२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

हुम्लाको रानीसैनमा टेलिकमको टेलिफोन सेवा सञ्चालन

Nada
२०८१ असार १६ गते १६:५५
Shares
हुम्लाको रानीसैनमा टेलिकमको टेलिफोन सेवा सञ्चालन

काठमाडौं : नेपाल टेलिकमले देशभरका विभिन्न दुर्गम स्थानमा सेवा सञ्चालन गर्ने क्रममा हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा अवस्थित रानीसैनमा गत असार ९ गतेदेखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको हो । 

ncell

बाजुरा सदरमुकाम मार्तडीदेखि गाडीमा एक दिन र त्यसपछि करिब चार दिन हिँडेर तथा हुम्ला सदरमुकाम सिमकोटदेखि गाडीमा तीन-चार घण्टा र एक दिन पैदल हिँडेर मात्र यो स्थानमा पुग्न सकिने स्थानीय सोनाम लामाले बताए । यो भन्दा पहिले करिब २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाइको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने यहाँका करिब ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने उनले बताए । 

सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । यहाँ ६ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिब ३ हजार ६ सय मिटरको उचाइमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भए पश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।

भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानादेखि करिब चार दिनसम्म मानिसले बोकेर रानीसैन पुर्‍याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । 

प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानमा समेत समानरुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै चालु आर्थिक वर्षमा दार्चुलाको टिंकर, रसुवाको गोसाईंकुण्ड, संखुवासभाको किमाथांका लगायतका स्थानमा भीस्याटमार्फत सेवा सञ्चालन गरिएको टेलिकमले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर