त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव आगामी ५ चैतमा गर्ने सहमति भएको छ । विद्यार्थी कल्याण परिषद्को बैठकले स्ववियु चुनावको नयाँ मितिबारे सहमति जुटाएको हो । त्रिवि शैक्षिक क्यालेण्डर बमोजिम भने १५ फागुनमा चुनाव गराउनुपर्ने थियो । तर, हाल कायम स्ववियुको दुई वर्षे कार्यकाल आगामी ५ चैतमा मात्र सकिने भएकाले शैक्षिक क्यालेण्डरको प्रस्तावित मिति फेर्ने सहमति जुटेको हो । सहमति बमोजिम चुनाव हुँदा देशभरका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसले स्ववियुमा नयाँ नेतृत्व पाउनेछन् । तर, निकट पृष्ठभूमिलाई हेर्दा निर्धारित मितिमै चुनाव हुनेमा ढुक्क हुन सकिँदैन । किनकि स्ववियु चुनाव प्रायःजसो नियमित हुन सकेको छैन ।
गणतन्त्र स्थापनापछि पनि स्ववियु चुनाव नियमित छैन । २०६५ सालपछि एकैपटक २०७३ सालमा स्ववियु चुनाव भयो । यसपछि २०७९ सालमा स्ववियु चुनाव भयो । अर्थात् आम चुनाव जति पनि स्ववियु चुनाव हुन सकेको छैन । बितेको २० वर्षमा चारपटक आमचुनाव भएको छ । पाँच वर्षमा हुने चुनाव चारपटक भइसक्दा दुई वर्षमा हुनुपर्ने स्ववियु चुनाव तीन पटक मात्र भएको छ । तर त्यो पनि सबै क्याम्पसमा चुनाव हुन सकेको छैन । स्ववियु चुनाव नियमित नहुनुको मूल कारण राजनीतिक दलहरुको स्वार्थ हाबी हुनु हो । आफूले नजित्ने अवस्था हुँदा दलहरू चुनावबाट भाग्ने गरेका छन् ।
जबकि स्ववियु चुनाव नियमित हुनु मुलुककै हितमा अत्यावश्यक जस्तो बनिसकेको छ । अझ २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली अपनाइएकाले स्ववियु चुनाव गर्नु सरकारको समेत मूल दायित्व हो । जसरी देश बाहिर युवाहरुले भविष्य देखिरहेका छन्, उनीहरुलाई रोक्न पनि यो स्ववियु चुनावले सहयोग पुग्छ । राजनीति रोज्ने संख्या बढ्नु आफैँमा समाधान होइन । तर, युवाहरुले क्याम्पसमा नेतृत्व गरिरहँदा त्यसको असर समाजमा पर्नेछ । सरकारलाई जवाफदेही बनाउन, सामाजिक न्याय र सुशासन जस्ता विषय उठाउने कार्यमा पनि युवाहरूलाई स्ववियु चुनावले जोड्न सक्छ । क्याम्पसमा हुने ब्यापक विमर्शको लाभ मुलुकको अर्थतन्त्र र सामाजिक परिवर्तनका निम्ति हुन सक्छ । तर, स्ववियु चुनाव नियमित नहुने र भएकै चुनावबाट आउने नेतृत्व पनि प्रभावकारी नबन्नुको कारण दलगत स्वार्थ रहेको आम निष्कर्ष छ । त्यसैले कमजोरी सच्याएर स्ववियुको संस्कृतिलाई मजबुत बनाउने प्रतिबद्धता राजनीतिक नेतृत्वबाट आउनुपर्छ ।