ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गरिरहेका समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । विवाद हुँदा स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मीले ४ राउण्ड टियर ग्यास प्रहार गरेका छन् । घटनामा ३ जना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार घरेलु हतियारसहित समूहले केवलकार निर्माणको विरोध गर्दै आक्रामक गतिविधि गरेपछि सुरक्षाकर्मीले नियन्त्रणका लागि हस्तक्षेप गरेका थिए ।
घाइते हुनेहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक सोमदेव यादव, सहायक हवल्दार टीकाराम खवास र जवान सञ्जीव बस्नेत छन् । प्रमुख जिल्ला अधिकारी शर्माले घरेलु हतियारसहित बलुडाँडा क्षेत्रमा भेला भएका समूहलाई नियन्त्रणमा लिने प्रयास गर्दा स्थिति तनावपूर्ण बनेको र त्यसै क्रममा टियर ग्यास प्रहार गर्नु परेको बताए । ‘युद्धको मानसिकतासहित घरेलु हतियार र लठ्ठी लिएर आएका समूहलाई नियन्त्रण गर्ने क्रममा यस्तो अवस्था आयो,’ शर्माले भने ।
केबलकारको विरोध गर्दै आएको पहिचानवादी समूहले प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रमुख जिल्ला अधिकारीमाथि ज्यान मार्ने धम्की दिएका थिए ।
पहिचान पक्षधर बताउने प्रतीक मादेनलगायतको समूहले आफूलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । यसअघि कात्तिकमा पनि केबलकार निर्माणको विषयलाई लिएर झडप भएको थियो।