
नेपाली समाज आज शारीरिक होइन,
आत्मिक रूपमा पनि बिरामी छ ।
विश्वासको ज्वरो, ईष्र्याको घाउ
र निराशाको जुकामा थला परेको ।
तर आशाको नाडी अझै धड्किरहेको छ,
करुणाको न्यानो हातले
त्यो निश्चल, मन मुटु पुनः स्पन्दन गर्न सक्छ ।
हामी सबै रोगी हौँ ।
कोही लोभको तापले पोलिएका
कोही निन्दाको छायामा थकित
तर उपचार छ ।
हामी भित्रकै प्रेम, सहानुभूति
र सामूहिक जिम्मेवारीमा बेचैनपनको हाबी ।
समृद्ध नेपाल अस्पताल होइन,
आचरणले बनेको समुन्नत समाज हो ।
जहाँ रोगीको पीडा अरूको समस्या होइन
आफ्नै जिम्मा र कठोर कर्तव्य ठानिन्छ ।
जहाँ हरेक नागरिकले सेवा नै धर्म ठान्छ
र हरेक गाउँले पानी, हावा
र स्वच्छताको सन्तुलनमा बाँच्न पाउँछ ।
सफा मन, सन्तुलित जीवन र साझा प्रयास
यही हो विकासको अचुक औषधि ।
स्वास्थ्य बिमा मात्र होइन
भरोसाको, विकासको बिमा चाहिन्छ हामीलाई ।
र जब हामी एक अर्काको दुःख सुमसुम्याउन सिक्छौँ
त्यो क्षण बिरामी समाजको उपचार आरम्भ हुन्छ ।
करुणा हाम्रो औषधि हो
सेवा हाम्रो बाझिएको खेतको सास हो ।
बिरामी नेपाललाई उठाउने शक्ति हामी भित्रै छ ।
सकारात्मक सोच, सहयोगको भावना र अटुट आशामा ।