काठमाडौं : निजामती सेवासम्बन्धी विधेयकमाथि दफावार छलफल सुरु भएको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बिहीबार संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल सुरु भएको हो । छलफलका क्रममा विधेयकको प्रस्तावना नै संशोधन गर्ने सहमति भएको छ ।
विधेयकको प्रस्तावनामा संशोधन गरी ‘पारदर्शी, समावेशी, जनउत्तरदायी र प्रविधिमैत्री’ भन्ने शब्द थप गर्ने सहमति भएको छ । विधेयकको प्रस्तावनामा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी, व्यावसायिक, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री र समावेशी बनाउँदै सुशासनयुक्त संयन्त्रको विकास गर्न वाञ्छनीय भएकोले’ लेखिएको छ ।
त्यस्तै छलफलका क्रममा विधेयकको संक्षिप्त नाम रहेको दफा १, संघीय निजामती सेवासम्बन्धी केन्द्रीय निकाय हुने भन्ने व्यवस्था रहेको दफा ३ र संघीय निजामती सेवा सञ्चालनका आधारभूत सिद्धान्त व्याख्या गर्ने दफा ४ मा पनि सहमति भएको छ ।
विधेयकलाई संसदको आगामी बैठकमा प्रस्तुत गर्ने गरि तीव्र रुपमा छलफल गरि पारित गर्ने समितिको तयारी छ । कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न सरकारको उक्त विधेयक ल्याएको हो ।