जनता समाजवादी पार्टी (जसपा), नेपालको निर्णयबाट प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमाले अप्ठ्यारोमा परेका छन् किनकि जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । जसपा नेपालको यो निर्णयले राष्ट्रियसभामा सत्तारूढको बहुमत पुग्दैन । ५९ सदस्यीय राष्ट्रियसभामा नेपाली कांग्रेसँग १६, नेकपा एमालेसँग १०, लोसपासँग १ र मनोनीत २ सांसद सत्तारूढकै पक्षमा छन् । अर्थात्, सत्तारूढको पक्षमा २९ जना पुग्छ । अध्यादेश पारित हुन ३० जना चाहिन्छ । यदि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ३ सांसद जोड्ने हो भने सत्तारूढसँग बहुमत हुन्छ । जसपा नेपाल सत्तारूढमै भएकाले बहुमत पुग्ने पूर्वआँकलन थियो ।
तर, सत्तारूढ भए पनि उपेन्द्रले फरक निर्णय लिए । गत २६ पुसमा सरकारले ६ अध्यादेश ल्याएको थियो । संसद् अधिवेशन नबोलाएर अध्यादेशबाट सरकार चल्न खोजेको भनेर आलोचना पनि भयो । गत ३१ भदौमा संसद् अधिवेशन अन्त्य गरेको सरकारले १८ माघमा मात्र हिउँदे अधिवेशन बोलाउने निर्णय ग¥यो अर्थात् अधिवेशन चल्नु ३ साताअघि सरकारले अध्यादेशहरू ल्यायो । सत्तारूढ नेताहरूले भने सरकारले अध्यादेश ल्याउनु वैधानिक व्यवस्था भएकाले विरोधको अर्थ नरहेको तर्क गरिरहेका थिए । यस्तो सन्दर्भमा जसपा नेपालको निर्णयले अध्यादेशको विपक्षमा तर्क गर्नेहरूलाई बल पुगेको छ । यद्यपि, उक्त दलका नेताहरूले भूमिसम्बन्धी अध्यादेश देश र जनताका हितमा नरहेकाले अस्वीकार गर्ने निर्णय गरेको तर्क गरेका छन् ।
जसपा नेपालको तर्क जेसुकै भए पनि यो निर्णय धेरै दृष्टिकोणले अर्थपूर्ण छ । मुख्य कुरा त कुनै पनि राजनीतिक अभीष्ट राखेर अध्यादेशमार्फत शासनको नियत गलत हो । जनतामा सार्वभौमसत्ता निहीत रहेको मुलुकमा सरकार संविधानको मातहत रहनुपर्छ । संविधानले कानुन बनाउने प्रक्रिया प्रस्ट पारेको छ । अध्यादेश नियमित प्रक्रिया नभएर आपत्कालीन सुविधा मात्र हो । संसदीय प्रक्रिया पर्खंदा ढिलो हुने कुरामा मात्र अध्यादेश आउन आवश्यक छ । जसपा नेपालको निर्णयबाट सिक्नुपर्ने निर्णय हो, लोकतन्त्रमा छलफललाई निषेध गर्न हुँदैन । जसपा सत्तारूढ शक्ति हो भने उससँग पनि सरकारले गर्ने निर्णयबारे आवश्यक सल्लाह लिइनुपर्छ । तर, कांग्रेस र एमालेले बहुमतको दम्भ देखाएर जसरी अगाडि बढ्न खोजे, त्यसलाई रोकेर उपेन्द्र यादवले अर्थपूर्ण सन्देश दिएका छन् । यसलाई सत्ता स्वार्थसँग सौदाबाजी गर्ने नभएर उपेन्द्र यादवले सन्देशकै रूपमा रहन दिनु राम्रो हुन्छ ।