२०८१ माघ १७ गते बिहिवार / Jan 30 , 2025 , Thursday
२०८१ माघ १७ गते बिहिवार
Ads

पाणिनी गाउँपालिकाद्वारा ६ महिनामा ३३.६ प्रतिशत बजेट खर्च

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ १६ गते १२:४४
पाणिनी गाउँपालिकाद्वारा ६ महिनामा ३३.६ प्रतिशत बजेट खर्च

अर्घाखाँची : अर्घाखाँचीको पाणिनी गाउँपालिकाले चालू आर्थिक वर्षको ६ महिनामा ३३.६ प्रतिशत बजेट खर्च गरेको छ । पाणिनी गाउँपालिकाले दोस्रो गाउँसभाको छैटौं अधिवेशनमा अर्धवार्षिक समीक्षा गर्दै सो जानकारी दिएको हो । 

पालिकाका अनुसार आर्थिक वर्ष २०८१/०८२ को कुल बजेट ६६ करोड २३ लाख ९४ हजार रहेकोमा पुस मसान्तसम्ममा २२ करोड ३२ लाख ४९ हजार ५ सय ९९ रुपैयाँ खर्च भएको छ । हालसम्म पुँजीगततर्फ ३२.११ प्रतिशत र चालूतर्फ ३४.१८ प्रतिशत खर्च भएको छ भने आम्दानीतर्फ ६०.५८ प्रतिशत प्रगति भएको गाउँपालिकाको तथ्यांक रहेको छ ।

चालू आर्थिक वर्षमा आर्थिक विकासतर्फ ३ करोड २४ लाख ४० हजार विनियोजन भएकोमा पुस मसान्तसम्ममा १७ लाख ३ हजार १८४ रुपैयाँ खर्च भएको छ । सामाजिक विकासतर्फ ४१ करोड २४ लाख ६२ हजार विनियोजन भएकोमा १८ करोड ७२ लाख १२ हजार ७८८ रुपैयाँ खर्च भएको छ । त्यस्तै पूर्वाधार विकासतर्फ ८ करोड ७७ लाख ३० हजार विनियोजन भएकामा ९४ लाख ९९ हजार ५ सय ४९ खर्च भएको छ भने सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड १२ लाख ६६ हजार विनियोजन भएकामा १६ लाख ३२ हजार ३ सय ४४ रुपैयाँ खर्च भएको छ । कार्यालय संचालन तथा प्रशासनिकतर्फ १० करोड ८४ लाख ९६ हजार विनियोजन भएकोमा हालसम्म ३ करोड ३२ लाख १ हजार ७ सय ३३ रुपैयाँ खर्च गरेको पालिकाको भनाइ छ ।

गाउँपालिकाको चालू आर्थिक वर्ष २०८१/०८२ को पुस मसान्तसम्मको जम्मा आम्दानी आन्तरिक आयतर्फ ३४ लाख र विभाज्यतर्फ १८ लाख संकलन भएको छ । जुन प्रक्षेपित आम्दानी अनुसार ३९.५८ प्रतिशत हो ।

गाउँपालिकाको अर्धवार्षिक प्रगति सन्तोषजनक रहेको भन्दै बाँकी योजनाहरू समयमै सम्पन्न गर्नका निम्ति सबैको सकारात्मक सहयोग अपरिहार्य रहेको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । उनले पालिकाको समृद्धि र दिगो विकासका लागि जनप्रतिनिधि, कर्मचारी, स्थानीय, नागरिक समाज तथा सम्बन्धित निकायहरूसँग समन्वय आवश्यक रहेको स्पष्ट पारे । सन्तोषजनक उपलब्धि हासिल गर्न सके पनि अझै थप चुनौतीहरू रहेको बताउँदै उनले भने, “समयमै योजना सम्पन्न गर्न समुदायको सहभागिता, पारदर्शिता र इमानदारिता जरुरी छ। जनप्रतिनिधिले जनताको अपेक्षा पूरा गर्नेतर्फ सचेत हुनुपर्छ ।”  

अध्यक्ष न्यौपानेले आगामी दिनमा विकास निर्माणलाई प्रभावकारी बनाउन निगरानी तथा अनुगमनलाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले स्थानीय तहले विकास योजनाहरूको कार्यान्वयनमा कुनै पनि लापरवाही सह्य नहुने बताए ।

६ महिनामा ९८ योजना सम्झौता

गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पोडेलले प्रस्तुत गरेको अर्धवार्षिक प्रगति प्रतिवेदन अनुसार गाउँपालिकामा चालू आर्थिक वर्षको ६ महिनामा ९८ योजना सम्झौता भएका छन् । उपभोक्ता समितिमार्फत ६५ वटा, ठेक्कामार्फत १४ वटा, अन्य संस्थागत, व्यक्तिगतमार्फत १९ वटा योजनाहरु कार्यान्वयन भएका छन् । जसमध्ये २० वटा योजनाहरु सम्पन्न भएर भुक्तानी समेत भइसकेको पालिका उपाध्यक्ष पौडेलले जानकारी दिइन् । पौडेलका अनुसार उपभोक्ता समितिमार्फत १४ वटा, ठेक्कामार्फत २ वटा र अन्य संस्थागत, व्यक्तिगतमार्फत ४ वटा योजना सम्पन्न भइसकेका छन् भने अन्य प्रक्रियामा छन् ।

गाउँपालिकाले योजनाहरूको कार्यान्वयन प्रभावकारी बनाउन अनुगमन समितिहरू गठन गरी स्थलगत निरीक्षणलाई तीव्रता दिएको जनाएको छ । 

गाउँपालिकाले चालू आर्थिक वर्षमा उपलब्ध स्रोतसाधनलाई प्राथमिकताका आधारमा उपयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको दाबी छ ।

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise