काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले खानेपानी समस्याका विषयमा नाटक गरेको आरोप लगाएका छन् ।
मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले त्यसरी नाटक गरेर खानेपानीको समस्या समाधान नहुने बताए । ‘धरानका जनतालाई आफैँ पानी खुवाउँछु भन्दै मेयर साम्पाङले बहादुरी देखाएर खानेपानी संस्थानलाई ध्वस्त पार्ने काम गर्नुभएको छ,’ मन्त्री यादवले भने, ‘यस्ता नाटक गर्नुभन्दा गम्भीर भएर काममा लाग्नु जरुरी छ ।’
मन्त्री यादवले धरानको जनतालाई पानी दिने दायित्व सरकारको भएको पनि बताए । यस विषयमा संघीय सरकारले काम अघि बढाउन लागेको पनि उनले बताए ।
केही दिनअघि धरानको खानेपानी आयोजना निर्माणका लागि बजेट माग्दै मेयर साम्पाङ थोत्रो गाग्री बोकेर काठमाडौं आएका थिए । सोही गाग्री बोकेर उनी मन्त्री यादवसँग भेट्न सिंहदरबार प्रस्थान जान खोजेका थिए । तर, सिंहदरबारको गेटमा प्रहरीले गाग्री भित्र लैजान नदिएर खोसेको थियो ।