मलेसिया: मलेसियाको स्थानीय श्री गडिङस्थित नेपाली र बंगलादेशी कामदार बस्ने होस्टेलमा भएको झडपमा ३० वर्षीय १ नेपाली कामदारको हत्या भएको छ । मलेसियाको बाटु पहाट ओसीपीडीका सहायक कमान्डर शाहरुलानुर मुसद्दत अब्दुल्ला सानीले घटना ९ फेब्रुअरी राति भएको बताएका छन् । उनले स्थानीय कारखानाको कामदार बस्ने छात्रावासमा घटना भएको र भडपमा बंगलादेशी कामदारले नेपाली कामदारको हत्या गरेको बताए ।
नेपालको ठेगाना नखुलेका मोची सतिन्दारलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मलेसियाली प्रहरीले बताएको छ । कारखानामा काम गर्ने क्रममा भएको भनाभनले होस्टेलमा पुगेपछि थप चर्किएपछि दुवै देशका कामदार झगडामा उत्रिएका प्रहरी बताएको छ ।
मृतक मोची सतिन्दारलाई धेरै चोटपटक लागेको र उनलाई धारिलो हतियारले पेटमा प्रहार गरेको प्रहरीको भनाइ छ । सुल्तानाह नोरा इस्माइल अस्पतालका फोरेन्सिक प्याथोलोजी विशेषज्ञद्वारा गरिएको पोस्टमार्टमले पेटमा छुराको गहिरो चोट लागेको र त्यसका कारण मृत्यु भएको देखाएको मलेसियाको अनलाइन दि स्टारले उल्लेख गरेको छ ।
मलेसियाको प्रहरीले गुप्तचरको परिचालन गरी १ जना बंगलादेशी र ४ नेपालीलाई पक्राउ गरेको बताएको छ । सबै आरोपीहरू एउटै होस्टेलमा बस्ने मृतकका सहकर्मी भएका भन्दै प्रहरीले आरोपित पाँचै जनालाई अदालतको आदेशले अनुसन्धानका ७ दिन हिरासतमा राखिएको बताएको छ ।
मलेसिया दण्ड संहिताको धारा ३०२ अन्तर्गत मुद्दाको अनुसन्धान भइरहेको बताइएको छ । उक्त दफाअनुसार हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय र जरिमानासमेत हुने छ ।