरु निरंकुशताको निर्वस्त्र रुप धारण गर्न उद्यत देखिन्छन् । त्यतिमात्र होइन पार्टी भित्रको कचिंगलले उ आफै संक्रमित भइसकेको भान हुन्छ । नेतृत्व लिनेले आफ्नो असक्षमतालाई लुकाउदै मैले त राम्रोसँग काम गरिरहेको थिएँ तर नेपालका सबै भिडियाले गलत समाचार समेटेको छ भनि बारम्बार आरोप लगाउन कदापि मिल्दैन ।
सरकार यतिवेला भाइरस नियन्त्रण गर्दै लकडाउनका कारण अर्थतन्त्रमा लागेको रोगको उपचार कसरी गर्ने र विपन्न वर्गलाई कसरी मद्दत गर्ने भनेर योजना सार्वजनिक गर्न जुट्नु पर्ने हो । तर उ सत्ता राजनीतिको भाइरसले संक्रमित छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आएको प्रधानमन्त्रीको पछिल्लो वक्तव्यपनि त्यसैको श्रृंखलाको कडीको रुपमा देखिएको छ । वक्तव्यमा उनले अप्ठेरो परिस्थितिको मौका छोपेर अस्थिरता मच्चाउन खोजेको आरोप मात्र लगाएका छैनन् त्यस्तो गलत उद्देश्यका साथ भइरहेको प्रयासलाई किमार्थ सफल हुन नदिइने भन्दै धम्कीपूर्ण भाषासमेत प्रयोग गरेका छन । उनले थप यो पनि भनेका छन्, ‘आफ्ना स–सत्ता स्वार्थ वा कुनै गलत उदेश्यका साथ कसैले यस परिस्थितिलाई विथोल्न र विगार्न खोज्छभने सरकार , नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो कीमार्थ स्वीकार्य हुँदैन । यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्ने मा म सबैलाई आश्वस्त पार्न चाहान्छु ।’ यसरी सरकारका कार्यकारी प्रमुख कुनै डनको शैलिमा झै धम्कीपूर्ण भाषा आउनु कतै सरकार निरंकुशता तर्फ गइरहेको छैन ? प्रत्येक नागरिकले शान्त दिमागले सोच्ने वेला आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies