सिरहा : सिरहाको लहान नगरपालिका वडा नं. २१ माधोपुर गाउँमा बुधबार राति भएको भीषण आगलागीमा दुई घर जलेर नष्ट भएका छन् ।
स्थानीय पवन यादव र अशेश्वर यादवको घरमा आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट घर तथा गोठभित्र रहेका भैंसी, मोटरसाइकल लगायतका सामान पूर्ण रूपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएका छन् ।
घटनाको जानकारी पाएपछि लहान नगरपालिकाका मेयर महेश चौधरी घटनास्थलमा पुगेर स्थलगत निरीक्षण गरेका थिए ।
आगलागी नियन्त्रणका लागि वारुण यन्त्र पुगे पनि बाटो अवरोधका कारण घटनास्थलसम्म पुग्न कठिनाइ भएको थियो । स्थानीयका अनुसार विभिन्न स्थानमा बाँस, काठ, ढुंगा राखेर बाटो रोकिएको अवस्थामा वारुण यन्त्र रोकिएको थियो, जसले आगो नियन्त्रण गर्न थप समस्या उत्पन्न गरेको थियो ।
स्थानीय बासिन्दाहरूले घटनालाई शंकास्पद भएको बताएका छन् । केही स्थानीयले यो डकैतीको योजना बनाइ आगलागी गराइएको हुन सक्ने आशंका गरेका छन् । घटनाको वास्तविक कारण पत्ता लगाउन गहिरो छानबिन आवश्यक रहेको उनीहरूको माग छ ।
प्रहरी घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरिरहेको छ । प्रहरीले आगलागीको कारण र सम्भावित संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान तीव्र पारेको छ ।