२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

स्थानीय सरकारको अलमल

ADV
२०८१ असार १२ गते ०६:३५
स्थानीय सरकारको अलमल

यसपटक पनि ५० भन्दा बढी स्थानीय तहले समयमा बजेट ल्याउन सकेनन् । सरकारी अधिकारीहरुका अनुसार, ३१ गाउँपालिका र १९ नगरपालिकाले १० असारभित्र बजेट ल्याउन नसकेका हुन् । बजेट आउन नसक्नुको प्रमुख कारण जनप्रतिनिधिहरुबीच मतभेद हुनु हो । फरक–फरक दलबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले अडान लिदा समयमा बजेट आउन नसकेको हो । कतिपय पालिकामा मेयर नै अल्पमतमा छन् भने कतिपयमा मेयर र उपमेयर अल्पमतमा छन् । कार्यपालिकामा प्रमुख र उपप्रमुख अल्पमतमा पर्दा समयमा बजेट आउन नसकेको हो । जनप्रतिनिधिहरुबीच मतभेद हुनु, कार्यकारी प्रमुख र जनप्रतिनिधिबीच समस्या देखिनु लगायत कारणले यसअघि पनि कयौं पालिकाले समयमा बजेट ल्याउन सकेका थिएनन् । समयमा बजेट नआउँदा कर्मचारीको तलबभत्ता, कार्यालय सञ्चालन जस्ता आधारभूत कामहरु समेत प्रभावित हुने गरेको छ । 

समयमा बजेट नआउँदा विकास निर्माण कार्यमा ढिलासुस्ती देखिनु स्वभाविक हो । किनकि आर्थिक वर्ष सुरु भइसकेपछि बजेट परियोजना कार्यान्वयनमा स्वतः ढिलाइ हुन जान्छ । सुशासनको एजेण्डा चौपट हुन पुग्छ । किनकि आर्थिक अनुशासनको पालना गरेर बजेट आउन नसक्नुको असर अरुतिर पनि पर्न जान्छ । तलब भत्ता नपाएका कर्मचारीबाट पारदर्शी कार्य सम्पादनको आशा गर्ने नैतिक हिम्मत जनप्रतिनिधिसँग रहँदैन । मेयर तथा अध्यक्षले समयमा बजेट नल्याउने अनि विकास निर्माण, सुशासन र सिर्जनात्मक कार्यसम्पादनको अपेक्षा राख्न सक्दैनन् । अर्थात् बजेट समयमा नल्याउनुको सर्वाङ्गीन असर पर्छ । यस्तो तथ्य जनप्रतिनिधिले नबुझेका भने होइनन् । 

तर २०७२ को संविधान बमोजिम २०७४ देखि कार्यान्वयनमा आएको स्थानीय सरकारहरुको बजेट निर्माणमा बर्षेनि विलम्ब हुँदै आएको छ । कतिपय स्थानीय तहले आर्थिक वर्षको पहिलो चौथाईं सकिदा बल्ल बजेट ल्याउने गरेको विगतका उदाहरण देखिन्छ । जबकी स्थानीय सरकारले समयमा बजेट ल्याउने, सुशासन कायम गर्ने र विकास निर्माणलाई गति दिएर संघीयताको औचित्य पुष्टि गर्नुपर्ने चुनौती छ । किनकि संविधान बमोजिम जनताको आँगनमै पुगेको सरकारप्रति बितृष्णा जगाउने ठूलै पंक्ति सक्रिय छन् । उनीहरुले लगातार वर्तमान व्यवस्था असफल भएको प्रचार गरिरहेका छन् । कतिपयले संविधान बन्नुअघि नै संघीयताको विरोध गर्थे । अहिले तिनै पंक्तिलाई बल पुग्नेगरी बजेट निर्माणमा अनावश्यक किचलो भइरहेको छ । त्यसैले सुशासन र विकासको अनुभूति जनतालाई दिन पनि समयमै बजेट ल्याउने अनि कार्यान्वयनमा जोड दिइनु आवश्यक छ । 

ADVADV

सम्बन्धित खबर

Advertise