–रत्न प्रजापति
बालबालिकाको पहिलो रोजाइमा पर्ने साहित्य गीत नै हो भन्दा अतिशयोक्ति नहोला । बोली नै नफुटेको शिशुदेखि सामाजिकीकरणको चरणमा प्रवेश गरिसकेका बालबालिकाले जान–अन्जानमा गाउने र शब्दबिना पनि आवाजले मात्र गुनगुनाउने भनेको गीत नै हो ।
बाल्यकालमा जोसुकैका लागि पठनभन्दा मनोरञ्जन पहिलो प्राथमिकतामा परेको हुन्छ । मनोरञ्जनकै एक हिस्साको रूपमा गीतलाई लिन सकिन्छ । हिजोका दिनमा नानी–बाबूलाई सुताउन लोरी सुनाउने गरिन्थ्यो । अतः नानी–बाबूले कोक्रामा छँदैदेखि बालगीत सुन्न थालिसकेका हुन्छन् । टुकुटुकु हिँड्न थालेपछि आमा तथा दिदीहरूसँगै ‘ताराबाजी लैलै...’ सुन्दै आफैंले पनि गाउन थाल्छन् । यहीँबाट गीतप्रतिको लगाव बढ्न थाल्छ बालबालिकामा ।
बालसाहित्यअन्तर्गत विशेषगरी कथा र सचित्र कथाका गुणस्तरीय पुस्तकहरू प्रशस्तै प्रकाशन भएका छन् । तर, बालबालिकाको पहिलो रोजाइमा पर्ने बालगीतसंग्रहको अभाव महसुस भइरहेको थियो । यस्तै बेलामा बालसाहित्यमा विशेषगरी बालगीतमा बालबालिकाको अभिरुचि र बालगीतसंग्रहको आवश्यकतालाई ध्यानमा राख्दै नेपाल प्रज्ञाप्रतिष्ठानको बालसाहित्य विभागले अनुसन्धान परियोजनाअन्तर्गत ‘प्रज्ञा नेपाली बालगीत’ संग्रह प्रकाशन गरेको छ ।
साहित्य एवं संचार क्षेत्रमा अढाइ दशकभन्दा बढी समय खर्चिएका सर्जक एवं अनुसन्धानकर्ता गोपीकृष्ण ढुंगानाको सम्पादनमा प्रकाशित यो संग्रहमा १५९ नयाँ तथा पुराना गीतकारका ३१८ बालगीत सँगसँगै एक समय रेडियो नेपालको बाल कार्यक्रममा बज्ने ५६ वटा छानिएका उत्कृष्ट एवं लोकप्रिय बालगीतहरू संगृहीत छन् ।
रेडियो नेपालको बाल कार्यक्रमका तत्कालीन संचालक, बा(लबालिकाका प्रिय दाइ वासुदेव मुनालको ‘आऊ मेरा प्यारा–प्यारा भाइबहिनी हो, रेडियो नजिक आऊ’ भन्ने बालप्रिय आवाजसँगै सुरु हुने त्यो बाल कार्यक्रममा अन्य बालोपयोगी सामग्री, जो बालबालिकालाई मनपर्ने र निकै उपदेशात्मक अनि सन्देशमूलक हुन्थे, तीमध्ये बालबालिकाको फर्माइससहित अलि धेरै नै बज्ने गीतहरूचाहिँ ‘कहाँ जाने कहाँ जाने पुतलीका हुल, जताजता फुलेका छन् मीठा–मीठा फूल’; ‘म धेरै सानो छु, मेरो मुटु सानो छ, यो सानो मुटुमा विशाल देश छ’; ‘ढिकी च्याउँ ढिकी च्याउँ गर्दै ढिकी च्याउँ, नाच्दै आयो खरायो आऊ न हेर्न जाऊँ’; ‘पापा ल्याएँ चाचा ल्याएँ पापा ल्याएँ–ल्याएँ, छानी मैयाँ छानु लाजा पापा ल्याएँ–ल्याएँ’; ‘दुई एकान दुई, दुई दुना चार, पढ–पढ नानी हो भई होसियार’; ‘तीखा काँडाको बीचमा गुलाफ फुलेको हेर, जस्तै दुःख परे पनि पिर नलेऊ भनेर’ आदि प्रमुख थिए ।
‘दुई एकान दुई...’ गीतको धूनलाई बाल कार्यक्रमको सुरु र अन्त्यमा बजाउने गरिन्थ्यो । नेपाली बालगीत–संगीतको विकासमा बाल कार्यक्रमको योगदानलाई बिर्सन सकिन्नँ । त्यसैले सायद यी सबैलाई पुस्तकले समेटेको छ ।
अलि पछिचाहिँ ‘मेरो गाउँ ज्यामिरे जमुनीको छोरो म, काले भन्छन् मलाई तर मान्छे गोरो म’ र ‘लेकका हामी केटाकेटी कुहिरोभित्र स्कुल छ, चौंरीलाई चराउँदै दिन बित्छ, पढ्नु र लेख्नु मुस्किल छ’ जस्ता सामाजिक चेतनामूलक गीत रेडियो र विद्यालयहरूको सांस्कृतिक कार्यक्रमहरूमा पनि विशेष रूपमा बज्ने गरेका पाइन्थ्यो ।
नेपाली साहित्यमा ऐतिहासिक बालगीतदेखि वर्तमानमा लेखिएका बालमैत्री र बालप्रिय गीतहरू संग्रह गरी प्रकाशित यो बालगीतसंग्रहले गीत पठनबाट बालबालिकालाई मनोरञ्जन प्रदान गर्नुका साथै केही शिक्षा, सन्देश र उपदेश पनि दिने छन्, जुन उनीहरूको जीवनमा उपयोगी हुने छ ।
संग्रहमा बालबालिकाका आफ्नै इच्छा भाव व्यक्त भएका गीतहरू समेटिएका छन् भने केही अभिभावकका आशा र अपेक्षा भाव व्यक्त भएका गीत पनि छन् । धेरै गीत उपदेशात्मक छन् । यसो गर्नुपर्छ र उसो गर्नुपर्छ अनि यस्तो गर्न हुन्छ र उस्तो गर्न हुन्न भनेर सामाजिक मूल्य र मान्यता सिकाउने खालका छन् । यी सायद तत्कालीन समय र समाजले दिएका उपहार हुन् ।
यसैगरी, प्रकृति, जीवजन्तु, पशुपक्षी आदिका प्रवृत्ति, चरित्र र विशेषताका बारेमा लेखिएका गीत पनि छन् । प्रकृति, जीवजन्तु र पशुपक्षीलाई पात्र बनाएर लेखिएका गीतमा उपदेशात्मक सन्देश दिने र बालबालिकाको मनोरञ्जनसँगै उनीहरूमा नैतिक र चारित्रिक विकासका लागि अभिप्रेरित गर्ने उद्देश्य रहेको पाइन्छ ।
कुनैकुनै गीत बालबालिकामा राष्ट्रियता र राष्ट्र प्रेमको भावना जगाउने उद्देश्यले लेखिएका छन् । शिक्षण–सिकाइ र साँस्कृतिक सम्बद्र्धनको उद्देश्यले लेखिएका गीत पनि छन् । कुनैकुनै गीतमा आर्थिक र सामाजिक कारणले बालबालिकाले भोग्नुपरेको अभाव, दुःख, कष्ट र पीडाका कथा पनि छन् । जस्तै :
जान पाइनँ पाठशाला, पाइनँ पढ्न लेख्न
ज्ञानरूपी उज्यालाले पाइन संसार देख्न
क्लम–किताब समाउने हातले बोक्छु बोरा
आज यहाँ, भोलि कहाँ छैन मेरो डेरा ।
कुनैकुनै गीत बाल मनमा उठ्ने प्रश्नका उत्तरसहित लेखिएका छन् । यस्ता गीतले बालबालिकालाई गीतबाट मनोरञ्जन प्राप्त हुनुका साथै तिनले ज्ञानका कुरा पनि सिकिरहेका हुन्छन् । जस्तै :
कसले भर्छन् यति रङ इन्द्रेनीमा बाबा ?
मिल्छन् जब घामपानी बादल र हावा
पर्दाखेरि घामका किरण पानी थोपामाथि
अनि देख्छौँ इन्द्र धनुष आकार नाना भाँती ।
निस्फिक्री भएर खेल्नु, हाँस्नु र रमाउनु अनि साथीभाइसँगै रमाउँदै स्कुल गएर केही सिक्न पाउनु नै बालअधिकार हो र बालापनको विशेषता हो । तर, गरिबी र अभावमा बाँचेका परिवारका बालबालिकालाई त्यस्तो अवसर कहाँ जुर्छ र ! त्यस्तो अवसरबाट बञ्चित बालबालिकाको मनोभावलाई व्यक्त गरिएका गीतले मन छुन्छन् । जस्तै :
सबै पढ्न गएछन्, जान्ने–सुन्ने भएछन्
म त अझै गोठमा, छैन हाँसो ओठमा
किनकिन मन यो दुखे–दुखेजस्तो छ
यो ज्यामिरे गाउँमा कुरा मात्र सस्तो छ ।
राज्यको ध्यानाकर्षण गराउने उद्देश्यले लेखिएका सामाजिक रूपान्तरणकारी गीतले गरिबी र अभावमा बाँचेका बा(लबालिकाको आवाजलाई प्रतिनिधित्व गरेका छन् । जस्तै : ‘लेकका हामी केटाकेटी... ।’ यो गीतले देशको विकट भौगोलिक अवस्था र त्यहाँको जीवनशैलीलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
समग्रमा, बालबालिकालाई नैतिक, चरित्रवान् र राष्ट्र प्रेमको भावनाले ओतप्रोत गराई असल नागरिक बनाउने उद्देश्यले लेखिएका गीतहरू यो संग्रहमा समेटिएका छन् ।
तुलनात्मक रूपमा हेर्दा आजभन्दा ३०–४० वर्षअघि लेखिएका बालगीत र अहिलेका बालगीतमा खासै तात्त्विक भिन्नता देखिन्नँ । मनोरञ्जन र उपदेश हिजोका बालगीतका उद्देश्य थिए भने आज पनि तिनै उद्देश्यले बालगीत लेखिएका छन् । यद्यपि, सूचना प्रविधिको विकास र मनोरञ्जनका साधनका विकल्पहरूको सर्वसुलभताले गर्दा अहिलेका बालगीतहरूमा मनोरञ्जनसँगै अलि बढी फराकिलो ज्ञानात्मक उपदेशहरूको बाहुल्य रहेको पाइन्छ ।
यो पुस्तक गीतहरूमार्फत बालबालिकालाई मनोरञ्जन प्रदान गर्न, केही उपदेश र सन्देश सम्प्रेषण गर्न, सकारात्मक सोचको विकास गर्न, पठन र सिकाइ संस्कृतिको विकास गर्न र अन्ततोगत्वा देशप्रतिको प्रेम र कर्तव्यबोध गराउन सहयोगी सिद्ध हुने छ । साथै, यो पुस्तकमा सम्पादक ढुंगानाका तर्फबाट बालगीतको इतिहासदेखि वर्तमानसम्मको व्याख्या र विश्लेषण गरिएकाले अध्ययन र अध्यापनमा संलग्न व्यक्तिका लागि पनि यो पुस्तक उत्तिकै उपयोगी हुने छ ।
नेपाली बालगीतको सिद्धान्त, परम्परा र प्रवृत्तिको विस्तृत विश्लेषणले बालगीतका बारेमा जान्न चाहने गम्भीर पाठकका लागि पनि यो पुस्तक अतिउपयोगी हुने छ । संग्रहमा परेका बालगीतहरूको प्रवृत्ति केलाउँदै ती गीतहरूलाई जागरणमुखी भाव सम्प्रेषण, स्वाभाविक बालचरित्रको चित्रण, माटोको माया, स्वास्थ्यप्रति सजगता, कल्पनाको संसार, आख्यानात्मकता, पठन संस्कृतिको जग, औपदेशिकता, प्रेरणा, प्रोत्साहन र आत्मविश्वास, जैविक वातावरण, बिम्बका रूपमा बालबालिका आदि शीर्षकमा विस्तृत विश्लेषण गरिएको छ । यसले बालगीत लेख्न चाहनेहरूलाई मार्गदर्शन पनि गर्ने छ ।
यति गहकिलो ४०० बढी पृष्ठको बालगीतसंग्रह प्रकाशित भएको हालसम्म सम्भवतः यो नै पहिलो हो । यस हिसाबले पनि यो पुस्तक नेपाली बालगीतको क्षेत्रमा कोशेढुंगा नै साबित हुने छ भन्दा अतिशयोक्ति हुने छैन । यद्यपि, यो पुस्तकको प्रथम संस्करण ६०० प्रति मात्र छापिएको हुँदा कति बालबालिकाको हातमा यो पुस्तक पुग्छ भन्ने प्रश्नचाहिँ उठ्न सक्छ ।
सम्पादक, सम्बन्धित गीतकार र प्रकाशकको दराजमा थन्क्याउने दस्ताबेजकै रूपमा मात्र यसको प्रकाशन भएको हो भने यो पुस्तकबाट बालबालिका लाभान्वित हुने सम्भावना कम देखिन्छ । यसतर्फ प्रज्ञाप्रतिष्ठानले गम्भीर ध्यान देओस् । छुटेका बालगीतकारलाई पनि समेटेर दोस्रो संस्करणमा जानु उपयुक्त हुने देखिन्छ । बालबालिकाका लागि लेखिएको पुस्तक बालबालिकासम्म पुर्याउने प्रबन्ध हुनु आवश्यक छ ।