मलेसिया : मलेसियाले अवैधानिकरुपमा बसेका बिदेशीहरुको धरपकडलाई तिव्रता दिएको छ । धरपकडमा नेपालीहरु पनि परिरहेका छन् ।यसक्रममा मलेसियामा पछिल्लो पटकको धरपकडमा १६ नेपाली पक्राउ परेका छन् । मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको बुकित बिन्ताङमा अवस्थित जालान अलोर वरपर गत हप्ता गरेको धरपकडमा नेपालीसहित १७६ जना अवैधानिक विदेशी कामदार पक्राउ परेको जनाएको छ ।
मलेसियन प्रहरीले जनस्तरबाट आएको सार्वजनिक गुनासो र गुप्तचरको आधारमा जालान आलोरमा गरिएको छापामारीको क्रममा अवैधानिक हैसियतमा रहेका १६ जना नेपालीसहित ७१ जना बंगलादेशी, ६० जना म्यानमारका, २४ इन्डोनेसियाली, ३ जना पाकिस्तानी तथा १–१ जना इजिप्सियन र सुडानी पक्राउ परेको जनाएको छ ।
पक्राउ परेका अवैधानिक हैसियतका आप्रवासी कामदारविरुद्ध अध्यागमन ऐन र नियमावलीबमोजिम अनुसन्धान र कारबाही हुने बताइएको छ । मलेसियामा अध्यागमनद्वारा पक्राउ परेमा कम्तीमा पनि ३ महिना जेल सजाय र १० हजार जरिमाना अथवा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान छ । मलेसियाले पछिल्लो समय अध्यागमन कानुन उलंघन गरेका विदेशीहरुविरुद्ध धरपकडको कार्य तीव्र पार्ने बताएको छ ।
मलेसियाले अवैधानिकरूपमा बसेका आप्रवासी कामदारसहित अन्यलाई उनीहरूको मुलुकमा फर्काउन सन् २०२३ जुन महिनाको २७ तारिकदेखि सन् २०२४ को जुन ३० तारिकसम्म ‘रिक्यालिब्रेसन २.०’ कार्यक्रम संचालन गरेको थियो । सो अवधि समाप्त भइसकेपछि भविष्यमा पनि ‘रिक्यालिब्रेसन ३.०’ कार्यक्रम संचालन हुने सामाजिक संजालमा व्यापकरूपमा प्रचारप्रसार भएपछि मलेसियाका अध्यागमनले केही दिनअघि ‘रिक्यालिब्रेसन ३.०’ कार्यक्रम संचालन नहुने भन्दै भ्रममा नपर्न र ठगीबाट बच्न अनुरोध गरेको थियो ।
मलेसियाले अवैधानिक अवस्थामा लुकिछिपी रहेका विदेशी कामदार सफाइ गरेपछि नयाँ कामदारको एप्रुभल खोल्ने धेरैजसोको आंकलन रहेकोे छ । हाल साना तथा मझौला उद्योग र पाम आयल क्षेत्रमा विदेशी कामदारको अभाव चर्किएको त्यहाँका सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । २०२३ को मार्च ३१ तारिकदेखि विदेशी कामदारको एप्रुभल रोकेको मलेसियाले विदेशी कामदारका सम्बन्धमा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात् मार्चमा निर्णय गर्ने बताएको छ ।
मलेसियाले यसअघिको जस्तो विदेशी कामदारको सट्टामा स्वदेशी जनशक्ति र अटोमेसन प्रविधि अर्थात् यान्त्रिकीकरणलाई जोड दिने बताएको छ । त्यसले विदेशी कामदारको संख्या घटाउने अनुमान गरिएको छ ।