२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

नेपाली समाज र नारी दिवस

hardik ivf
२०८१ फागुन २४ गते ०६:१०
नेपाली समाज र नारी दिवस

-अर्जुन बिष्ट 

आज अन्तर्राष्ट्रिय नारी दिवस अर्थात् ८ मार्चलाई महिलाका लागि विशेष दिन भनेर मनाउन लागेको ११५औं नारी दिवस । आज नेपालभर ‘सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नारासहित यो दिवस मनाइँदै छ ।

सन् १९०८ मा अमेरिकाको न्युयोर्क सिटीमा महिलाहरूले कामको घण्टा छोट्याउन, राम्रो तलब दिन र आफूलाई मतदानको अधिकार प्राप्त होस् भनेर गरेको प्रदर्शनदेखि सामूहिक रूपमा महिला अधिकारका लागि यो दिवस मनाइँदै आएको छ । झण्डै डेढ शताब्दीदेखि मनाउँदै आएको यो महिला दिवस सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्विट्जरल्यान्डमा मनाइएको थियो । 

जर्मनीकी क्लारा जेटकिन अन्तर्राष्ट्रिय नारी दिवसकी प्रणेता मानिन्छिन् । सन् १९१० मा कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा उनले ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने प्रस्ताव राखिन् । उनको प्रस्ताव सर्वसम्मत स्वीकृत भयो । सन् १९११ देखि ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउन थालिएको पाइन्छ ।

यसपछि विभिन्न देशले आ–आफ्नै तरिकाले ८ मार्चमा नारी दिवस मनाउन थाले । संयुक्त राष्ट्रसंघले नारी दिवसको पहिलो नारा ‘सेलेब्रेटिङ द पास्ट, प्लानिङ फर द फ्युचर’ अर्थात् विगतलाई उत्सवका रूपमा मनाउन र भविष्यको योजना बनाउन भन्ने राखेको थियो ।

सन् १९११ देखि अमेरिकाबाहेकका विश्वका अन्य देशमा र सन् १९७५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाउन थालिएको हो । नेपालमा भने यो दिवस धेरै पछि मनाउन थालियो । नेपालमा २०१६ साल अर्थात् सन् १९५९ मा प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि नियमित रूपमा यो दिवस मनाउन थालिएको छ ।

नारीहरूको हक अधिकार स्थापित गर्न सामाजिक, आर्थिक, शैक्षिक राजनितिक, दृष्टिकोणले सबै तहमा नारीको उपस्थितिलाई बढाएर लैजानका लागि पनि यो दिवस मनाइने गरिन्छ । 

महिलाहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र न्यायको सुनिश्चितताका लागि बहस र चर्चा चलिरहँदा ग्रामीण क्षेत्रका महिलाहरूको अवस्थामा कुनै परिवर्तन आउन सकेको छैन । 

नेपालको सन्दर्भमा नारीहरूको जनसंख्याको तथ्यांक हेर्ने हो भने  झण्डै आधा अर्थात् ५१ दशमलव ५ प्रतिशत महिला छन् । जनसंख्यामा अगाडि महिलाहरू अन्य दृष्टिकोणबाट पछि परिरहेका अवस्था छ ।

नेपालको संविधान, २०७२ ले पनि महिला हक अधिकारको कुरालाई जोडतोडका साथ सुनिश्चित गर्दै संविधानको धारा १८ मा समानता हकअन्तर्गतको व्यवस्थामा कानुनको नजरमा सबै समान छन् भन्ने उल्लेख गरिएको छ । तर, नीति एकातिर, काम अर्कातिर चलिरहेको छ । अझै धेरै महिला घरेलु हिंसामा परेका छन् र न्यायमा पहुँच सीमित छ भने महिलाको सम्पत्ति र आम्दानीमा स्वामित्व कम हुनुका साथै ग्रामीण क्षेत्रमा शिक्षामा पहुँच र विद्यालय छाड्ने दर प्रमुख चुनौती बनेको छ । 

महिनावारी हुँदासमेत छाउगोठमा बस्नुपर्ने अवस्था अझैसम्म छ । छाउपडी, घरेलु हिंसालगायतका अन्य सामाजिक कुरीतिले महिलाहरू आफ्नो अधिकारको पूर्ण कार्यान्वयनको चरणमा पुग्न सकिरहेका छैनन् ।

महिलाका हकहितका लागि महिला अधिकारकर्मीहरू लागिरहेका भए पनि वास्तविक रूपमा व्यवहारमा लागू हुन सकेको अवस्था छैन । प्रजातन्त्रपछि स्वतन्त्र रूपमा आफ्नो अधिकारको सुनिश्चितताका लागि लड्ने नेपाली महिला आज राष्ट्रको महत्त्वपूर्ण नेतृत्व तहमा समेत पुगेका छन् । राष्ट्रपतिदेखि न्यायाधीशलगायत राष्ट्रका अन्य प्रमुख पदहरूमा महिलाहरूको सहभागिता नरहेको पनि होइन, तर सीमित रूपमा मात्र अवसर र प्रतिनिधित्वले ग्रामीण क्षेत्रका महिलाहरूको अवस्था बदल्न सकेको छैन ।

संविधान र विद्यमान कानुनहरूमा नारीको हक अधिकारको व्यवस्था मनग्य भएको छ तर यसले सामाजिक न्याय पाउने सवालमा भने पहल पैरवीमा अझै थुप्रै कदम बाँकी भएको पाइन्छ ।

नेपाली समाजमा जरा गाडेर बसेको पैतृक अनि लैंगिक संरचनाका कारण दैनिकजसो महिला हिंसाका अनेकौं घटनाहरू हुन्छन् । अझै पनि महिलामाथि परम्परागत सोच हावी भएको पाइन्छ । समान कामको समान पारिश्रमिक पाइँदैन ।

ग्रामीण क्षेत्रमा महिला श्रमिकहरूको योगदान महत्त्वपूर्ण भए पनि तलबबिना वा न्यून तलबमा सीमित छ । विशेषगरी तराई र सीमावर्ती क्षेत्रमा मानव बेचबिखन गम्भीर समस्या हो । गरिबी र अशिक्षाका कारण महिला र किशोरीहरू तस्करीको शिकार हुन्छन् । त्यति मात्र होइन, सामाजिक र धार्मिक कुप्रथा दाइजो प्रथा, बहुविवाह, र जातीय विभेदका कारण महिला उत्पीडनमा छन् ।

परम्परागत सोचले महिलाको स्वतन्त्रतालाई सीमित बनाएको छ । नारी दिवस मनाउँदै गर्दा महिलाको शिक्षा र कानुनी अधिकारबारे व्यापक जनचेतना र हिंसा, सम्पत्ति अधिकार र बालविवाहविरुद्ध कडा कानुन कार्यान्वयन गर्न दबाब दिन आवश्यक छ । अन्यथा, दिवस मनाइरने तर अवस्था जहाँको त्यहीँ रहे ‘नारी दिवस’का कार्यक्रमहरूले हामी सम्पूर्ण नेपालीलाई समेत गिज्याइरहने छन् ।

ADV

सम्बन्धित खबर

Advertise