२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

राजनीतिलाई पकडमा राख्ने ओली रणनीति

ADV
दिवाकर अधिकारी
२०८१ असार १७ गते ०७:०५
राजनीतिलाई पकडमा राख्ने ओली रणनीति

काठमाडौं : संघीय संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठुलो दल नेकपा एमालेका शीर्ष नेताहरूको संवादले नेपाली राजनीति तरंगित भएको छ । संवादहिनताको अवस्थामा रहेका एमाले र कांग्रेसका शीर्ष नेताहरुबीच औपचारिक रुपमै भेटवार्ता हुन थालेपछि अनेकन आशंका गरिएका छन् । तर, सत्ता गठबन्धनमा रहेका दलहरु प्रचण्डलाई दबाबमा राख्ने ओलीको रणनीतिमा रुपमा ब्याख्या गर्छन । 

शनिवार कांग्रेस सभापति शेरबहादुर देउवा ओली निवास बालकोट पुगेका थिए । साढे तीन घण्टा ओलीसँग देउवाले छलफल गरे ।

आइतबार बिहानै ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगे । त्यहाँ ओलीले प्रचण्डसँग साढे दुई घण्टा छलफल गरे । 

शीर्ष नेताहरुबीच भएको संवाद सार्वजनिक भएको छैन । तर, नेताहरु यी भेटर्वार्तालाई लिएर सार्वजनिक रुपमा टिप्पणी गर्न अग्रसर भएका छन् । 

नेताहरूका अनुसार एमाले प्रधानमन्त्री प्रचण्डले कुनै अडान नलिएर आफूरूले भने अनुसार सत्ता सञ्चालन गर्नुपर्ने भनेर दबाबमा राख्न चाहन्छ । तर, यसमा प्रचण्ड इमानदार नभइदिएको उनीहरूको बुझाई छ । 

हालै बिभिन्न ११ देशमा रहेका राजदूतलाई सरकारले फिर्ता बोलाएको छ । फिर्ता बोलाएपछि रिक्त भएकामध्ये आठ देशका लागि सिफारिस भएका राजदूतमा एमालेको भागवण्डामा परेकाहरु धेरै छन् । राजदूत फिर्ता र नयाँ सिफरिसलाई लिएर प्रश्न उठेपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा रहेका दलहरूलाई ख्याल गर्न भनेको बताएका थिए । उनले विगतमा राम्रो राजदूत दिएको भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका थिए । 

सरकारको नेतृत्वमा रहेर आफैँले डिफेन्स गर्नुपर्नेमा सत्ता साझेदार दलहरुतिर देखाएकोमा एमाले नेताहरु रुष्ट छन् ।

नेकपा एमाले सर्वोच्च अदालतको नेतृत्वमा माओवादी निकट व्यक्ति पुर्‍याउन चाहिरहेको छैन । यसमा कांग्रेस पनि सहमत छ । तर, प्रधानमन्त्री प्रचण्ड सर्वोच्च अदालतको नेतृत्वमा आफू निकटका न्यायाधिश पुग्ने गरी न्यायाधिश नियुक्ति सिफारिस गर्न खोजिरहेका छन् ।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय संक्रमणकालीन न्याय सम्बन्धी विषय अगाडि बढाउन खोजेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा छलफल चल्न थालेको थियो ।

यही बेला एमाले अध्यक्ष ओली निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा पुगेपछि राजनीति तरंगित भएको छ । यो भेटलाई लिएर नेताहरूले सरकार परिवर्तन भएता पनि स्वभाविक मान्नुपर्ने बताउन थालेका छन् । 

एक साता अगाडि मात्रै प्रधानमन्त्री प्रचण्डले आफूसँग जादुमय नम्बर भएकाले तरिका मिले पाँचै वर्ष प्रधानमन्त्रीमा टिकिरहने आत्मविश्वास व्यक्ति गरेका थिए । त्यस्तो हप्ता दिनमै एकाएक सरकारको आयुबारे अड्कलबाजी सुरु भएको छ ।

यही असार ८ गते काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संसदमा ३२ सिट मात्रै भएपनि जादुमय नम्बर भएकाले प्रधानमन्त्रीबाट हटाउन सजिलो नभएको उत्साह व्यक्त गरेका थिए ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना कार्यकर्तालाई सरकार ढल्छ कि भनेर ‘चिन्ता नलिन’ आग्रह गरेको सातै दिन नबित्दै सरकारको आयुलाई लिएर अनेकन अड्कलबाजी भने भएको छ ।

यसको पछाडि कांग्रेस सभापति देउवा एमाले अध्यक्ष ओलीको निवास बालकोट पुग्नु नै मुख्य कारण हो ।

पालैपालो कांग्रेस एमालेलाई खेलाएर आफू सत्तामा बसिरहेको घटनालाई नमिठो रुपमा लिएका कांग्रेस–एमालेभित्रका कतिपय नेताहरु दुई दल मिलेर अघि बढ्नुपर्छ भन्ने मान्यता राख्दछन् । शनिबारको भेटले त्यो मान्यतालाई ठोस आकार दिने कामको सुरुवात गरेको दाबी कतिपय नेताहरुको छ ।

कांग्रेस प्रचार विभाग प्रमुख नेता मीन विश्वकर्मा तत्कालै गठबन्धन फेरवदल गर्ने हिसाबले नभएतापनि यसखालको परिस्थितिको निर्माणको लागि छलफल भएको बताए ।
‘एमाले सरकारमा ठूलो दल भएर पनि सत्ता साझेदार माओवादी केन्द्रसँग असन्तुष्ट छ भने प्रतिपक्षी कांग्रेस पनि सरकारका गतिविधिसँग सन्तुष्ट छैन’ उनी भन्छन्, ‘अहिले एमाले–माओवादी सत्तासमीकरण पनि सधैँको लागि रहिरहने होइन होला ।’ 

आइतबार प्रचण्ड र ओलीबीचको भेटमा रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सहभागी भएका थिए । तीन नेताबीच सोमबार बिहान पनि छलफल गर्ने तय भएको छ ।

ओली र प्रचण्डको भेटपछि आइतबार एकीकृत समाजवादीको १० औँ महाधिवेशनमा पुगेका रास्वपा सभापति लामिछानेले जनता र नेतृत्वको प्राथामिकता फरक रहेकाले देश अनुकुलमा कहिल्यै नरहेको अभिव्यक्ति दिए । 

‘मुलुक त सधैँ खतरामा हुने रहेछ । परिस्थिति त कहिल्यै अनुकुल हुने रहेनछ । सधैँ अफ्ठयारो पर्ने रहेछ । त्यो अफ्ठ्यारो के नेपाली जनताले पारेका हुन’ लामिछानेले भने, ‘किसान, मजदुरले, काम गरेर खाने मान्छेहरुले कसले अफ्ठ्यारोमा पार्‍यो ? म यहाँहरुलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु– जब आम जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ, त्यतिबेला मुलुक जहिले पनि अफ्ठ्यारोमा पर्छ ।’ 

उक्त कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सहभागी थिए । कांग्रेस सभापति देउवाले पनि संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्न आवश्यक रहेको भन्दै राजनीतिक समीकरण परिवर्तनको संकेत गरे । तर, प्रष्ट खुलाएनन् । 

ADVADV

सम्बन्धित खबर

Advertise