२०८१ माघ २० गते आइतवार / Feb 02 , 2025 , Sunday
२०८१ माघ २० गते आइतवार
Ads

मलेसियाको रोजगार सिन्डिकेट रोक्न व्यवसायीले मागे श्रम समिति सभापति खानसँग गुहार

hardik ivf
२०८१ माघ २० गते ०६:२५
मलेसियाको रोजगार सिन्डिकेट रोक्न व्यवसायीले मागे श्रम समिति सभापति खानसँग गुहार

काठमाडौं : वैदेशिक रोजगार व्यवसायीले मलेसियाको रोजगारीमा सिन्डिकेट सिर्जना हुन थालेको भन्दै  प्रतिनिधि सभाको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समिति सभापति अब्दुल खानको ध्यानाकर्षण गराएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजको सातौं साधारण सभालाई सन्दर्भ पारेर व्यवसायीहरूले शुक्रबार सभापति खानलाई सम्भावित सिन्डिकेटको प्रतिरोधका लागिसमेत उत्प्रेरित गरेका छन् ।

व्यवसायीहरूले विभिन्न कालखण्डमा सरकारबाट लिइएका अव्यवहारिक नीति र निर्णयहरूका कारण रेमिट्यान्स प्राप्त गर्ने महत्वपूर्ण क्षेत्र वैदेशिक रोजगार क्षेत्र तहसनहस भएको तथा व्यवसायी  र कामदार असुरक्षित भएको भन्दै समितिमा तत्कालै छलफल चलाइ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमाथि सकारात्मकरूपमा प्रभावकारी हस्तक्षेप हुनुपर्ने माग गरे । उनीहरूले मलेसिया जाने तालिमको नाममा सिन्डिकेट खडा गरी बढीमा दुई दर्जन व्यवसायीले मात्रै कामदार पठाउने गरी भित्रभित्रै चलखेल भइरहेको दाबीसमेत गरे ।

व्यवसायीहरूका गुनासो र आक्रोश मिश्रित भनाइ सुनेपछि सभापति खानले वैदेशिक रोजगार क्षेत्रमा रहेका कानुनी तथा नीतिगत अस्पष्टता हटाउन समितिमा छलफल चलाउने प्रतिबद्धता जनाउँदै व्यवसायीले सुधारका लागि प्रमुख दलहरूलाई घचघच्याउनुपर्ने भनाइ राखे । साधारण सभामा वैदेशिक रोजगार व्यवसायीले राखेका समस्या र गुनासोको जवाफ दिने क्रममा सभापति खानले व्यवसायीले व्यवसायमा रहेका समस्या र समाधानका विषयमा अनौपचारिक रूपमा कुरा उठाउने, तर औपचारिक छलफलमा नआउने भन्दै लामो समयसम्म समस्या जकडिनुमा त्यो पनि कारण रहेको  टिप्पणी गरे ।

उनले भने, ‘अर्थतन्त्र, रोजगारी, मुलुकको हित र समृद्धिमा व्यवसायीको योगदान उच्च रहेको छ । समस्या समाधानका लागि समितिमा आउन आग्रह गर्दछु । आउनुहोस् म त्रिपक्षीय छलफल चलाएर समस्याको समाधान खोज्न सहयोगी हुनेछु । मलेसिया मुलुकको रोजगारीका नाममा देखिने नदेखिने सिन्डिकेटका सबै स्वरूप समाप्त गर्न समितिले भूमिका निभाउने छ ।’

प्रमुख दलहरूका कारण नै वैदेशिक रोजगारमा सिन्डिकेट जन्मेको भन्दै सभापति खानले उनीहरूलाई विषालु सर्पको संज्ञा दिए । उनले भने, ‘सिन्डिकेट जन्माउने त्यस्ता विषालु सर्पलाई दुध खुवाएर पाले जस्तो पाल्नु हुँदैन ।’ उनले गोटाको हजार दिने प्रवृत्ति नै साप पाल्ने प्रवृत्ति भएको समेत दावी गरे । उनको यो शकककेत श्रम मन्त्रालयतर्फ लक्षित थियो । 

वैदेशिक रोजगारमा जाने कामदारले नेतालाई ठग र व्यवसायीलाई भगवान मान्ने गरेको भन्दै उनीहरूलाई व्यवसायीले संरक्षण गर्नुपर्नेमा सभापति खानले जोड दिए । शून्य लागत अर्थात फ्रि भिसा फ्रि टिकटका नाममा लुटपाट भएकाले लागत परिभाषित गरेर व्यवस्थित गर्नुपर्नेमा पनि उनले जोड दिए ।

त्यस्तै सभापति खानले घरेलु कामदारको श्रम स्वीकृति खोल्नुपर्छ भन्ने व्यवसायीको माग रहेको, तर व्यवस्थापन कसरी ? भन्ने प्रश्नको नेपाली राजदूतावासहरूले सकारात्मक उत्तर नपठाएका कारण जटिल भएकाले त्यसका लागि सर्वपक्षीय छलफल आवश्यक रहेको भनाइ राखे । 

कार्यक्रममा संघका अध्यक्ष राजेन्द्र भण्डारीले संघले सेवा शुल्क परिमार्जन, दूतावासबाट अनिवार्य मागपत्र प्रमाणीकरणले पारेको समस्या, संख्या सय बाध्यताको अन्त्य, एकै परिवारका सदस्यले व्यवसाय गर्न नपाउने व्यवस्था खारेजी र वैदेशिक रोजगारको लागत परिभाषित गर्न जरुरी रहेको बताए । उनले संघको भवन निर्माणका लागि सहयोग र योगदान गर्न व्यवसायीहरूलाई आग्रह पनि गरे ।

संघका पूर्वअध्यक्ष विमल ढकालले वैदेशिक रोजगार मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको भएपनि यस व्यवसायलाई अस्तव्यस्त बनाउने षड्यन्त्रमा विगतका सरकार, मन्त्री  र संसदीय समितिका सभापतिहरू जिम्मेवार रहेकाले उनीहरूमाथि समितिले छानबिन सुरुवात गर्नुपर्ने  माग गरे । पूर्वअध्यक्ष ढकालले भने, ‘आफ्नो आर्थिक स्वार्थ पूर्ति गर्न वैदेशिक रोजगारमा जाने विपन्न अवस्थामा रहेका जनतालाई धरापमा पार्ने अपराध भएको छ, विगतका सबै निर्णहरूको समीक्षा र अध्ययन गर्न आग्रह गर्दछु ।’

हाल मलेसियाको रोजगारी खुला हुने तयारीमा रहेको र यसै मौकामा व्यक्तिगत स्वार्थपूर्तिका  सिन्डिकेट लगाउने चलखेल गरेर दुई दर्जन व्यवसायीले मात्रै कामदार पठाउन पाउने दुश्प्रयास भएको बताउँदै पूर्वअध्यक्ष ढकालले भने, ‘माफिया कूकर्मीहरूलाई रोक्न मेरो माग छ ।’

पूर्वअध्यक्ष ढकालले सिन्डिकेटको अन्त्यका लागि छाता संस्था संघमा सक्षम र सवल नेतृत्व चाहिने भएकाले व्यवसायीले गम्भीर भएर पार्टी, जातीय, भेगीय भन्दा माथी उठेर नेतृत्वका लागि मतदान गर्नु आवश्यक रहेको पनि बताए । पूर्वअध्यक्ष ढकालले भने, ‘उपलब्धि हासिल गर्न प्रलोभनमा नपर्ने नेतृत्व चाहिन्छ । राजनीतिक हस्तक्षेप बढी छ, राजनीतिक दलको उम्मेदवार भन्दा व्यवसायीको हित गर्ने नेपाल उद्योग वाणिज्य महासंघको जस्तै गैरराजनीतिक नेतृत्व आवश्यक देखिन्छ । नेताको हस्तक्षेपले ठूलो विकृति छ । पार्टीले राम्रो उम्मेदवार दिन्छ भन्ने छैन ।’

विगतमा पनि मलेसियाको रोजगारीमा बंगलादेशको जस्तो सिन्डिकेट लाद्ने प्रयास भएको, तर आफूले कर्मचारीलाई सिन्डिकेट भएको अवस्थामा बन्दुक उठ्न सक्छ भन्ने चेतावनी दिएका कारणले रोकिएको भन्दै पूर्वअध्यक्ष ढकाले संघको निर्वाचनमा थोरै गल्ती भएमात्रै पनि मलेसिया रोजगारीबाट बहुसंख्यक व्यवसायीले हात धुनुपर्ने अवस्था रहेको जिकिर गरे ।

संघ अर्का पूर्वअध्यक्ष रोहन गुरुङले संघको नेतृत्व व्यवसायी पक्षधर हुन नसकेको टिप्पणी गरे । विगतमा सामाखुसी क्षेत्रमा म्यानपावर व्यवसायीका कार्यालय हटाउन काठमाडौं महानगर प्रहरीले माइकिङ गरेर दबाब दिँदा संघ नेतृत्वले महसुस हुने गरी भूमिका निर्वाह नगरेको गुनासो गरे । उनले प्रश्न गरे, ‘कार्यालय छोडाउँदा समितिले पहल ग¥यो, दल निकट व्यवसायी को आयो ?’

फ्रि भिसा फ्रि टिकटमा नेपाली कांग्रेस र संख्या सय, धरौटी वृद्धि र मागपत्र अनिवार्य दूतावासमा प्रमाणीकरणमा नेकपा एमाले जिम्मेवार रहेको भन्दै उनले भने, ‘यी समस्या समाधानका लागि नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले संयुक्त पहल गर्नुपर्छ । व्यवसायीको हितमा नबोल्ने नेतृत्वको काम छैन ।’

उनले निश्चित व्यापारिक समूहलाई फाइदा पुर्‍याउन तालिम केन्द्र स्थापना गर्न ७ रोपनी जग्गा र ५ सय जना बस्न मिल्ने होस्टेल हुनुपर्ने जस्ता प्रावधान ल्याइएको भन्दै माफिया जन्माउने तालिम निर्देशिका खारेजीको माग गरे ।

प्रगतिशील मञ्चका अध्यक्ष जनक रावलले नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति वैदेशिक रोजगार समस्या समाधानको सारथी बनेको भन्दै विगतका संख्या सय समस्याको समाधान, व्यवसायीलाई धरपकड र हैरानी दिएर अन्याय गरिँदा त्यसको अन्त्यका लागि गरेकोे  पहल सराहनीय रहेकोे बताए । उनले व्यवसायीको सुरक्षा र सामाजिक कार्यमा निरन्तर लागिरहन पनि आग्रह गरे ।

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले कानुनको असमान्जस्यताले व्यवसायीलाई समस्या परेको भन्दै समितिका सभापति खानले समस्या समाधानको विषयलाई प्राथमिकतामा राख्नुपर्ने माग गरे ।

वैदेशिक रोजगार व्यवसायी धौलाश्री समाजका उपाध्यक्ष रविन शेरचनले देश जर्जर हुँदा रेमिट्यान्सले उज्यालो किरण छरेको, तर मर्यादित र सम्मानित नहुँदा दुःख महसुस गर्नुपर्ने  अवस्था रहेकोे टिप्पणी गरे । उनले समस्या समाधानका लागि संघको आगामी नेतृत्व परिपक्व हुनुपर्नेमा जोड दिए । 

तराई मधेश व्यवसायी समाजका उपाध्यक्ष अख्तर हुसेनले व्यवसायीको समर्थन र सुरक्षाका लागि एकता समाजको महत्वपूर्ण भूमिका रहेकोे बताए । समाजले साधारण सभाका अवसरमा समाज र वैदेशिक रोजगार क्षेत्रमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै समाजका सल्लाहकार तथा भिजन एण्ड भ्यालु ओभरसिज प्रा.लि.का संचालक अग्रज व्यवसायी पदमराज पौडेल, लोकतान्त्रिक एशोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रप्रसाद ढकाल, धनलाल जैसी र असाहय, अनाथ बालबालिकाको शिक्षा दिक्षामा उच्च योगदानका लागि हाम्रो बाल संरक्षण धरोहर नेपालकी विनिता अर्याललाई २५ हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । धरोहर नेपालमा ६५ बालबालिका रहेका छन् । 

कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीले रोजगारी अभिवृद्धि र राष्ट्रको समृद्ध नाराका साथ व्यवसायीको हकहितका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए । उनले व्यवसायी गोलबन्द हुँदा चन्दा आतंक, धम्की, असुरक्षा हटाउन सफल भएको भन्दै जबरजस्ती गरेमा समाजमा जानकारी गराउन व्यवसायीलाई आग्रह गरे । 

कार्यक्रममा सातौं साधारण सभा मूल आयोजक समिति संयोजक नरेन्द्रप्रसाद ढकाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसन महासचिव महेशकुमार बस्नेत, वैदेशिक रोजगार विश्वकर्मा समाजका अध्यक्ष अमृत विश्वकर्मा, एकीकृत वैदेशिक रोजागार संगठनका उपाध्यक्ष बाबुराम खड्का, वैदेशिक रोजगार व्यवसायी तमुधीः समाजका अध्यक्ष तीर्थ बहादुर गुरुङ, मध्यान्ह दैनिकका सम्पादक मदनकुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।  

तत्कालीन सचिव तारानाथ अर्याल र कोषाध्यक्ष हरिश कुँवरले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष खड्गबहादुर क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । साधारण सभाले फ्युचर स्टार म्यानपावर प्रा.लि.का संचालक हरिबहादुर पाण्डे क्षेत्रीलाई पुनः अध्यक्षमा निर्वाचित गर्दै सर्वसम्मतिले कार्यसमिति चयन गरेको छ ।

ADVenergy

ताजा खबर

सम्बन्धित खबर

Advertise