२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

बिर्सनै नमिल्ने दिन

hardik ivf
मध्यान्ह
२०८१ फागुन २ गते ०६:५०
बिर्सनै नमिल्ने दिन

प्रमुख प्रतिपक्षी भूमिकामा नेकपा माओवादी केन्द्र रहेकाले यसपटक १ फागुनलाई तुलनात्मक बढी उत्सवमय बनाइयो । अघिल्ला वर्षहरूमा पनि अरू माओवादी घटकका नेताहरूले यो दिनलाई विशेष दिन भनेर सम्झन्थे । यद्यपि उनीहरू स–साना समूहमा रहेकाले कम प्रभाव देखिन्थ्यो । यसपटक सम्पूर्ण माओवादी घटक विपक्षी भूमिकामा छन् । विशेषगरी माओवादी केन्द्रका नेताहरूको सम्पूर्ण ध्यान जनयुद्ध दिवस मनाउनमा केन्द्रीत रह्यो । तीन पटक प्रधानमन्त्री भइसकेका पुष्पकमल दाहाल प्रचण्ड सहित माओवादी नेताहरू विभिन्न जिल्ला पुगेर इतिहास सम्झिए । जनयुद्धबाट प्राप्त उपलब्धिहरूबारे दावी प्रस्तुत गरे । माओवादीले जितेका र उक्त पार्टीको बहुमत जनप्रतिनिधि रहेका पालिकाहरूमा सार्वजनिक विदा नै दिइयो । प्रचण्ड प्रधानमन्त्री हुँदा त २०७९ को १ फागुनमा देशभर नै सार्वजनिक विदा दिइएको थियो । 

सर्वोच्च अदालतले यो दिवस मनाउने निर्णय अस्वीकार गरेकाले देशब्यापी र प्रदेश सरकारले सार्वजनिक विदा दिएन । माओवादी इतर सरकारहरूले सार्वजनिक विदा दिने कुरै भएन । किनकि नेपाली कांग्रेस, नेकपा एमाले सहित पुराना दलका नेताहरूले जनयुद्ध शब्दमै असहमति जनाइरहेका छन् । संविधान निर्माणकै बेला पनि यो शब्दप्रति चर्को विवाद थियो । अन्ततः सशस्त्र विद्रोह भनेर माओवादीले लडेको दश वर्षे युद्धलाई संविधानमा उल्लेख गरिएको छ । कांग्रेस–एमालेले माओवादीको परिभाषाप्रति असहमति जनाउनु राजनीतिक निष्कर्ष हो । राजनीतिमा हरेक विषय सर्वसहमत हुन्छ भन्ने हुँदैन । अतः माओवादीले जनयुद्ध दिवस भन्नु र अरू दलले असहमति जनाउनु उनीहरूको अधिकारको कुरा हो । 

तर नेपालमा माओवादीको नेतृत्वमा १० वर्ष युद्ध चलेको सत्य हो । त्यो युद्धलाई अलग गरेर नेपालको राजनीतिक परिभाषा अपूर्ण हुन्छ । २०६२/०६३ सालको जनआन्दोलन, मधेश आन्दोलन, गणतन्त्र स्थापना जस्ता राजनीतिक घटनाक्रम माओवादी विद्रोहकै शृङ्खलामा भएको थियो । अनि त्यो युद्धमा हजारौं संख्यामा मानिसले जीवन गुमाउनु परेको छ । त्यसैले कोही कसैबीच मतभेद होस् अथवा सर्वसहमति जुटोस् नेपालको इतिहासबाट १ फागुन २०५२ लाई लुकाउन सकिदैन । त्यो महाघटनाको पाठ सिंगो समाजले सिक्नु जरूरी छ । माओवादी घटकका नेताहरूलाई त यो दिन बिर्सने छुट हुँदै हुँदैन । बरू पटकपटक सत्तामा गएर माओवादी नेताहरुले लिएका निर्णय कस्तो रह्यो ? त्यसबारे समीक्षा गर्न जरूरी छ । जनयुद्धको उद्देश्यबाट माओवादी बिचलित भयो कि सही बाटो हिडिरहेको छ ? सोच्न आवश्यक छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise