२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कक्षा १० पछि के पढ्ने ?

ADV
२०८१ असार १२ गते ०६:२५
कक्षा १० पछि के पढ्ने ?

–अमृतबाबु भट्ट

एसइई परीक्षामा २०८० सालमा सामेल विद्यार्थीहरू अहिले कक्षा ११ को भर्नाका लागि आफूलाई पायक पर्ने सानादेखि ठूला सहर र केन्द्रमा परामर्श लिन दौडधुप गरिरहेका छन् । विद्यार्थीका अभिभावकहरू आफ्नो नानीबाबुको पढाइ र सुन्दर भविष्यका लागि आवश्यक खर्चको जोहो गर्ने र परामर्श लिने क्रममा छन् । अबको ५० हजार विद्यार्थी एसइई पास गरेर ११ कक्षामा भर्ना हुनेछन् । यस क्रममा कक्षा ११ मा के पढ्नु उपयुक्त होला ? भनी अविभावकहरूले जिज्ञासा बढ्न थालेको छ । 

हरेक बालबालिका १० कक्षासम्मको पढाइ पूरा गर्ने क्रममा उसको लगाव प्राकृतिक विज्ञान वा सामाजिक विज्ञानमध्ये एकातिर अलि बढी भएको कुरा उसको शिक्षक, अभिभावक वा ऊ आफैँले पहिचान गरेको हुनुपर्छ । प्रकृति विज्ञानअन्तर्गत भौतिकशास्त्र, रसायनशास्त्र, जीव विज्ञान आदि पर्छन् । यसले एउटा तथ्यलाई संसारभरि त्यही तथ्यका रूपमा स्वीकार्छ । जस्तो दुई भाग हाइड्रोजन र एक भाग अक्सिजन मिसाउँदा त्यो नेपालमा भए पनि अमेरिकामा भए पनि पानी नै बन्छ, त्यो चाहिँ प्राकृतिक विज्ञान हो । समाज विज्ञानमा लेखा, अर्थशास्त्र, वाणिज्य शिक्षा आदि पर्दछन् । समाज विज्ञानले तथ्यलाई समयसापेक्ष बुझ्न सिकाउँछ । जस्तो नेपालको गरिबीका कारण अमेरिकाको गरिबीको कारणसँग मेल खाँदैन । त्यसैले समाज विज्ञान पढ्न पढाइसँग नेतृत्व गर्ने, व्यवस्थापन गर्ने आदि सीप विकास गर्दै लानुपर्ने हुन्छ ।

यस क्रममा विद्यार्थी कक्षा ९ र १० तिर पढिरहँदा उसले दिने सृजनात्मक उत्तर, उसले बनाउने परियोजना कार्य, कक्षाको छलफल वा उसले प्रयोग गर्ने ग्याजेटस आदिबाट थाहा पाउन पनि सकिन्छ । यदि बालबालिकाहरू बढी जागरुक छ भने उसले कोरेको आफ्नो भविष्यको योजनाले समेत यसको जानकारी दिन्छ । खासगरी प्राविधिक स्वभावको बालबालिकाले प्राकृतिक विज्ञान, सामाजिक सीप जस्तैः नेतृत्व लिन चाहने, भाषाशैलीमा महत्व दिने, व्यवस्थापकीय सीपमा चाख राख्ने बच्चाहरूले समाज विज्ञान पढेको राम्रो हुन्छ । विशेष सीप जस्तैः सङ्गीत, हस्तकला, चित्रकला आदितिर झुकाव भएकाहरूले त्यसैअनुसारको विषय छनोट गर्न उपयुक्त हुन्छ । यी विषय छान्नुपूर्व विद्यार्थीहरूले पहिले आफ्नो जीवन खुसी हुने आदर्श पेसा कुन हो र केही गरी त्यो भएन भने दोस्रो छनोट के हो भनेर निर्धारित गर्नुपर्ने हुन्छ । त्यसका लागि १५, १६ वर्षको उमेरमा विद्यार्थीहरू पढेलेखेका अभिभावक र आफन्तहरू तथा मित्रहरूले सहयोग गुर्नपर्छ । त्यसैले कुनै पनि विद्यार्थीले आफ्नो विषय छनोट गर्दा विषयको गम्भीरता र त्यसले दिने रोजगारी आफूलाई मिल्दो, सुहाउँदो र इच्छाएको हुन्छ कि हुँदैन भन्ने विषयमा राम्ररी परिकल्पना गरेर निश्चित गर्नु उपयुक्त हुन्छ । 

धेरै नम्बर पाएका विद्यार्थीहरू प्राकृतिक विज्ञान पढ्ने, मेडिकल, इन्जिनियरिङ आदि गर्नुपर्ने भन्ने मान्यता राख्नु हुँदैन । कुनै पनि पेसा आफैँमा ठूलो सानो छैन । कुन तहको काममा सम्बन्ध छ भन्ने कुराले सन्तुष्टिको तहलाई फरक पार्दछ । अनावश्यक रूपमा बालबालिकालाई दसैँका टीका लगाउँदादेखि यस्तो बनोस्, उस्तो गरोस् भनेर सुनाउन आफैंमा घुमाउरो पाराले अभिभावकको इच्छालाई विद्यार्थीको भविष्यमा मुखरित गरिएको हो । यो आफैंमा घातक छ । कुनै पनि विद्यार्थीलाई सानो उमेरमै विज्ञान पढ्ने होला तिमीले, उसले–उसले यो पढेर यसो गर्‍यो आदि कुरा गर्नु हँुदैन । किनकि त्यस्तो गर्दा विद्यार्थीको वास्तविक क्षमता भएको क्षेत्र पहिचान नै गर्न सक्दैन । 

खासगरी विकसित देशहरूमा शिक्षा दिने तरिका ज्यादै फरक छ । उनीहरू अन्डर ग्राजुयट तहसम्म विद्यार्थीलाई सामान्य र धेरै विषय पढाउँछन्, दर्शनशास्त्रलाई धेरै महत्व दिन्छन् । विषय छनोटमा व्यापक लचकता दिन्छन् । त्यसैले हाम्रो पाठ्यक्रम उनीहरूको भन्दा नितान्त फरक हो । विदेश जानलाई कक्षा ११ को यो वा त्यो विषयले तात्विक फरक पार्दैन । कति अभिभावकहरू परामर्शमा आउँदा घुमाउरो हिसाबले आफ्नो बालबालिकाले डाक्टर, इन्जिनियर पढोस् भन्ने चाहन्छन् । यसको कारण सोध्दा उनीहरूको आफ्नो स्वार्थ देखिन्छ । कतै न कतै डाक्टरको इन्जिनियरको मामा, काका, आमाबुबा हुने स्वार्थ त्यसमा देखिनु सही हुँदैन किनकि कोही पनि विद्यार्थीले अभिभावकको स्वार्थलाई त्यति महत्व दिएको पाइँदैन । कतिपय अभिभावकहरू सबैभन्दा राम्रो विषय के हो ? भनी सोध्छन्, यसको उत्तर के हुन सक्छ ? विषयहरू गुणात्मक रूपमा प्रस्तुत गर्न मिल्दैन, सानो ठूलो विषय भन्ने हुँदै हुँदैन । कुनै विषयलाई कुन तहसम्म अध्ययन गरियो र कस्तो जनशक्ति तयार भयो  भन्ने कुरा नै प्रमुख हुन्छ । 

एउटा विद्यार्थीले कक्षा ११ मा अध्ययनका लागि विषय छनोट र स्कुल छनोट गर्ने कुरा उसको जीवनमा एक पटक मात्र आउने र उसको जीवनपर्यन्त महत्व राख्ने विषय भएकाले हामी अभिभावक र आफन्तहरूले उसको यो महत्वपूर्ण घडीमा अत्यन्तै सजग र जिम्मेवार हुनुपर्छ । यस कार्यमा अभिभावकले आफ्ना नानीबाबुलाई समय र साथ दिएर विषय छनोट गराउनु उपयुक्त हुन्छ । यस कार्यमा बौद्धिक र व्यावसायिक परामर्शदातासँग सल्लाह र सुझाव लिँदै विद्यार्थीको रुचिको विषय, उसको स्वभाव र बानी व्यवहारलाई समेत उपयुक्त हुनेमा ध्यान दिनुपर्छ । यस क्रममा पहिलो कुरा विद्यार्थीले भविष्यमा अपनाउन चाहेको पेसाको छनोट, दोस्रो कुरा उक्त पेसालाई चाहिने विषय छनोट र तेस्रो कुरा छानिएको विषयलाई राम्रो वातावरणमा उपयुक्त सेवा पुर्‍याउन सक्ने संस्थाको छनोट गर्नु उपयुक्त हुन्छ । यसरी विषय र संस्थाको छनोट गरे विद्यार्थीको अध्ययन सही मार्गमा प्रवेश गरेसँगै उसको भविष्यको पेसागत गन्तव्य सहज बन्छ र अभिभावकको लगानीको सदुपयोग हुन गई उनीहरूको मनोकांक्षा पनि पूर्ण हुन्छ । 

(लेखक, काठमाडौं बर्नहार्ट स्कूल/कलेजका प्रिन्सिपल हुन् ।)

ADVADV

सम्बन्धित खबर

Advertise