पोखरा : नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले पोखरा महानगरमा लगाएको ताला खोल्न सहमत भएका छन् । गणपूरक संख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगरसभा स्थगित गरेको भन्दै उनीहरुले आचार्यसहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए ।
नगरसभा एमालेले बहिष्कार गरेपछि स्थगित गरिएको हो । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहितको उपस्थितिमा भएको बैठकबाट ३ बुँदामा सहमति गरेर ताला खोलिएको पोखरा–४ का सदस्य प्रकाश कोइरालाले जानकारी दिए ।
उनका अनुसार चालू नगरसभा शुक्रबार दिनको १ बजे बस्ने सहमति भएको छ । यस्तै, सबै वडा कार्यालय, महाशाखा, शाखा लगायत खर्च केन्द्रहरूका शीर्षकान्तर र रकमान्तर हुन नसकेकोले आवश्यक निर्णय गर्ने सहमति भएको छ ।
रकमान्तर नहुँदा पोखराको पूर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प भएको गुनासो जनप्रतिनिधिहरूको छ । यसबाहेक पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूबिच २३ मंसिर २०८१ म बसेको विशेष नगरसभा मार्फत पारित ७ बुँदे सहमति अक्षरशः पालना गर्ने र समग्र महानगरको सुशासन र समृद्धिका लागि एकजुट भएर काम गर्ने सहमति भएको कोइरालाले बताए ।