२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

समन्वय नमिल्दाको संकट

hardik ivf
२०८१ फागुन १ गते ०६:१५
समन्वय नमिल्दाको संकट

सिंहदरबार छेऊमै मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न हुनु झट्ट हेर्दा धेरै ठूलो घटना होइन । किनकि खानेपानीको पाइप मात्र होइन, अरू संरचनामा पनि समस्या आउँछन्, मर्मत आवश्यक पर्छ । परियोजनाहरुको मर्मत संभारका निम्ति कार्यक्रम बनाइनु र जनपरिचालन त्यसैका निम्ति हो । अझ बबरमहल क्षेत्रमा जलमग्न हुनुको समस्या तत्कालै समाधान भयो । तत्काल समाधान हुन्छ भने त्यो समस्यालाई ठूलो मान्नु भएन । तर यसलाई नमूना समस्याका रुपमा लिएर हेर्दा यो ठूलो समस्या हो । किनकि राजधानी उपत्यकामा एकअर्का निकायहरूबीच समन्वय नहुँदा असाध्यै समस्याहरू देखिने गरेका छन् । बबरमहलमा खानेपानीको पाइप फुट्नुमा विद्युत प्राधिकरणसँग समन्वय नहुनु थियो । भूमिगत तार लैजाने क्रममा खन्दा खानेपानीको पाइप फुटेको थियो । 

विद्युत प्राधिकरणले आफ्नो गल्ती स्वीकार्‍यो । यदि मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरिएको थियो भने पाइप फुट्नेगरी मेसिन चल्ने थिएन । तर समन्वय भएन, बबरमहल क्षेत्र जलमग्न हुने परिस्थिति सिर्जना भयो । प्राधिकरण र खानेपानीबीच समन्वय नभए जस्तै सडक विभाग, नेपाल टेलिकम र अरू निकायहरूबीच समन्वय नहुँदा राजधानीबासीले धेरै दुख पाइरहेका छन् । सडक विभाग र खानेपानीबीच सबभन्दा धेरै समस्या छ । सडक विभागले सडक निर्माण गर्ने, तर तत्कालै खानेपानी आयोजनाले भत्काउने गर्दा सडक सधैं कच्ची र धुलाम्मे हुने गरेको छ । विद्युत प्राधिकरणले सडक भत्काउने क्रम चलिरहेकै हुन्छ । सडक विभागले सडक बनाइरहेकै हुन्छ । स्थानीय सरकार, प्रदेश र अरु संरचनाबाट बनाउने सडकप्रति आवश्यक समन्वय भइरहेको हुँदैन ।

सरकारकै एकअर्का निकायबीच समन्वय नहुँदा देशले आर्थिक क्षति मात्र बेहोर्नु परिरहेको छैन । कतिपय अवस्थामा त सर्वसाधरणका निम्ति ज्यानमारा धराप नै हुने गरेको छ । तर आवश्यक समन्वय गर्नेतर्फ पहलक(दमी देखिदैन । बरू दुरी बढाउने काम भइरहेको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले संघीय सरकारसँग जानाजान दुरी बढाउन चाहिरहेको देखिन्छ । गठबन्धन सरकार हुने भएकाले एकअर्का मन्त्रीहरूबीच समस्या छ । अझ अस्थिर सरकार हुनुको नोक्सानी एउटै मन्त्रालयले पनि स्थिर योजना अगाडि बढाउन सकिरहेको छैन । त्यसैले बबरमहल प्रकरण राजधानीमा असमन्वयका कारण निम्तिएको एउटा उदाहरणीय समस्या हो । यसतर्फ नेतृत्वले आवश्यक ध्यान दिन जरूरी छ । 

ADV

सम्बन्धित खबर

Advertise