२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

असारे गीत र नेपाली समाज

ADV
२०८१ असार १३ गते ०६:२५
असारे गीत र नेपाली समाज

–राममणि सिटौला

असारै खाउँला दुधिला मकै 
साउनै खाउँला खिर 
घरमा छैन शीतलु वचन 
मनमा छैन स्थिर

जब असारको आगमन हुन्छ, सर्वत्र असारे लोकगीत गुञ्जिन थाल्छ । यस्ता लोकगीत समाजको आत्माको उज्ज्वल प्रतिबिम्ब हो । यसमा मानव जीवनको जन्मदेखि मृत्युसम्मका संस्कार जोडिएका हुन्छन् । कुनै पनि देशको लोकगाथा, लोकगीत त्यो देशको सभ्यता, संस्कृति, लोकमानसको भावना, राग, द्वेष, हर्ष, विस्मात् आदिको साझा दर्पण हो ।

जबदेखि मानिसहरू समूहमा बस्न थाले, तबदेखि तिनमा चेतनाको विकास भयो र मनका भावना व्यक्त गर्न लोकगीत जन्मिए । लोकगीत वा गाथा आमजनजीवनको भावनाको उन्मुक्त स्थिति हो, जसमा अधिक मौलिकता भेटिन्छ । समाजमा शोषक र शोषित दुवै वर्गका आ–आफ्नै भाषा छ । शिक्षाको पहुँच पुगेका शोषक वर्गले शास्त्रीय साहित्यमार्फत आफ्ना अभिव्यक्ति उजागर गर्छ । जुन वर्ग निरक्षर छ, शिक्षाको अवसरबाट वञ्चित छ र थिचोमिचोमा परेको छ, त्यसका अभिव्यक्ति लोकगीत बनेर उजागर भएका छन् । लोकसाहित्यमा ती समस्त बोली र भाषागत अभिव्यक्ति हुन्छन्, जसमा आदिम संस्कृतिको अवशेष हुन्छ ।

सहज अभिव्यक्ति क्षमता र संक्षेपीकरणका कारण लोकसाहित्यले सधैँ शास्त्रीय साहित्यलाई टक्कर दिइरहेको हुन्छ । प्रायः शास्त्रीय साहित्य सत्ता, वैभव, शक्तिसम्पन्न वर्गीय व्यवस्थाका पक्षधरद्वारा पालितपोषित हुन्छ भने लोकसाहित्य आमजनताका जीवन जिउँदा भोगेको सङ्घर्ष, अनुभव, उहोपोह, आरोहअवरोह सहज र सरलताले परिपूर्ण हुन्छ । लोकगीत प्रकृतिको सुरम्य वातावरणमा रचिएको हुन्छ । यसमा जीवनको यथार्थ हुन्छ, सादगी र सादापन हुन्छ, प्रेम, निष्ठा हुन्छ, इमानदारी हुन्छ, दुःखपीडा हुन्छ, दुःखसँग जुझ्ने सङ्कल्प हुन्छ । मूलतः लोकको उदात्त चरित्र हुन्छ, जुन शिष्ट साहित्यमा दुर्लभ हुन्छ ।

लोकगीत, गाथा, ऋतु गीत, संस्कार गीत, बाह्रमासा गीत, पर्व गीत, कर्म गीत, श्रम गीत आदि गरी विभिन्न प्रकारका हुन्छन् । श्रम गीतअन्तर्गतको एउटा गीत हो–रोपाइँ गर्दा गाइने असारे गीत । पूर्वीय लोकसभ्यतामा श्रम सँधै पूजनीय छ । ऋग्वेदमा भनिएको छ : “श्रामतस्य सख्याय देवाः” (श्रम नगरी देवताको सहयोग प्राप्त हुँदैन ।) भागवत गीतामा त झन् पूरै श्रम र कर्मको महत्त्वलाई रेखाङ्कित गरिएको छ । असारे गीत श्रमको महत्त्वलाई उच्चस्थान राखेर गाइएको गीत हो । 

नेपालमा खासगरी असार महिनामा धान रोपिन्छ । बडो मोहक र मादक हुन्छ असार । यतिखेर बादलका झुन्डहरू नयाँ क्रीडा गर्दै अनेक रूप धारण गरिरहेको हुन्छ, सप्तरङ्गी इन्द्रधनुषी छटाले सबैको हृदयलाई मोहित पारिरहेको हुन्छ, बोटबिरूवाहरू स्वच्छतापूर्वक वर्षात्मा भिज्दै मस्तीमा झुमिरहेका हुन्छन् । असार मास जगत्को जीवन र प्राणीको प्राण हो, धराको शृङ्गार, वनउपवनको अलङ्कार हो, हृदयमा उल्लास र उत्साहको प्रेरक, प्रेम र कामनाको सर्जक हो । 

यो सृजनाका निम्ति पनि उर्वर महिना हो । अङ्ग्रेजी साहित्यका शेली, किट्स, रबर्ट फ्रस्ट, स्पेनी साहित्यका गाब्रियल मिस्त्राल, जर्मनेली साहित्यका हर्मन हेस्से, संस्कृत साहित्यका कालिदास आदिले आफ्ना विलक्षण काव्य साधनाले असार (जुन–जुलाई) लाई मानवीकरण गरेका छन् । कालिदासले आफ्नो कालजयी कृति ‘मेघदूत’ मा वर्षाको जुन अनुपम र अद्भुत, मनोरम चित्र कोरेका छन् जसको अभिलेख आजसम्म कसैले तोड्न सकेको छैन । 

वर्षामा कवि, कलाकारले काल्पनिक संसार बनाएर रचना गरिरहेका हुन्छन् भने धर्तीपुत्र किसानले धर्तीमा सृजना गरिरहेका हुन्छन् । वर्षाको सबैभन्दा बढी व्यग्रताका साथ कसैले प्रतीक्षा गरिरहेका हुन्छन् भने किसानले नै गरिरहेका हुन्छन् । आदिकालदेखि नै किसान र प्रकृतिबीच घनिष्ठ सम्बन्ध रहिआएको छ । यतिखेर बर्सिएको वर्षा किसान र फसलका निम्ति अमृत समान हुन्छ । किसानहरू बेचैनीका साथ आकाश हेर्दै व्यग्र हुन्छन् । जब वर्षा हुन्छ, तब किसान हर्षले गद्गद् हुन्छन्, खेतमा रौनक छाउँछ । लोकगीतकारहरू किसानको मनस्थितिसँग भलिभाँती परिचित हुन्छन् । ती किसानसँगै वर्षातका रिमझिममा भिज्दै गाउन थाल्छन् जसमा अरुण उपत्यकाले स्वर भरेको छ–

रिमिमा झिमी पानी है प¥यो असारे मासैमा
हिँडेको हामी धान है रोप्न बेंसीको फाँटैमा ।

लोकगीतमा प्रचुर मात्रामा मानवीय संवेदनशीलता हुन्छ, जुन व्यक्तिको चेतना, कल्पनाशीलता, भावप्रवणता, समूहमा मिश्रण भएर समूहको साझा वाणी बन्छ । यसले लोककल्याणको स्वरूप ग्रहण गर्छ । लोकका अनेकौँ झाँकी देखिने लोकगीत स्वच्छता र सरलताले भरिनाका साथै मनका कल्मश, क्लेषलाई मेटाउने पियुषधारा समान हुन्छ । हाम्रा अतीत, वर्तमान र भविष्य सबैथोक लोकगीतमा सुरक्षित हुन्छ ।

देशका अधिकांश किसान मनसुनमा आधारित वर्षामा नै देशको प्रमुख बाली धानखेतीमा निर्भर छन् । मेहनती किसान वर्ग धानखेती गर्दा आफ्ना इच्छा, आकाङ्क्षा, हर्ष, उल्लास, निराशा, अवसाद, कुण्ठा, अभिलाषा आदिलाई लोकगीतका माध्यमबाट व्यक्त गर्छ । आदिकालदेखि नै अन्नदाता वर्ग किसान लोकगीतसँग अविभाज्य रूपमा जोडिँदै आएका छन् । किसानी काममा अधिक शारीरिक श्रम गर्नुपर्छ, पसिना बग्छ, हातमा ठेला उठ्छ, आँत खङ्रङ्ग भएर तिर्खा लाग्छ । थकान मेटाई शरीरमा चुस्तीफुर्ती भरेर पुनर्ताजगी ल्याउनलाई किसानले रामदली, गोडेलो, दाइँगीत, असारे आदि श्रम गीत रचे, जसमा सबैभन्दा प्रमुख असारे गीत रहेको पाइन्छ । यो पनि बेठी, रसिया, घाँसे नगरा आदि गरेर विभिन्न हाँगामा बाँडिएका छन् । 

किसानहरू बाहिर जति हाँसिरहेका हुन्छन् भित्र त्यति नै छट्पटी, पिर, बेथा बोकेर बाँचिरहेका हुन्छन् भन्ने अभिव्यक्ति लोकका प्रचलित यी गेडामा प्रस्ट झल्किन्छ :

हो हो रे राम हो 
असार पन्ध्र खाने दहीचिउरा, साउन पन्ध्र खिर 
घरमा छैन शितलु वचन, मनमा छैन थिर । 
रोपाइँको दिन किसानलाई भ्याइनभ्याइ हुन्छ । दिनभरिका थकानले गलित बाउसे, रोपाहारहरू आलीमा बसेर गीत गाउँदै दुखकष्ट, थकान बिर्सन खोज्छन्, एकार्कामा हिलो छ्यापाछ्याप गर्दै रमाइलो गर्छन् । 

(लेखक लोकसाहित्यका जानकार हुन् ।)

ADVADV

सम्बन्धित खबर

Advertise