२०८१ माघ १२ गते शनिवार / Jan 25 , 2025 , Saturday
२०८१ माघ १२ गते शनिवार
Ads

प्रधानमन्त्रीद्वारा बगनासकालीको प्रशासकीय भवन उद्घाटन

hardik ivf
मध्यान्ह
२०८१ माघ ११ गते १६:११
प्रधानमन्त्रीद्वारा बगनासकालीको प्रशासकीय भवन उद्घाटन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार ‘भर्चुअल’ रूपमा उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओली कार्यक्रम स्थलमै पुगेर उद्घाटन गर्ने कार्यक्रम रहे पनि उनको स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित भवन उद्घाटन गरेका हुन् । 

उनले उर्वर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्ष रूपमा उपस्थित हुन असमर्थ भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाई र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे । उनले पाल्पा एक ऐतिहासिक र रमणीय जिल्ला भएकाले यस प्रकारको छविलाई यहाँका जनताले कायमै राख्ने विश्वास व्यक्त गर्दै आफूहरूले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरूकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।

खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने प्रधानमन्त्री ओलीले अपेक्षा गरे । 

प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरूले चलाएको हल्लाको पछि नलाग्न आग्रह गरे । एमाले र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्ने उनले स्पष्ट पारे ।

केही व्यक्तिले विकासका कामलाई सुन्न नचाहेर विकास विरोधी कुरा गरिरहे पनि त्यस्ता कुराको अर्थ नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
 

ADVADV

सम्बन्धित खबर

Advertise