नेपालमा वैकल्पिक शक्तिबारे बहस चल्दा छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा आम आदमी पार्टी (आप) को उदाहरण दिइने गर्छ । भ्रष्टाचार विरोधी आन्दोलनका माध्यमबाट आपको उदय भएको थियो । यसको नेतृत्व अरविन्द केजरीवालले गरेका थिए । भ्रष्टाचार विरोधी आन्दोलनबाट उदाएर शिक्षा, स्वास्थ्य जस्ता एजेण्डामा आफूलाई केन्द्रीत गरेका आप मध्यम वर्गमा लोकप्रिय थियो । त्यसैकारण भारतीय राष्ट्रिय कंग्रेस र भारतीय जनता पार्टी जस्ता ठूला राजनीतिक शक्तिहरूको गठबन्धनलाई हराएर आपले दिल्लीमा शासन गर्दै आएको थियो । देशकै राजधानीमा चलिरहेको आपको सत्ता भाजपालाई मन परेको थिएन । कंग्रेसले पनि आपसँग प्रतिस्पर्धा गथ्र्यो । तर पनि आपलाई दिल्लीका जनताको साथ थियो ।
भर्खरै सकिएको चुनावमा भने झण्डै तीन दशकपछि भाजपाले दिल्ली संसदमा बहुमत ल्याएको छ । ७० सिट मध्ये बहुमत जितेर भाजपाले सरकार बनाउदा आप विपक्षी शक्ति बनेको छ । भाजपाले ४८ सिट जित्दा आपले २२ सिट मात्र जितेको छ । यसले आपलाई ठूलो झट्का लागेको छ । किनकि दिल्लीमा अपनाएको आप शैली देशभर फैलाउने योजनामा केजरीवाल थिए । अरू प्रदेशमा पनि आक्रामक तरिकाले केजरीवाल प्रस्तुत भएपछि नरेन्द्र मोदी नेतृत्वको सरकार र भाजपालाई टाउको दुखाई बनेको थियो । मदिरा बिक्री नीति सम्बन्धी दिल्ली सरकारले गरेको निर्णयकै आधारमा बहालवाला मुख्यमन्त्री केजरीवाललाई मुद्दा चलाइनु र हिरासतमा राख्नुबाटै भाजपा सरकारको मनोविज्ञान सहज अनुमान लगाउन सकिन्थ्यो ।
तिनै केजरीवालको पार्टीले दिल्लीमै बहुमत गुमाएसँगै वैकल्पिक÷नयाँ राजनीतिक शक्तिप्रतिको मनोविज्ञानमा पनि ठूलो असर परेको छ । मुख्य शक्ति नै विकल्प रहेंछ भन्ने सन्देश छिमेकी देशहरुमा समेत पर्नु स्वभाविक हो । अझ नेपालमा त्यसको बलियो प्रभाव देखिन सक्छ । किनकि दिल्लीकै उदाहरण दिएर नेपालमा पनि वैकल्पिक र नयाँ राजनीतिक शक्तिबारे बहस हुने गरेको थियो । अभ्यासमा समेत केही सफलता देखिएको थियो । तर दिल्लीमा आप संकटमा पर्दा त्यसको बाछिटा अरुतिर पर्नेछ । यद्यपि आपकै घटनाबाट पनि पाठ सिक्न चाहिँ सकिन्छ । त्यो भनेको विकल्प भनेर आएकाहरुले सत्ता वा सत्तामा पुगेर गर्ने निर्णयमा विशेष ध्यान दिन आवश्यक पर्छ । किनकि आप अरुको कारणले मात्र सत्ताबाट बाहिरिनु परेको होइन । आपबाट पनि कमजोरी भए जसको लाभ भाजपा जस्तो शक्तिले उठायो ।